मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सैनिक ब्यारेकमा ‘फौजी कुकुर’ को पूजा, पठाइन्छ द्वन्द्वग्रस्त मुलुक (तस्बिरहरु)

बुधबार, १७ कात्तिक २०७८, १० : ५३
बुधबार, १७ कात्तिक २०७८

कुकुर तिहारको अवसरमा नेपाली सेनाले भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा पालिएका कुकुरको पूजा गरेको छ । गुल्ममा रहेको डग केनलमा हाल जर्मन सेफर्ड २३, लेब्राडोर ५५ र ककर स्पाइनल ७, गोल्डेन रिट्रिभर २ र मालिनोइज १ बच्चा कुकुर रहेका छन् । 

सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ ।  एउटा स्वस्थ कुकुरले आठ वर्षको उमेरसम्म पूर्णरुपमा काम गर्न सक्ने बताइएको छ । 
१८ वर्षदेखि शान्ति मिसनमा कुकुर ! 

नेपाली सेनाले डग केनलबाट तयार हुने तालिमप्राप्त कुकरलाई विभिन्न द्वन्द्वग्रस्त मुलुक पठाउने गरेको पाइएको छ । कुकुरको सहयोगमा शान्ति मिसनमा खटिने सैनिकलाई कार्य सम्पादन गर्न सहज हुने भएपछि सेनाले १८ वर्षदेखि प्रयोग गर्दै आएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरीयामा तैनाथ शान्ति सैनिकले पहिलो पटक २०५९ सालमा सान र कामिनी नामक दुई कुकुर समावेश गरेको थियो ।

 लाइबेरीया र लिबियामा टिएका शान्ति सैनिकको सहयोगका लागि पनि  नेपालबाट हालसम्म १३ कुकुर लगिसकिएको सनाले जनाएको छ । लाइबेरियामा कुकुरको प्रयोगबाट हातहतियार र विष्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात लागेपछि सेनाले लिबियामा पनि कुकुर परिचालन गरेको हो । 

नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग गर्दै आएका छन् । पछिल्लो पटक त्यहाँ गत असोज १४ गते किलो नामक कुकुर पठाइएको छ भने लिबियाबाट फिर्ता भएको माइकल नामक कुकुरलाई भने भैरव बाहन गुल्ममा राखिएको छ । 

सरकारले २०५५ सालमा सेनामा तालिमप्राप्त कुकुर राख्ने निर्णय गरेको थियो भने सोही वर्ष भारतबाट जर्मन सेफर्ड ६ र लेब्राडोर जातको ६ कुकर ल्याएर २०५६ देखि तालिम दिन थालेको थियो । 

प्रतिदिन एक कुकुरलाई ३३७ खर्च, दिइन्छ डलर भत्ता
सेनाका अनुसार एउटा कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ रुपैयाँ खर्च हुने गरेको छ । यस्तै शान्ति सेनामा सुरक्षा गार्ड र गस्तीमा खटिने प्रतिजोडा कुकुरले ८९०.४ र खोज तथा उद्दारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५.७२ अमेरिकी डलर भत्ता दिइन्छ । 

यसैबीच सेनाकै मुस्ताङस्थित सैनिक उच्च शिखर शिक्षालयमा गोल्डेन रिट्रिभर २ र चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा पनि कुकुर प्रयोग गरिएको छ ।  सेनाले कुकुरलाई समायानुकुल तालिम प्रदान गर्नभारत, पाकिस्तान र बंगलादेश पठाउने समेत गरेको छ । सेनाले कुकुरलाई विभिन्न समारोहमा खेलकूद र मनोरञ्जनका लागि प्रयोग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप