शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दा पनि समस्याका चाङ उस्तै

शुक्रबार, ०२ पुस २०७८, १२ : २९
शुक्रबार, ०२ पुस २०७८

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समग्र काम ८८ प्रतिशत पूरा भएको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले पछिल्लो समय निर्माण सम्पन्न गर्ने म्याद थपिएको अवधि अर्थात् आगामी जुलाईभित्रै काम सक्ने गरी कार्य गरिरहेको जनाएको छ ।

सन् २०१७ नोभेम्बरदेखि थालिएको विमानस्थल निर्माणको काम सन् ०२१ जुनमा सकिनुपर्ने भए पनि कोभिड–१९ का कारण एक वर्ष म्याद थपिएको थियो । सोही अनुसार २०७९ असारसम्ममा सम्पन्न गरि सक्नुपर्ने आयोजना वैशाख अगावै निर्माण सम्पन्न हुने आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।

विमानस्थलमा रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङ्गर लगायतका संरचना निर्माण भइसकेका छन् । विमानस्थलको भौतिक निर्माण सहित ८८ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए ।

उनले आयोजना सम्पन्न हुने चरणमा पुगे पनि विमान सञ्चालनमा अवरोध गर्ने ल्यान्डफिल साइट, रिट्ठेपानी डाँडा, विमानस्थलमा आउने भलबाढी लगायतका समस्याको समाधान हुन भने बाँकी रहेको बताए । उनले ती समस्या तत्कालै समाधान नगरेमा विमानस्थल तयार भए पनि विमान सञ्चालनमा अवरोध हुन सक्ने जनाए ।

समस्याको चाङ

आयोजना प्रमुख मुनकर्मीले सन् २०२२ को जनवरीदेखि आन्तरिक उडान थाल्ने गरी निर्माण कार्यलाई तीव्र तुल्याइएको बताए । तर, अन्तर्राष्ट्रिय उडानका लागि ल्यान्डफिल साइट, रिट्ठेपानी डाँडा, भलबाढीको रोकथाम लगायतका काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

विमानस्थलमा पृथ्वीराजमार्ग, भित्री सडक र काहुँखोलादेखि सिंचाइका लागि बनाइएको नालाको पानीले वर्षाको समयमा ठुलो भलबाढी पसेर क्षति पु¥याउने गरेको छ । यसलाई व्यवस्थित गर्न ३४ करोड रुपैयाँ लाग्ने भएकाले विमानस्थलले सरकारलाई गुहारिरहेको छ । त्यसैगरी, आयोजनाले विमानस्थल सञ्चालनमा ल्याउन पूर्वी भागमा रहेको रिट्ठेपानीको डाँडा २५ मिटर काट्नसमेत सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ । तर, त्यो डाँडामा सरकारी वनसमेत रहेकाले वातावरण प्रभाव मूल्याङ्कन (एआइए) गर्नुपर्ने भएकाले प्रक्रियामा जाँदा लामो समय लागेको छ ।

पोखरा महानगरपालिका–१४ मा रहेको ल्याण्डफिल साइट अन्य ठाउँमा नसारी विमानस्थल सञ्चालन गर्न मिल्ने अवस्था छैन । ल्याण्डफिल साइट र विमानस्थल नजिकै रहेकाले ल्याण्डफिल साइटमा आउने पंक्षी विमानमा ठोक्किने सम्भावना भएकाले हवाई उड्ड्यन कार्यालयले पोखरा महानगरलाई ल्याण्डफिल साइट त्यहाँबाट हटाउन ताकेता गर्दै आएको छ । ल्याण्डफिल्ड साइट सार्न पोखरा महानगरले केही ठाउँ हेरिरहेको भए पनि स्थानीयको विरोधले निर्णय गर्न सकेको छैन ।

उच्चस्तरबाट निरीक्षणमात्र भयो, समस्या समाधान भएन

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेकाले पोखरा आउँदा प्रधानमन्त्रीदेखि मन्त्रीहरु र उच्चपदस्थ कर्मचारीसमेत विमानस्थल निरीक्षणमा पुग्ने गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले लगायतका नेताहरुले विमानस्थलको कार्यप्रगति निरीक्षण गरिसकेका छन् ।

उच्चपदस्थ व्यक्तित्वको आगमनका क्रममा आयोजनाका प्रमुख विनेस मुनकर्मीले विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले उडानका लागि अवरोधका रुपमा देखिएका समस्या समाधान गरिदिन आग्रह गर्दै आएका छन् । तर, सबैले कामलाई निरन्तरता दिन र समस्या समाधान हुने जवाफ दिए पनि अहिलेसम्म ल्यान्डफिल साइट, रिट्ठेपानी डाँडा कटान र भलबाढीको रोकथामका बारेमा कुनै पनि काम अगाडि बढेको छैन ।

पछिल्लो पटक पर्यटनमन्त्री प्रेम आलेले विमानस्थलको निरीक्षण गरेका छन् । आलेले निर्माणाधीन विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । उनले रिट्ठेपानी डाँडा कटान र वर्षाको समयमा विमानस्थलमा पानीको व्यवस्थापनमा देखिएको समस्या तत्काल समाधान गरेर विमानस्थलमा निर्माणकार्य समयसीमाभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

मन्त्री आलेले रिट्ठेपानी डाँडाको विषयमा आफू यसअघि वन मन्त्री भएको समयमा मन्त्रिपरिषद् बैठकबाट डाँडा कटान गर्न पाउनेगरी निर्णय गराइसकेको भए पनि ब्युरोक्रेसीले ‘ईआइए’ सर्त राखेर अडकाएको बताए । उनले आयोजना प्रमुखलाई देखिएका समस्या समाधान गर्न अग्रसर भई छिटोभन्दा छिटो कटानलाई तीव्रता दिन निर्देशन दिए ।

विमानस्थलभित्रको पानीको समस्या सम्बन्धित ठेकेदार कम्पनीमार्फत व्यवस्थापन गराउन र सिंचाइको नहर सम्बन्धित सरोकारवालासँग छलफल गरी समाधान गर्न उनले निर्देशन दिए ।

विमानस्थललाई आकर्षक बनाउने काम धमाधम

आयोजनामा अहिले फिनिसिङ, ब्युटिफिकेसन, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूपमेन्ट इन्स्टलेसन, पाइपलाइन बिछ्याउने लगायतका काम भइरहेको आयोजनाका उपप्रवन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले बताए । ‘विमानस्थलको भौतिक निर्माणको काम सकिएकाले अहिले प्राविधिक र फिनिसिङ्गको कामहरु धमाधम भइरहेका छन्,’ उनले भने, ‘अब, मुख्य काम भनेको ल्यान्डफिल साइट, रिट्ठेपानी डाँडा कटान, भलबाढी रोकथामको काम गर्न आवश्यक छ ।’

विमानस्थल निर्माणमा १ सय ८० जना चिनियाँ र २ सय जना नेपाली गरि ३८० सय १० जना कामदारले काम गरिरहेका छन । विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा बनिरहेको छ ।

परियोजनाका इन्जिनियर पौडेलले विमानस्थलको मुख्य कामका रूपमा रहेको रनवेको काम साढे दुई वर्ष पहिले सकिएको र हाल अन्य भौतिक संरचना निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको बताए ।

काम तीव्ररुपमा अगाडि बढिरहेको अवस्थामा कोभिड–१९ को संक्रमणले निर्माण उपकरण र चिनियाँ कामदार आउन रोकिँदा परियोजना निर्माणको काम एक वर्ष पछाडि धकेलिएको उनको भनाइ छ ।

इन्जिनियर पौडेलले ३ हजार मिटर लम्बाइको रनवे नेपालकै नयाँ र नमूना भएको बताए । ‘अन्यत्र निर्माण गरिएका विमानस्थलको रनवे पिच गर्ने गरिएको छ,’ उनले भने, ‘तर, यहाँ पहिलो पटक रनवे ढलान गरिएको छ, ढलान गर्नाले यसको टिकाउ अवधि बढी हुन्छ ।’ पोखरा क्षेत्रमा अत्याधिक पानी पर्ने भएकाले ठूलो लगानीमा निर्माण भएको परियोजना बढी समय टिकाउ होस् भन्ने उद्देश्यले टिकाउ हुने प्रविधिको प्रयोग गरेर निर्माण गरिएको उपप्रवन्धक पौडेलले बताए ।

कसरी बन्दैछ विमानस्थल ?

विमानस्थल निर्माणमा पहिले दैनिक ४५० जना कामदार खटिएका भए पनि अहिले भने ३७० जनाले मात्र काम गरिरहेका छन् । विमानस्थल निर्माणको काम चिनियाँ निर्माण कम्पनी सीएएमसीले २०७४ साउन १८ देखि थालेको हो । चिनियाँ कम्पनी सीएएमसी र नेपाल सरकारबीच विमानस्थल निर्माण गर्नका लागि २०७१ मा ठेक्का सम्झौता भएको थियो ।

सम्झौतामा ठेकेदार कम्पनी सीएएमसीले निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त राखिएको थियो । सम्झौताअनुसार कम्पनीले जुलाई, सन् २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने समय तोकिएको थियो । तर, कोरोना संक्रमणका कारण बीचमा लकडाउन भएकाले थप १ वर्ष समय थप गरिएको छ ।

२२ अर्बमा ‘४ डी’ मोडलको विमानस्थल 

चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थल निर्माणका लागि एक्जिम बैंकले ऋण स्वरुप दिएको २२ अर्बमध्ये ७५ प्रतिशत बैंकको २ प्रतिशत ब्याजमा र २५ प्रतिशत चीन सरकारको बिनाब्याज ऋण छ । झण्डै ३८ सय रोपनी क्षेत्रफलमा निर्माण भइरहेको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डययन संस्था (आइकाओ) को मामदण्डअनुसार ‘४ डी’ मोडलमा निर्माण गरिएको छ । 

विमानस्थलमा १९२ देखि दुई सयसम्म यात्रु बोक्ने मझौला खालका बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सिधा उडान हुने गरी विमानस्थल तयार पारिएको हो ।

विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार मिटर र रनवेको चौडाइ ४५ मिटर छ । विमानस्थलका लागि सरकारले २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ७ सय रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । विमानस्थलका लागि ९९ प्रतिशत जग्गा अधिग्रहण भइसकेको र ३ हजार ८ सय रोपनीमध्ये बैंकहरूमा धितो बन्धक रहेको, व्यक्ति विदेशमा रहेको, सम्पर्कमा नआएको लगायतका समस्या रहेको २० रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको आयोजनाले जनाएको छ । परियोजनाले अझ थप जग्गा अधिग्रहण गर्नुपर्ने बताउँदै आएको छ ।

विमानस्थलमा चाहिने हवाई इन्धनको सम्बन्धमा तत्कालका लागि हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलबाट इन्धन ढुवानी गरेर पूर्ति गरिने छ । इन्धनसँग सम्बन्धित कार्य नेपाल आयल निगमसँग समन्वय गर्नुपर्ने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप