मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?

ला लिगा र प्रिमियर लिगको वर्चस्व
मङ्गलबार, ३० असार २०८३, २१ : १६
मङ्गलबार, ३० असार २०८३

सारांश

  • सन् २०२६ को फिफा विश्वकपको सेमिफाइनलमा बार्सिलोनाका १० खेलाडीसहित सर्वाधिक प्रतिनिधित्व गर्ने क्लब बनेको छ ।
  • सेमिफाइनलमा फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना पुगेका छन्, जसमा विश्वका उत्कृष्ट खेलाडीहरूको बाहुल्य छ ।
  • क्रिस्टल प्यालेस, चेल्सी, एस्टन भिल्ला, म्यानचेस्टर सिटी, पीएसजी, आर्सनल, एट्लेटिको म्याड्रिड र बार्सिलोनाका खेलाडीहरूले सेमिफाइनलमा स्थान बनाएका छन् ।

सन् २०२६ को फिफा विश्वकप अब अन्तिम चारमा सीमित भएको छ । उपाधिको होडमा फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना मात्र बाँकी छन् । 

विश्व फुटबलका चार शक्तिशाली राष्ट्र सेमिफाइनलमा पुगेकाले प्रतियोगितामा अझै पनि विश्वका उत्कृष्ट खेलाडीहरूको बाहुल्य देखिएको छ । तीमध्ये अधिकांश खेलाडी युरोपका प्रतिष्ठित क्लबहरूको प्रतिनिधित्व गर्छन् । च्याम्पियन्स लिग विजेतादेखि विश्वप्रसिद्ध स्टार खेलाडीसम्मको उपस्थिति रहेको सेमिफाइनलमा कुन क्लबका सबैभन्दा धेरै खेलाडी बाँकी छन् भन्ने विषय पनि निकै चासोको बनेको छ । 

क्रिस्टल प्यालेस (४ खेलाडी)

खेलाडीहरूः डिन हेन्डरसन (इङ्ग्ल्यान्ड), जाँ–फिलिप माटेटा (फ्रान्स), म्याक्सेन्स लाक्रोइ (फ्रान्स), येरेमी पिनो (स्पेन) । हालका दुई सिजनमा एफए कप र युरोपा कन्फरेन्स लिग जित्दै उल्लेखनीय प्रगति गरेको क्रिस्टल प्यालेसका चार खेलाडी अझै विश्वकप उपाधिको दौडमा छन् । 

स्पेनका येरेमी पिनोले सबैभन्दा धेरै खेल खेलेका छन् । फ्रान्सका म्याक्सेन्स लाक्रोइ र जाँ–फिलिप माटेटाले एक–एक खेल खेलेका छन् भने इङ्ग्ल्यान्डका गोलरक्षक डिन हेन्डरसन टोलीमा रहे पनि मैदान उत्रिएका छैनन् ।

चेल्सी (४ खेलाडी)

खेलाडीहरूः रिस जेम्स (इङ्ग्ल्यान्ड), ट्रेभो चालोबा (इङ्ग्ल्यान्ड), एन्जो फर्नान्डेज (अर्जेन्टिना), मालो गुस्टो (फ्रान्स) । प्रतियोगिताकै बिचमा मार्क कुकुरेया रियल म्याड्रिडमा सरुवा नभएको भए चेल्सीका प्रतिनिधि अझ बढी हुने थिए । बाँकी खेलाडीमध्ये अर्जेन्टिनाका एन्जो फर्नान्डेजले सबैभन्दा प्रभावशाली प्रदर्शन गर्दै टोलीको मिडफिल्डको प्रमुख आधार बनेका छन् । 

एस्टन भिल्ला (५ खेलाडी)

खेलाडीहरूः एज्री कोन्सा (इङ्ग्ल्यान्ड), ओली वाट्किन्स (इङ्ग्ल्यान्ड), मोर्गन रोजर्स (इङ्ग्ल्यान्ड), एमिलियानो मार्टिनेज (अर्जेन्टिना), लुकास डिन्ये (फ्रान्स) । एस्टन भिल्लाका पाँच खेलाडी तीन फरक–फरक सेमिफाइनलिस्ट टोलीमा छन् ।  

एज्री कोन्सा इङ्ग्ल्यान्डको रक्षापंक्तिका भरपर्दा खेलाडी बनेका छन् भने एमिलियानो ‘डिबु’ मार्टिनेज अर्जेन्टिनाका पहिलो रोजाइका गोलरक्षकका रूपमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । अनुभवी लुकास डिन्ये पनि फ्रान्सका नियमित सदस्य हुन् । 

म्यानचेस्टर सिटी (५ खेलाडी)

खेलाडीहरूः मार्क गुएही (इङ्ग्ल्यान्ड), निको ओ’राइली (इङ्ग्ल्यान्ड), जेम्स ट्राफोर्ड (इङ्ग्ल्यान्ड), रोड्री (स्पेन), रायान चेर्की (फ्रान्स) । 

जोन स्टोन्सको सम्झौता जुन महिनाको अन्त्यमा समाप्त भएपछि म्यानचेस्टर सिटीका पाँच खेलाडी मात्र अन्तिम चारमा बाँकी छन् । रोड्री चोटबाट फर्किएपछि स्पेनका लागि पुनः उत्कृष्ट लयमा देखिएका छन् । फ्रान्सका रायान चेर्की भने स्टार खेलाडीहरूले भरिएको टोलीमा सीमित अवसर पाइरहेका छन् । 

पेरिस सेन्ट–जर्मेन (६ खेलाडी)

खेलाडीहरूः उस्मान डेम्बेले (फ्रान्स), ब्राड्ली बार्कोला (फ्रान्स), डिजिरे डुए (फ्रान्स), वारेन जाइरे–एमेरी (फ्रान्स), लुकास हर्नान्डेज (फ्रान्स), फाबियान रुइज (स्पेन) । 

लगातार दुई पटक च्याम्पियन्स लिग जितेको पीएसजीको विश्वकप सेमिफाइनलमा बलियो उपस्थिति हुनु स्वाभाविक मानिएको छ । क्लबका पाँच खेलाडी फ्रान्सको टोलीमा छन्, जसमा २०२५ का बेलोन डी’ओर विजेता उस्मान डेम्बेले पनि समावेश छन् । फाबियान रुइज स्पेनका तर्फबाट पीएसजीका एक मात्र प्रतिनिधि हुन् ।

आर्सनल (८ खेलाडी)

खेलाडीहरूः डेक्लान राइस (इङ्ग्ल्यान्ड), बुकायो साका (इङ्ग्ल्यान्ड), एबेरेची एजे (इङ्ग्ल्यान्ड), नोनी माडुके (इङ्ग्ल्यान्ड), डाभिड राय (स्पेन), मार्टिन जुबिमेन्दी (स्पेन), मिकेल मेरिनो (स्पेन), विलियम सालिबा (फ्रान्स) । 

आर्सनलका खेलाडीहरूले आफ्ना राष्ट्रिय टोलीको सफलतामा ठुलो योगदान दिएका छन् । डेक्लान राइस इङ्ग्ल्यान्डको मिडफिल्डका प्रमुख खेलाडी बनेका छन् भने बुकायो साकाले आक्रमणमा निर्णायक भूमिका निर्वाह गरेका छन् । 

स्पेनका मिकेल मेरिनोले महत्त्वपूर्ण गोल गर्दै टोलीलाई जित दिलाएका छन् भने विलियम सालिबा फ्रान्सको बलियो रक्षापंक्तिका आधारस्तम्भ बनेका छन् । 

एट्लेटिको म्याड्रिड (९ खेलाडी) 

खेलाडीहरूः जुलियन आल्भारेज (अर्जेन्टिना), नाहुएल मोलिना (अर्जेन्टिना), निको गोन्जालेज (अर्जेन्टिना), थियागो आल्माडा (अर्जेन्टिना), जुलियानो सिमियोने (अर्जेन्टिना), मार्कोस योरेन्ते (स्पेन), एलेक्स बाएना (स्पेन), मार्क पुबिल (स्पेन) । 

मुख्य प्रशिक्षक डिएगो सिमियोनेको नेतृत्वमा एट्लेटिको म्याड्रिड लामो समयदेखि संघर्षशील र हार नमान्ने टोलीका रूपमा परिचित छ । अर्जेन्टिनाले यस विश्वकपमा देखाएको जुझारु शैली पनि त्यही विशेषतासँग मेल खान्छ । 

एट्लेटिकोका पाँच खेलाडी अर्जेन्टिनाको टोलीमा छन्, जसमा प्रशिक्षक सिमियोनेका छोरा जुलियानो सिमियोने पनि छन् । मार्कोस योरेन्ते, एलेक्स बाएना र मार्क पुबिल स्पेनका प्रतिनिधि हुन् ।

बार्सिलोना (१० खेलाडी)

खेलाडीहरूः लामिन यामाल (स्पेन), पेड्री (स्पेन), गाभी (स्पेन), डानी ओल्मो (स्पेन), फेरान टोरेस (स्पेन), एरिक गार्सिया (स्पेन), पाउ कुबार्सी (स्पेन), जोआन गार्सिया (स्पेन), जुल्स कुण्डे (फ्रान्स), एन्थोनी गोर्डन (इङ्ग्ल्यान्ड) । 

स्पेनको स्वर्णिम युगमा जस्तै, सन् २०२६ को विश्वकपमा स्पेनको खेल हेर्दा कतिपय अवस्थामा बार्सिलोना नै खेलिरहेको अनुभूति हुन्छ । स्पेनको सेमिफाइनल टोलीमा लामिन यामाल, पेड्री, गाभी, डानी ओल्मो, पाउ कुबार्सीलगायत बार्सिलोनाका धेरै खेलाडी छन्, जसले टोलीको सफल यात्रामा महत्वपूर्ण योगदान दिएका छन् ।

स्पेनका खेलाडीबाहेक जुल्स कुण्डे फ्रान्सका लागि तथा नयाँ अनुबन्धित एन्थोनी गोर्डन इङ्ग्ल्यान्डका लागि खेल्दै बार्सिलोनाको प्रतिनिधित्व गरिरहेका छन् । 

यसरी १० खेलाडीसहित बार्सिलोना विश्वकप २०२६ को सेमिफाइनलमा सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने क्लब बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप