शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा साहसिक पर्यटन : एक जिल्ला, एक साहसिक खेल गतिविधि

सोमबार, ०३ माघ २०७८, ०६ : ५९
सोमबार, ०३ माघ २०७८

पोखरा । पर्यटन व्यवसायी र सरोकारवालाहरूले गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटनका उपयुक्त ठाउँ पहिचान गरेर प्रदेशलाई एक जिल्ला, एक साहसिक खेलकुद गन्तव्यको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाइ छ ।

गण्डकीका ११ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यलाई साहसिक खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याएर रोजगारी सिर्जना गर्नुपर्ने व्यवसायीको धारणा छ । प्रदेशलाई खेल पर्यटन हबका रुपमा विकास गरी दिगो खेलकुद पर्यटनमार्फत् विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्नेमा उनीहरुले जोड दिए ।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्यूड स्पोर्टस ट्रेनिङ सेन्टर निर्माण गर्ने योजना भए पनि प्रक्रिया लम्बिएकाले काम अघि बढ्न नसकेको बताए । उनले भने, ‘प्रकृतिले हामीलाई बग्रेल्ती रुपमा उपहारस्वरुप प्राकृतिक पूर्वाधार र सम्पदा दिएको छ तर, हामीले टुलुटुलु हेरेर बस्नेबाहेक केही गर्न सकेका छैनौं ।’ प्रकृतिबाट ठगिएका कयौं मुलुकले कृत्रिमरुपमा मनमोहक पूर्वाधार बनाएर पर्यटन प्रवर्द्धनमा फड्को मारेको चर्चा गर्दै उनले प्रकृतिको उपहार पाएर पनि हामीले त्यसको उपयोग गर्न नसकेको बताए ।

सांसद विष्टले मुस्ताङको ४ हजार ६४५ मिटरको उचाईमा गल्फ सेन्टर निर्माणका लागि अध्ययन प्रक्रिया अगाडि बढाइने बताउँदै पोखरालाई केन्द्रविन्दु बनाएर प्रदेशभित्रका जिल्लामा साहसिक खेलकुद गन्तव्य विकास गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले गण्डकीका ११ जिल्लामा फरक फरक विशेषता रहेको र प्राकृतिक सम्पदासमेत त्यही अनुसारका भएकाले पर्यटनको विकासका लागि सरकारले योजनावद्ध रुपमा ध्यान दिनुपर्ने बताए ।

सांसद विष्टले मुस्ताङमा साहसिक साइक्लिङ र ¥याफ्टिङ लगायत साहसिक खेल पर्यटन विकास गर्न आवश्यक पहल गरिरहेको बताए ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले ओलम्पिक खेलसँग सम्बन्धित खेल गतिविधिकाबारे धेरै चर्चा हुने गरे पनि प्रदेशको समृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने साहसिक खेलकुदबारे ठोस रुपमा चर्चा नभएको बताए । उनले परिषदले प्रदेशलाई साहसिक खेलकुदको गन्तव्यको आधारका रुपमा स्थापित गर्न सरोकारवाला निकायबीच आवश्यक परामर्श गरिरहेको बताए ।

उनले भने, ‘गण्डकी प्रदेशमा साहसिक पर्यटनको विकास गर्न उपयुक्त पूर्वाधारको कमी छैन । यहाँ साहसिक पर्यटनको प्रशस्त सम्भावना छ । साहसिक पर्यटनको विकासबाट प्रदेशमा विकास र समृद्धि हासिल गर्न सक्ने सम्भावना छ ।’

नेपालले ओलम्पिक खेलसँग सम्बन्धित खेल गतिविधिलाई धेरै महत्व दिए पनि साहसिक खेललाई त्यति महत्व नदिएको भन्दै अब प्रदेशमा साहसिक खेल पर्यटनको विकास गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले प्रदेशको साहसिक र वाटर स्पोर्टसबारे अध्ययन अनुसन्धान गरी त्यसलाई मुर्तरुप दिन लागिएको उल्लेख गरे ।

सदस्यसचिव गुरुङले प्रदेशको मुख्य आधार नै पर्यटन भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न तीनवटै तहका सरकारले विशेष महत्वका साथ विभिन्न ठाउँमा साहसिक खेल पर्यटनका लागि आवश्यक पूर्वाधार बनाएर काम गर्नुपर्ने बताए । ‘पर्यटन प्रवर्द्धन नै सरकारका मुख्य आधार भएकाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न आवश्यक छ’, उनले भने, ‘प्रदेशमा बञ्जी, प्याराग्लाइडिङ, वाटर स्पोर्टस, ¥याफ्टिङ, साहसिक साइक्लिङ लगायतका खेलको विकासबाट पर्यटनका विकासमा सहयोग पुग्छ ।’

अबको विश्वको खेलकुद वाटर र अल्पाइनसँग जोडिएको छ तर, हामीसँग भएका प्राकृतिक स्रोत, साधन र भूवनोटको समुचित उपयोग गर्न सकेका छैनौं । हामीसँग भएको जनशक्तिसमेत खेर गएको छ । त्यसैले सरकारले विज्ञहरुको सल्लाहमा योजनाबद्धरुपमा समग्र पर्यटनको विकास गर्ने गरी योजना बनाएर अगाडि बढ्न आवश्यक छ ।’

राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द प्रसाद भट्टराईले मुलुकको समृद्धिको प्रमुख आधार दिगो खेलकुद भए पनि राज्यले त्यसबारे नीति निर्माणमा समेत चासो नदिएको बताए । उनले राज्यले समयमै उचित योजना बनाएर पर्यटकीय गतिविधि सञ्चालन गर्न नगर्दा ठूलो जनशक्ति खेर गइरहेको बताए ।

साहसिक खेलकुदको छाता संस्था नेपाल माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्षसमेत रहेका उनले गण्डकी प्रदेश खेल पर्यटनको प्रचुर सम्भाबना भएको क्षेत्र भएकाले यसको विकासमार्फत समृद्धितर्फ लाग्न आग्रह गरे । उनले प्रदेशमा साहसिक पर्यटनसहित अन्य पर्यटकीय गतिविधिलाई योजनाबद्ध रुपमा सञ्चालन गर्न सके स्थानीयस्तरमा रोजगारीसँगै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

उनले भने, ‘अबको विश्वको खेलकुद वाटर र अल्पाइनसँग जोडिएको छ तर, हामीसँग भएका प्राकृतिक स्रोत, साधन र भूवनोटको समुचित उपयोग गर्न सकेका छैनौं । हामीसँग भएको जनशक्तिसमेत खेर गएको छ । त्यसैले सरकारले विज्ञहरुको सल्लाहमा योजनाबद्धरुपमा समग्र पर्यटनको विकास गर्ने गरी योजना बनाएर अगाडि बढ्न आवश्यक छ ।’

अध्यक्ष भट्टराईले फ्ल्याट वाटर र ह्वाइट वाटर नेपालको साहसिक खेलकुदका रुपमा विकास गर्न सकिने तर्क गर्दै परम्परागत रुपमा सञ्चालन हुँदै आएका अन्य खेलमार्फत समेत पर्यटनको दिगो विकासमा सहयोग पुग्ने दाबी गरे ।

पर्यटनविद् डा.रामजी शर्माले प्रदेशको साहसिक खेलकुदलाई स्थापित गराउन विशेषगरी एयर, वाटर, सर्फेस र अल्पाइन स्पोर्टसमा ध्यान दिनुपर्ने बताए । उनले खेलकुदले आफैमा पर्यटन प्रवर्द्धन गर्ने भए पनि साहसिक खेलकुदले प्रदेशको पर्यटनसँगै दिगो विकासमा सहयोग पुग्ने बताए । उनले भने, साहसिक पर्यटनमार्फत योगनाबद्ध विकास गरेर गाउँघरसम्म पर्यटकीय गतिविधि सञ्चालन गर्नेतर्फ राज्य केन्द्रित हुन आवश्यक छ । यसले स्थानीय व्यवसायी, नागरिक र राज्य सवैलाई फाइदा हुन्छ ।’

उनले गण्डकी प्रदेशमा साहसिक खेलकुदमार्फत् पर्यटनको विकास गर्न र पर्यटकको बसाई लम्ब्याउन दीर्घकालीन योजना बनाएर कार्य गर्न आवश्यक रहेको दाबी गरे । बिना योजना फाटफुटरुपमा पर्यटकको आगमनले प्रदेशको विकास र समृद्धिमा सामान्य प्रभावमात्र रहने उनको भनाइ छ ।

पर्यटनविद डा.शर्माले प्रदेशका हरेक जिल्लालाई साहसिक खेलकुदको गन्तव्यका रुपमा अघि बढाउनुपर्ने बताउँदै त्यसको ब्रान्डिङ गर्न सरोकारवाला र राज्य लाग्नुपर्ने बताए । उनले प्रदेशमा विद्यालयस्तरबाटै साहसिक खेलकुदबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउन आवश्यक रहेकोमा जोड दिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले प्रदेशलाई स्पोर्टस हबको नारामा मात्रै सीमित नराखी त्यसलाई सार्थक तुल्याउनुपर्ने बताए । समग्र प्रदेशमा साहसिक पर्यटनको दिगो विकासका लागि स्पोर्टस भिलेजको अवधारणा अनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष भट्टराइले पर्यटकको बसाई लम्ब्याउनसमेत साहसिक खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसका लागि प्रदेश सरकारले पर्याप्त बजेट र आवश्यक योजना बनाएर अगाडि बढ्नुपर्ने प्रस्ट पारे । उनले भने, ‘गण्डकी प्रदेश पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ हो । यहाँ साहसिकदेखि अन्य पर्यटकीय सम्भावना छन् । सरकार, सरोकारवाला निकायबीचको समन्वयमा पर्यकीय गतिविधि र साहसिक खेल पर्यटनको विकासमार्फत समृद्ध प्रदेश बनाउन योजनाबद्ध रुपमा लाग्न आवश्यक छ ।’

उनले पर्यटनको दिगो विकासका लागि भएका अध्ययनलाई राज्यका तर्फबाट बेवास्ता गर्दै आएको आरोप लगाए । पर्यटनको दिगो विकासका लागि १० वर्ष अघि नै हाई स्पोर्टस अल्टिच्यूडबारे अध्ययन भएको बताउँदै उनले बागलुङको ढोरपाटन पनि साहसिक खेलकुदको मुख्य गन्तव्य बन्नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप