बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारले खरिद गरेका पाँच वटा बस डेढ वर्षदेखि अलपत्र

सोमबार, १७ माघ २०७८, ०९ : ३८
सोमबार, १७ माघ २०७८

मधेस प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको पालामा हचुवाका भरमा खरिद गरेर ल्याइएका पाँच वटा बस डेढ वर्षदेखि थन्किएर बसेको छ । प्रदेश परिवहन योजना अन्तर्गत प्रदेश सरकारले सञ्चालन गर्ने गरी ती बस खरिद गरिएको हो ।

तत्कालीन मन्त्री सोनलले जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने भन्दै २०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरी ल्याएका थिए । ५ वटै बसको भुक्तानी गत वर्षको पुस महिनामै भइसकेको छ । तर परिवहन (बस) सेवा अझै सञ्चालनमा आउन सकेको छैन ।

सरकारले बस खरिद गरे पनि ‘प्रदेश परिवहन’ सञ्चालन कार्यविधि नबनाएका कारण लामो समयसम्म बस थन्किनु परेको हो । भौतिक पूर्वाधार विकास मन्त्री पदबाट सोनल हटाइएसँगै प्रदेश सरकारले अहिले यी बस आफूले सञ्चालन नगरी व्यवस्थापनका अन्य विकल्प खोज्ने तयारी गरेको छ ।

हाल मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव छन् । उनले प्रदेश सरकारले बस सञ्चालन गर्न नसक्ने निष्कर्ष निकाल्दै सो बस सामुदायिक संघसंस्था वा निजीस्तरमै हस्तान्तरण गर्ने योजना बनाएका छन् । यद्यपि उनी मन्त्री भएको महिनौं भइसक्दा पनि ती बसका बारे कुनै निर्णय हुन सकेको छैन ।

खरिद गरिएका बसहरू मधेस भवन परिसरमै थन्क्याइएको छ । लामो समयसम्म थन्क्याएका कारण बसका विभिन्न पार्टपूर्जामा खिया लाग्न थालेको छ भने इन्जिनदेखि विभिन्न पार्टपूर्जा बिग्रिने जोखिम बढेको छ ।

यी बसलाई जनकपुरधाम–वीरगंज, जनकपुरधाम–राजविराज रुटमा सञ्चालन गर्ने योजना थियो । तर कार्यविधि नै नबनाइएका कारण बस खरिद गरी ल्याएको लामो समयसम्म पनि सञ्चालन हुन सकेको छैन ।

भौतिक पूर्वाधार विकासमन्त्री यादवले प्रदेश परिवहन सेवा सञ्चालन गर्ने योजनाले प्रदेश सरकारको आलोचना हुने भन्दै ती बसहरूको व्यवस्थापन गर्ने तयारी थालिसकेको बताए । उनले प्रदेश परिवहनको छिट्टै नै व्यवस्थापन गर्ने जनाए ।

मन्त्री यादवले भने, ‘प्रदेश सरकारले प्रदेश परिवहन सञ्चालनमा ल्याउनु सबैभन्दा व्यर्थको कुरा हो, बस बिना प्रयोजन खरिद गरिएको हो ।’

आफूहरुले यसबारे छलफल गरेर मधेस सरकारकै विभिन्न निकाय, वा परोपकारी संस्थालाई वितरण गर्ने योजना बनाइएको बताए ।

माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.का अध्यक्ष मनोज कुमार चौधरीले मधेस सरकारले निजी क्षेत्रका बस व्यवसायीलाई निरुत्साहित पार्न त्यतिबेला प्रदेश सरकारले बस खरिद गरेको आरोप लगाए । उनले बस सञ्चालनका लागि मन्त्रीसँग एक चरणको बैठक भए पनि कुरा नमिलेको बताए ।

उनले भने, ‘मन्त्रीसँग एक चरणको बैठक भयो, बैठक बस सञ्चालन सम्बन्धमा केन्द्रित थियो, तर सो रुटमा बस सञ्चालनमा समस्या हुने भएकाले रुट नै निर्धारण गर्न हामीले कुरा राख्यौँ ।’

उनका अनुसार अहिले २÷२ सीटका बस सञ्चालन हुने गरे पनि प्रदेश सरकारले ३÷२ सीटका बस खरिद गरेकाले व्यावसायिक रुपमा यी बसले गति लिने अवस्था नै छैन । अर्कोतिर अहिले बस व्यवसाय नै मन्दीको चपेटामा परेको उनको भनाइ छ ।

प्रदेश सरकारले कमिशनको चक्करमा हचुवाको भरमा ठुलो रकम खर्चिएर बस खरिद गरेको आरोप पनि चौधरीले लगाए । यसको साटो मैनबत्ती उद्योग खोलेको भए बरु दुई सयभन्दा बढी प्रदेशवासीले रोजगारी पाउने र त्यसले बजारसमेत पाउने सम्भावना रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप