बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा एक पुरुष पक्राउ

बिहीबार, ०८ पुस २०७८, १२ : ०३
बिहीबार, ०८ पुस २०७८

अवकाश प्राप्त सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका–३ घर भएका ४२ वर्षीय कविराज कटुवाललाई पक्राउ गरिएको ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।

कटुवालले मालबाहक पानी जहाजमा ‘मासिक ९ सय अमेरिकी डलर तलब हुन्छ’ भनेर पूर्व सैनिकलाई २०७८ वैशाख १२ मा दुबई लगेका थिए । दुवईबाट राहदानी नियन्त्रणमा लिएर उनलाई सोमालियास्थित समुद्रमा पुर्याएर माछा मार्ने पानी जहाजमा सुरक्षा गार्डको काममा लगाएको पीडितकी पत्नीले प्रहरीलाई बताएकी छिन् ।

सोमालिया नजिक हिन्द महासागरमा खुट्टा सुन्निने र श्वासप्रश्वाससम्बन्धी बिरामी भएर काम गर्न नसक्दा उपचार नपाएर पूर्व सैनिकको मृत्यु भएको थियो । २०७८ असोज २ मा पतिको मृत्यु भएको र नेपालमा शव ल्याउन पहल गरिदिन आग्रह गर्दा कटुवालले ४० लाख रुपैयाँ मागेका थिए ।

कटुवाललाई मंसिर १६ मा पक्रेर मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार अनुसन्धान भइरहेको एसएसपी सिंहले बताइन् । अहिले मध्यपुर थिमी नगरपालिकामा घर बनाएर बस्न थालेका कटुवाल इटहरीका स्थानीय हुन् । माछा मार्ने मलेसियन कम्पनीमा पूर्व सैनिकले मासिक ७ सय डलर तलबमा रोजगारी पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप