शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा थपिएको नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोट (तस्बिरसहित)

शनिबार, ०४ मङ्सिर २०७८, ११ : ४६
शनिबार, ०४ मङ्सिर २०७८

पोखरा । पोखरामा पछिल्लो समय थपिएको आकर्षक एवं मनमोहक पर्यटकीय गन्तव्य पुम्दीकोटमा महादेव (शिव) भगवानको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको यस ठाउँलाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न भगवान् शिवको विशाल मूर्तिसहित आकर्षक भौतिक संरचना निर्माण थालिएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।

पुम्दीकोटमा ४० करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न ५२ फिट अग्लो शिव मूर्तिसहित भौतिक संरचना निर्माण भइरहेको छ । पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटको टाकुरामा शिवको मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उत्तरतर्फ चाँदीका घेराजस्तै टल्किएका हिमशृङ्खलासँगै सराङकोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न पुम्दीकोटमा दिनहुँ सयौँ पर्यटक पुग्न थालेका छन् ।

पर्वत फलेवास घर भई हाल पोखरा–५ मालेपाटन बस्ने पदम शर्मा फुर्सदको समयमा मूर्ति निर्माणस्थल पुम्दीकोटमा पुग्ने गरेको बताउँछन् । ‘फुर्सदको समयमा परिवारसहित रमाइलोका लागि यहाँ आउने गरेको छु, त्यहाँ आएपछि सारा थकान मेटिएको अनुभूति हुन्छ,’ उनले भने, ‘मन चङ्गा भएपछि छुट्टै रमाइलोको प्रत्याभूति हुन्छ, मुस्कुराएका हिमशृङ्खलासँगै पोखरा बजार लगायतका अन्य ठाउँ हेर्न पाइने भएकाले कामको तनावलाई समेत बिर्साइदिन्छ ।’

पर्यटकीय सम्भावना बोके पनि आवश्यक भौतिक संरचना निर्माण र पर्यटन प्रवर्द्धनका योजना नबन्दा ओझेलमा परेको पुम्दीकोट पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । पूर्वाधार निर्माणले गति लिएपछि स्थानीयवासीमा पनि यो क्षेत्र पर्यटकको आकर्षक केन्द्र बन्ने आश पलाएको छ ।

यस ठाउँलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनाका साथ काम भइरहेको छ । गुरुयोजना सहित ४० करोडको लागतमा निर्माण थालिएको परियोजना अन्तर्गत मूर्ति निर्माणस्थलको ९५ प्रतिशत काम सकिएको मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । पूर्वाधार निर्माणमा हालसम्म २० करोडभन्दा बढी रकम खर्च भइसकेको उनले जानकारी दिए ।

त्यस ठाउँमा मूर्तिका लागि स्थानीयवासीले महायज्ञ लगाएर ८ करोड रुपैयाँ संकलन गरेका थिए । भारतीय कालिगढले मथुरामा बनाएको करिब ६ टन तौल बराबरको मूर्ति जडानसँगै यसलाई आकर्षक बनाउन अहिले दैनिक २० जना कामदार खटिएका छन् ।

गत वर्ष झण्डै एकमहिना लगाएर सिंहासनमा बसेको ५१ फिट अग्लो विशाल शिवको मूर्ति जडान गरिएको थियो । शिवको विशाल मूर्ति, भुमेश्वर महादेवको मूर्ति, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क, पुम्दीकोटको ऐतिहासिक मन्दिर लगायतका भौतिक संरचना निर्माण गर्न ४० करोड रकम खर्च हुने अध्यक्ष बराल बताउँछन् ।

२१ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटमा १०८ शिव लिङ्ग बनाएर मूर्तिलाई डाईमार्फत गणेशले परिक्रमा गर्ने गरी निर्माण गरिएको छ । मूर्तिसम्म पुग्न दायाँ साइडबाट सिधै खुड्किलो सहितको बाटो निर्माण हुनेछ । त्यसभन्दा भित्रको साइडबाट अपाङ्ग तथा वृद्धवृद्धामैत्री बाटोसमेत निर्माण गरिने छ ।

स्थानीय उत्पादन विक्री गर्न सबैभन्दा तल्लो भागमा सटरसहितका संरचना निर्माण गरिएको छ । पसल नजिकै कलात्मक ढुङ्गे धारासहित बालबालिकाका लागि खेल्ने संरचना बनाइने छ । पोखराबाट नजिकै भए पनि आवश्यक भौतिक संरचना र प्रचारप्रसारको अभावमा ओझेलमा परेको पुम्दीकोट क्रमशः पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको स्थानीयवासी गुरुदत्त बरालले बताए ।

उनले मूर्ति निर्माणसँगै आन्तरिक पर्यटकको आगमन बढेपछि त्यस ठाउँमा होटल, रेष्टुरेन्ट लगायतका अन्य व्यापार–व्यवसाय समेत बढेको बताए । ‘मूर्ति निर्माणको कार्य भइरहेकै अवस्थामा आन्तरिक पर्यटक आउने क्रम बढेपछि व्यवसायी उत्साहित भएका छन्,’ उनले भने, ‘यहाँ जग्गा भाडामा लिएर व्यवसाय गर्न चाहनेहरुको संख्यासमेत बढिरहेको छ ।’

मूर्ति निर्माणका लागि २०७३ मा चन्द्रकान्त बरालको संयोजकत्वमा महायज्ञ लगाएर ६ करोड रुपैयाँ सहयोग संकलन गरिएको थियो । त्यसैगरी स्थानीयहरूले २० रोपनी जग्गादान गरेका थिए । मूर्तिसहित संरचना निर्माणका लागि लागि पोखरा महानगरले १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ५० लाख र संघीय सरकारले पौने ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

पुम्दीकोटबाट माच्छापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलासँगै, फेवाताल, पोखरा बजार, लेखनाथ लगायतका ठाउँहरूको समेत अवलोकन गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप