‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
सारांश
- नेकपा एमालेकी सांसद यशोदा बरालले गृहमन्त्री सुधन गुरुङले संसद्मा दिएको धम्कीपूर्ण र अमर्यादित अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्।
- सांसद बरालले प्रधानमन्त्रीले सांसदहरूको कुरा नसुनी बैठकबाट बाहिरिएको र आत्मदाह गरेका चालक गणेश नेपालीबारेको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरिन्।
- उनले गृहमन्त्रीको 'हामी होइनौँ, कसको सरकार छ हेर्नुहोस्' जस्तो धम्कीपूर्ण अभिव्यक्ति र प्रतिपक्षको विरोधलाई उपहास गर्ने शैली विभेदकारी रहेको बताइन्।
काठमाडौँ । नेकपा एमालेकी सांसद यशोदा बरालले गृहमन्त्री सुधन गुरुङले संसद्मा दिएको धम्कीपूर्ण र अमर्यादित अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बरालले संसद् लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप चल्नुपर्नेमा सत्तापक्षको दबाब र धम्कीको थलो बन्दै गएको भन्दै गम्भीर आपत्ति जनाइन्।
उनले प्रधानमन्त्रीले सांसदहरूका कुरा नसुनी संसद् बैठकबाट बाहिरिएको प्रति असन्तुष्टि व्यक्त गरिन्। ‘प्रधानमन्त्री ज्यूले हाम्रा कुरा सुन्नुहुन्छ भन्ने आशा थियो, तर उहाँले दुई मिनेट पनि हाम्रा कुरा नसुनी बाहिरिनुभयो, यो निकै दुःखद छ,’ उनले भनिन्।
हालै काठमाडौँमा आत्मदाह गरेका चालक गणेश नेपालीको विषयमा संसद्मै कतिपयले मानसिक रोगी वा ऋण तिर्न नसकेर मरेको भनी होच्याएर दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाइन्।
‘आफ्नो परिवार पाल्न र बाँच्नका लागि सबैलाई रहर हुन्छ। गरिबले आत्मदाह गर्नु र मर्नु सजिलो विषय होइन,’ उनले भनिन्। काठमाडौँमा हुने हरेक आन्दोलन र घटनाको दोष काठमाडौँ महानगरपालिकालाई मात्र थोपर्न खोजिएको भन्दै उनले सरकारको पन्छिने प्रवृत्तिको आलोचना गरिन्।
गृहमन्त्रीले रोस्ट्रममा उभिएर 'हामी होइनौँ, कसको सरकार छ हेर्नुहोस्’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको र प्रतिपक्षको विरोधलाई ‘घोक्रो सुक्ने गरी कराउनुभयो’ भनी उपहास गरेको भन्दै सांसद बरालले आपत्ति जनाइन्।
‘यो सम्मानित संसद् गीत गाउन वा ब्याटल खेल्नका लागि बनेको होइन, जनताको आवाज उठाउन बनेको हो,’ उनले भनिन्, ‘गृहमन्त्रीको सो गैरजिम्मेवार अभिव्यक्ति तत्काल रेकर्डबाट हटाइयोस् र उहाँले आफ्ना शब्द फिर्ता लिउन्।’
संसद्मा प्रतिपक्षले बोल्दा मात्रै सत्तापक्षले नियम आपत्ति गर्ने गरेको परिपाटीको विरोध गरिन्। प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिँदा र गृहमन्त्रीले धम्की दिँदा कुनै नियम आकर्षित नहुने तर प्रतिपक्षले जनताका कुरा उठाउँदा नियम आपत्ति गरिने शैली विभेदकारी रहेको उनले बताइन्।
संसद् धनी र गरिब सबै नागरिकको साझा थलो भएको उल्लेख गर्दै उनले संसद्लाई सबै वर्गको आवाज बोल्ने निष्पक्ष थलो बनाउन माग गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण