बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘एसएमजी’ हतियार चोरेको अभियोग लागेका दुई सैनिकलाई सफाई

शुक्रबार, १८ भदौ २०७८, १६ : ४१
शुक्रबार, १८ भदौ २०७८

नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार ‘एसएमजी’ चोरेको आरोप लागेका दुईजना सैनिकले सफाइ पाएका छन् । ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्गले सफाइ पाएको अधिवक्ता सोमनाथ ढुंगानाले रातोपाटीलाई बताए ।

उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह, रक्षा मन्त्रालयका सचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापा सम्मिलित सैनिक विशेष अदालतले बिहीबार उनीहरुलाई सफाई दिने फैसला गरेको ढुंगानाले बताए ।

दुई सैनिकलाई हतियार चोरी र ड्युटीमा लापरवाही गरेको अभियोग लगाइएको थियो । चोरीमा सफाई पाएका दुई सैनिकलाई २०७५ मंसिर ४ बाट लागु हुनेगरी ३ वर्षसम्म प्रमोशन रोक्ने गर्ने फैसला गरिएको छ । विशेष सैनिक अदालतले उनीहरुलाई कालीबहादुर गणमा हाजिर गराउन आदेश गरेको छ ।

कालीबहादुर गणबाट हतियार चोरेर सैनिक जवान गंगाधर ढकालले हुद्दा भरत गुरुङको हत्या गरेको नेपाली सेनाको समरी जनरल सैनिक अदालतले ठहर गरेको छ । सैनिक अदालतले बिहीबार महेन्द्रदल गणमा कार्यरत ढकाललाई ढकाललाई २५ वर्ष कैद सजाय हुने फैसला गरेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले रातोपाटीलाई बताए ।

महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत फेला परेका थिए । प्रहरीको अनुसन्धानबाट कालीबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको हत्या गरेको खुलेको थियो ।

ढकालसँगबाट बरामद भएको र ०७५ मा चोरी भएको ‘एसएमजी’ को नम्बर मिलेपछि  २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङले न्याय पाएका छन् । लवकुमार र सरोजले  २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप