मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

अन्तिम खेलमा कास्की ५४ रनले विजयी

शनिबार, ०४ मङ्सिर २०७८, १९ : ५९
शनिबार, ०४ मङ्सिर २०७८

पोखरा रंगशालामा सम्पन्न वाई वाई यु–१९ गण्डकी प्रदेश छनौट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा कास्की विजयी भएको छ । शनिबार पोखरा रंगशलामा भएको खेलमा कास्कीले तनहुँमाथि ५४ रनको जित निकालेको हो ।

टस जितेर व्याटिङ्ग गरेको कास्कीले पुरा ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । प्रत्युत्तरमा तनहुँले २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १० रन मात्रै बनाउन सक्यो ।

कास्कीको व्याटिङ्गमा अर्जुन कुमालले ४९, अभिषेक थापाले ४० रन बनाए । तनहुँका बलर विनोद नेपालीले २२ रन खर्चिएर ४ विकेट लिएका थिए । कास्कीका बलर सुवास भण्डारीले कसिलो बलिङ्ग गर्दै १९ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिएपछि तनुहँको पारी १ सय १० रनमा समेटिएको हो । तनुहँको तर्फबाट विनोद नेपालीले १८ रन जोडे । खेलमा कास्कीका सुवास भण्डारी म्यान अफ द म्याच भए । प्रतियोगिताभर कूल १० विकेट लिएका उनी सर्वोत्कृष्ट बलर सहित म्यान अफ द सिरिज पनि चुनिए । त्यस्तै प्रतियोगिता भर १ सय ३७ रन बनाएका स्याङजाका मिलन क्षेत्री उत्कृष्ट व्याट्स्म्यान भए ।

विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजु, ग्राण्ड हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष सुदिप शर्मा लगायतले पुरस्कार वितरण गरे । सो अवसरमा अफिसियल मिडियाको भूमिका निर्वाह गरेको आदर्श नेपाल राष्ट्रिय दैनिकका प्रकाशक गीता राना तथा प्रतियोगिताका सहयोगी बविन कुँवरलाई सम्मान गरिएको थियो ।

आयोजक प्रदेश क्रिकेट संघ, गण्डकीका अध्यक्ष देवेन्द्र प्रजुले कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगी, अफिसियल, खेलाडी सबैलाई धन्यवाद ज्ञापन गरे । आयोजक संघका सचिव सुमन कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए । सोही समारोहमा गत वर्ष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु सुवास भण्डारी, अर्जुन कुमाल, अभिषेक थापा, समिर कँडेल र विशाल भण्डारीलाई वाइन किङ्गको तर्फबाट नगद सहित सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप