शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भीआईपीमा कोरोना छरपस्ट : देउवा–ओली कन्ट्याक्ट ट्रेसिङमा !

ओलीलाई भेटेर देउवा आइसोलेशनमा
शनिबार, २४ पुस २०७८, २२ : ४०
शनिबार, २४ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री, विपक्षी दलका नेतासहित उच्चस्तरीय राजनीतिक समन्वय समितिमा रहेका नेतादेखि मन्त्रीहरु लगायतसम्म कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । 

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । बैठकमा सहभागी सबै राजनीतिक दलका शीर्ष नेताहरू कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका हुन् । 

सो बैठकमा प्रचण्डसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेललगायत सहभागी भएका थिए ।

त्यसको भोलिपल्ट पीसीआर गराएका प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । यद्यपि हालसम्म सो बैठकमा बसेका कसैमा पनि कोरोना परीक्षण भइसकेको छैन । यस्तै बिहीबार पनि गठबन्धनको बैठक बसेको थियो ।

ओलीलाई भेटेर देउवा आइसोलेशनमा

केही दिनयता निवासमा भेटघाट नै बन्द गरेर बसेका प्रचण्डमा कोरोनाको लक्षण देखिन थालेपछि शुक्रबार ललितपुरको एक निजी ल्याबमा कोरोना परीक्षण गराएका थिए ।  सो परीक्षणमा शुक्रबार नै संक्रमण पुष्टि भएपनि प्रचण्डको सचिवालयले शनिबार बिहानमात्रै औपचारिक जानकारी गराएको थियो । 

सो जानकारीपछि पनि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । बालकोटमा करिब १ घण्टा बिताएका देउवाले ओलीसँग एमसीसी र संसदको जारी अवरोध खुलाउने विषयमा छलफल गरेका थिए । सो छलफलपछि निवास फर्किएका देउवा त्यसपछि मात्रै आइसोलेशनमा बसेका छन् । उनी दुई दिन आइसोलेशनमा बस्नेछन् भने त्यसपछि कोरोना परीक्षण गराउने बताइएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका देउवाले ओलीलाई भेटेपछि ओलीपनि स्वतः कोरोनाको जोखिममा परेका छन् । भलै ओली आइसोलेशनमा बस्ने–नबस्नेबारे अहिलेसम्म केही खुलाइएको छैन।  

यस्तै देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेका थिए ।  प्रचण्डसहितका माओवादी केन्द्रका नेताहरुमा कोरोना देखिएसँगै भीआईपी तहमा कोरोना छरपस्ट भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परिसकेपछि आइसोलेशनमा बस्नु हितकर हुने जनस्वास्थ्यविद्हरु बताउँछन् । आइसोलेशनमा नबसी भेटवार्तालाई निस्फिक्री निरन्तरता दिँदा थप संक्रमण फैलिने जोखिम हुने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । 

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले कन्ट्याक्ट ट्रेसिङमा परेको मान्छेले कसैलाई भेट्दैमा कोरोना सर्ने भन्ने नहुने भएपनि आइसोलेशनमै बस्नु हितकर हुने रातोपाटीलाई बताए । ‘कन्ट्याक्ट ट्रेसिङमा परेको थाहा हुँदाहुँदै जानु त राम्रो मानिँदैन’, उनले भने ।  तर कन्ट्याक्ट ट्रेसिङमा परेको मान्छेबाट हिजोको आजै तत्काल सरिहाल्ने अवस्था भने न्युन हुने उनको भनाइ छ ।

‘हिजोको आजै कसैलाई संक्रमण भयो भने ऊबाट अरुलाई हुने सम्भावना तत्काल त हुने देख्दिन म’, उनले भने, ‘भाइरसलाई उसको शरीरमा इन्ट्री गरेर लोड बढ्दै जानुपर्यो नि । त्यो हुनलाई केही दिन ४–५ दिननै लाग्छ । मैले संक्रमितलाई भेटेँ र तत्काल अरु कसैलाई भेटे भने कि हात वा बाहिरी अंग कतैतिर लागेको हुनुपर्यो । अरु माध्यमबाट चाहिँ तत्काल त्यस्तो सम्भावना हुँदैन ।’

तर पनि जोखिम मोलेर भेटघाट गर्नुभन्दा आइसोलेशनमै बस्नु उपयुक्त हुने उनको भनाइ छ । ‘टेक्निकल्लीचाहिँ आजको भोलि नै उसको शरीरमा भाइरस नै जम्मा भएर सरिहाल्छ भन्नेचाहिँ हुँदैन’, उनले बताए । 

कहाँबाट सर्यो प्रचण्डलाई कोरोना ?
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा नेताहरुमा कोरोना संक्रमण देखिन थालेको हो ।  माओवादीको पुस ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा महाधिवेशन चलेको थियो ।

देशभरबाट १७४२ जना प्रतिनिधि माओवादीको राष्ट्रिय महाधिवेशनमा सहभागी भएका थिए ।  स् ८ दिनसम्म एउटै हलमा पार्टी अध्यक्ष प्रचण्डको प्रतिवेदन र नेता देव गुरुङको विधान संशोधन प्रस्तावको छलफलदेखि नेतृत्व चयनमा नेताहरु जुटेका थिए । 

महाधिवेशन यस्तो बेलामा थियो कि देशभर कोरोना संक्रमण बढ्दै थियो भने नयाँ भेरियन्ट ओमिक्रोन​ समेत छिटपुट रुपमा देखिन थालेको थियो । पर्याप्त स्वास्थ्य मापदण्ड पालना हुन नसकेको माओवादीको सोही महाधिवेशनबाट नेताहरुमा कोरोना संक्रमण देखिन थालेको आशंका गरिएको छ ।

हालसम्म माओवादी अध्यक्ष प्रचण्डसहित, नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, युवा नेताहरु रामप्रसाद सापकोटा, सुमन देवकोटा, सुवोध श्रीपाली, पञ्चा सिंह, रमेश मल्ल लगायतमा कोरोना पुष्टि भएको छ । यसअघि नै माओवादीको केन्द्रीय कार्यालय समेत कोरोना संक्रमणकै कारण बन्द गरिसकिएको छ । 

बढ्दै कोरोना संक्रमण

शुक्रबार २४ जनामा ओमिक्रोन पुष्टि भएको बताएको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दिनमा कोरोना संक्रमण दर नै बढेको देखिएको छ । शनिबार मात्रै देशभर ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकार नै सर्तक बनेको छ । शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न लागिपर्न मातहतका निकायलाई निर्देशन दिएका थिए । संक्रमण बढिरहे सरकारले स्मार्ट लकडाउनको योजना समेत बनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप