शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिकाको मौलिक पाठ्यपुस्तक ‘मेरो पाँचपोखरी’

शुक्रबार, १० मङ्सिर २०७८, ०९ : २७
शुक्रबार, १० मङ्सिर २०७८

देवराज सुवेदी

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउनका लागि स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । अध्यक्ष लामा भन्छन्, ‘स्थानीय परिवेशको सूक्ष्म अध्ययनले आफ्नो भूगोलप्रतिको मायामोह जाग्छ, आफ्नो ठाउँको सबल पक्ष र खाँचो भएका पक्षबारे जानकारी गराउने भएकाले स्थानीय विकासमा टेवा पुर्‍याउँछ ।’

कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरी यही शैक्षिक सत्रबाट लागू गरिसकेको शिक्षा शाखाका प्रमुख कमला खनालले जानकारी दिइन् । विद्यालय निरीक्षक उत्तममणि पौडेलका अनुसार कक्षा १ को पाठ्यपुस्तक पठनपाठन सुरु भएको, २ र ३ को प्रेसमा गएको साथै अन्य कक्षाको पनि छिटै तयार हुनेछ ।

विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप २०७६ ले व्यवस्था गरे बमोजिम स्थानीय जनशक्तिको उपयोग गरी पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो । पाठ्यक्रममा गाउँपालिकाको परिचय, प्राकृतिक स्रोत र सम्पदा, संस्कार र संस्कृति, ऐतिहासिक स्थल र पर्यटन, पेसा व्यवसाय र प्रविधि, परम्परागत ज्ञान, सिप र कला, प्रकोप र वातावरण संरक्षण, स्वास्थ्य र सरसफाइका साथै स्थानीय भाषा र लिपि समेटिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

स्थानीय पाठ्यपुस्तकमा स्थानीय भाषा र लिपिमा तामाङ, ह्योल्मो र शेर्पा भाषालाई समेटिएको छ । भाषा, धर्म, वेशभूषा, प्रेरक व्यक्तिको जीवनी, खानी, जडीबुटी, बोटबिरुवाबारे जानकारीका साथै संरक्षण र संवर्द्धन, स्थानीय बाजाहरूबारे जानकारी, वातावरण संरक्षणका उपाय आदि बारे पाठ्यपुस्तकमा समावेश गरिएको विद्यालय निरीक्षण पौडेलले जानकारी दिए । जीवनीमा सातै महादेशका सबै अग्ला हिमाल आरोहण गरेकी विश्व साहसी समावेशी नेतृ माया गुरुङ, समाजसेवी मिङ्मार दोङ, सामुदायिक वनका अभियन्ता लक्ष्मण दोङको जीवनी राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप