बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रीय पदाधिकारी र प्रदेश सभापति छनोटको गृहकार्यमा देउवा

यी हुन् केन्द्रीय पदाधिकारी र प्रदेश सभापतिका दाबेदार
बुधबार, ०१ मङ्सिर २०७८, १० : ०५
बुधबार, ०१ मङ्सिर २०७८

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि टीम निर्माणको गृहकार्य थालेका छन् । सभापतिमा दोहोरिने रणनीतिका साथ देउवाले प्रदेश र केन्द्रको टीम तय गर्न छलफल लागेका हुन् । गत शुक्रबारदेखि देउवाले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरिरहेका छन् ।

संस्थापन इत्तर पक्षमा सभापतिको साझा उम्मेदवारको खोजीमा अलमल भइरहेका बेला देउवा टीम निर्माणमा जुटेका छन् । संस्थापन पक्षमा सभापतिमा दाबी प्रस्तुत गरिरहेका उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठसँग पनि छलफल अगाडि बढाएका छन् ।

यद्यपि निधि र श्रेष्ठले देउवालाई विश्राम लिन जोड गरिरहेका छन् । उनीहरुले अन्तिमा आफै साथ दिने विश्वासका साथ  देउवा अगाडि बढिरहेका छन् । उनीहरुलाई साथैमै लिएर संस्थापन पक्षले साता प्रदेशदेखि केन्द्रसम्मको टीम निर्माणमा जुटेको छ ।

 

निधि–श्रेष्ठलाई मनाउन र महामन्त्री छान्न सकस

 

सातै प्रदेश र केन्द्रीय कार्यसमितिको टीम चाडो घोषणा गर्नुपर्ने देउवा पक्षीय नेताहरुको निष्कर्ष छ । देउवाले केन्द्रीय पदाधिकारीका दाबेदारसँग पनि व्यक्तिगत रुपमा छलफल थालेको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो । देउवा टिमबाट सभापतिपछि दोस्रो पद (दुईजना उपसभापति) मा चारजनाको दाबी छ ।

वर्तमान उपसभापति विजयकुमार गच्छदार, वर्तमान महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिका मुख्य दाबेदारी मानिएका छन् । आफूलाई साथ दिएर उपसभापति निधि दोहोरिन चाहे खड्कालाई महामन्त्री बनाउने देउवाको तयारी छ । देउवा टिमबाट महामन्त्रीमा वर्तमान सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेताहरु एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ ।

महामन्त्रीबाट रिङआउट भएको अवस्थामा महामन्त्रीका दाबेदारहरु खसआर्यको सहमहामन्त्रीमा झर्न सक्ने काँग्रेसवृत्तमा चर्चा छ । सभापति देउवाका लागि महामन्त्रीको उम्मेदवार छनोटमा सबैभन्दा सकस परेको देखिन्छ ।

८ क्लस्टरमा सहमहामन्त्रीका दाबेदार

देउवा टिमबाट खसआर्यतर्फको सहमहामन्त्रीमा वीरबहादुर बलायर, मोहन बस्नेत, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराईलगायतको दाबी छ । त्यस्तै केन्द्रीय सदस्य बाहिरबाट तरुण दलका पूर्व अध्यक्ष उदयशमशेर राणा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, पूर्वसांसद रामहरि खतिवडालगायतको पनि दाबी छ ।

सहमहामन्त्री पदलाई क्लस्टरमा मात्र सीमित गरिएपछि आइतबारको केन्द्रीय समिति बैठकमा नेता भट्टराईले खुलातर्फ सहमहामन्त्री थप्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सभापति देउवाले सकारात्मक जवाफ दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउने प्रयास भइरहेको छ । संस्थापन र इत्तर पक्षका नेताहरु पौडेललाई बनाउन लागि परेको बुझिएको छ ।

 


दलिततर्फको देउवा समूहबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार सहमहामन्त्रीका दाबेदार हुन् । प्रमुख दाबेदार भने मानबहादुर र मीनबहादुर नै हुन् ।

यस्तै मुस्लिम कोटाको सहमहामन्त्रीमा देउवा समूहबाट केन्द्रीय सदस्यहरु फर्मूल्लाह मन्सुर र अत्तहर कमाल मुसलमानबीच हानथाप छ । महिलातर्फको सहमहामन्त्रीमा देउवा समूहबाट धेरै दाबेदार देखिएका छन् ।

चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय, डा. डिला संग्रौला, ईश्वरी न्यौपाने र अम्बिका बस्नेत लगायतको नाम सहमहामन्त्रीका रूपमा चर्चामा छ । यसैगरी आदिवासी जनजातिको कोटाबाट हुने सहमहामन्त्री पदमा देउवा समूहबाट भीष्मराज आङ्देम्बे, चीनकाजी श्रेष्ठ र बहादुर लामा प्रमुख दाबेदार हुन् ।

मधेसीफतर्फ सहमहामन्त्री छनोट गर्न पनि देउवालाई सकस छ । देउवा समूहबाट महेन्द्र यादव, अजय चौरासिया, महेश चौरसिया, जंगीलाल राय र रामसरोज यादवलाई सहमहामन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

यस्तै थारु सहमहामन्त्रीमा देउवा समूहबाट रामजनम चौधरी र योगेन्द्र चौधरीको नाम चर्चामा छ  भने पिछडिएको क्षेत्रबाट चुनिने एकजना सहमहामन्त्रीका लागि देउवा समूहबाट केन्द्रीय सदस्य जीवनबहादुर शाही र पूर्वसांसद राजीवविक्रम शाहीको दाबी छ ।

हुम्लाका जीवन र जाजरकोटका राजीवमध्येबाट एक जना देउवा पक्षबाट सहमहामन्त्रीको उम्मेदवार हुने पक्का जस्तै छ ।

प्रदेश सभापतिका दाबेदार

मंसिर १६ र १७ गते हुने प्रदेशको अधिवेशनमा आफ्नो समूहबाट सभापतिसहित पदाधिकारी मंसिर पहिलो साता घोषणा गर्ने देउवा पक्षको तयारी छ । देउवा समूहमा प्रदेश कार्यसमितिका उम्मेदवार छनोटको एजेन्डामाथि सोमबार छलफल भएको थियो । प्रदेश टीम तय गर्न सभापति देउवाले प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी पनि तोकेका छन् ।

प्रदेशको सभापतिसहितको टिम निर्माण गर्न संस्थापन पक्षले प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा विमलेन्द्र निधि र रमेश रिजाल, बागमतीमा प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ र सुरेन्द्र पाण्डे, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही, सुदूरपश्चिम प्रदेशमा एनपी साउद र रमेश लेखकलाई जिम्मेवारी दिएको छ ।

उनीहरूले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितका नेताहरूसँग छलफल गरेर प्रदेश उम्मेदवार छनोट गर्ने छन् । प्रदेश पदाधिकारीमा उनीहरुले सहमति जुट्न नसके सभापति देउवाले नै छनोट गर्ने बुझिएको छ ।

प्रदेश १ मा संस्थापन समूहले केन्द्रीय सदस्य अमृत अर्याल, रामहरि खतिवडा, भूपेन्द्र कट्टेलको दाबी छ । संस्थापन पक्षले अर्याल र खतिवडालाई अघि सार्न खोजेको छ । देउवा समूहभित्र प्रदेश एकमा कृष्णप्रसाद सिटौलासँग सहकार्य गर्ने विषयमा पनि छलफल भइरहेको छ । सिटौला समूहले उद्धव थापा र सुधीर सिवाकोटीलाई अगाडि सार्न खोजेको छ । 

प्रदेश सभापति को हुने भन्ने विषय सिटौला समूहसँगको सहकार्य हुने नहुने कुराले निर्धारण गर्ने एक नेताले बताए । प्रदेश २ मा संस्थापन पक्षमा सभापति देउवा र उपसभापति निधिबीच दुई समूह खडा हुने सम्भावना देखिएको छ ।

निधि निकट रामसरोज यादव र दिनेश यादवले प्रदेश सभापतिमा दाबी गरेको अवस्था छ । निधिले भने रामसरोजलाई अघि सार्न चाहेको देखिन्छ । देउवा समूहमा रौतहट जिल्ला सभापति कृष्ण यादव र महेन्द्रराय यादव प्रदेश सभापतिका लागि लबिङ गरिरहेका छन् । मधेसीतर्फको सहमहामन्त्रीको उम्मेदवार बन्न नपाउने अवस्थामा केन्द्रीय सदस्य महेन्द्र यादव र अजय चौरासियाको पनि प्रदेश सभापतिमा जाने इच्छा देखिन्छ  ।

वाग्मती प्रदेशमा देउवा समूहबाट  केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत र प्रदेशसभा संसदीय दलका नेता मकवानपुरका जिल्ला सभापति इन्द्र बानियाँ मुख्य आकांक्षी छन् । यहाँ सिटौला समूहमा नेता भीमसेनदास प्रधानले प्रदेश सभापतिमा देउवाको साथ खोजिरहेको अवस्था छ । काठमाडौंमा देउवा समूहसँग सहकार्य गरेको सिटौला समूह प्रदेशमा पनि मिलेर जाने योजनामा छ ।

गण्डकी प्रदेश सभापतिका लागि देउवा समूहबाट केन्द्रीय सदस्यद्वय शंकर भण्डारी, अर्जुन जोशी, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का दाबेदार छ । उनीहरु मध्येबाट प्रदेश सभापतिको उम्मेदवार छनोट गर्ने तयारी छ ।

लुम्बिनीमा देउवा समूहबाट पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र नेता भरत शाह, किशोरसिंह राठोर आकांक्षी छन् । कर्णाली प्रदेश सभापतिमा देउवा समूहले पूर्वसांसद राजीवविक्रम शाह, ललितजंग शाही, कालीकोटका पूर्वजिल्ला सभापति कालीबहादुर सहकारी मध्ये एक जनालाई अघि सार्न खोजेको छ । शाह मुख्य दाबेदार भानिएका छन् । यतै सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य वीरबहादुर बलायर र पूर्वराज्यमन्त्री गोविन्द शाहको चर्चा बढी छ ।

बझाङका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंह, कैलालीका जिल्ला सभापति नरनारायण शाह र कञ्चनपुरका पूर्वसभापति बहादुर थापालको पनि दाबी छ । नेताहरुका अनुसार सम्बन्धित प्रदेश कार्र्यसमितिका उम्मेदवार तय गर्ने जिम्मेवारी नेताहरुसँग सभापतिको दाबेदारले लबिङ गरिरहेका छन् । नेताहरुलाई फोन गरेर नयाँ आकांक्षी पनि देखिन थालेको नेता एनपी साउदले रातोपाटीलाई बताए ।

काँग्रेसमा प्रदेश कार्यसमिति नयाँ व्यवस्था हो । जसमा प्रदेश सभापति, प्रदेश उपसभापति, प्रदेश महामन्त्री, प्रदेश सहमहामन्त्री, प्रदेश कोषाध्यक्ष र प्रदेश कार्यसमितिका सदस्य रहने व्यवस्था छ । कार्यसमितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिएको छ । महिलाको प्रतिनिधित्व हरेक कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत हुने किटानी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप