बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

समितिको बैठकमा सरकारको कामको समीक्षा हुन्छ : महामन्त्री शर्मा

बुधबार, १९ माघ २०७८, १४ : ५९
बुधबार, १९ माघ २०७८

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । बुधबार कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताएका हुन् । कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने बताए । 

जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उनले उल्लेख गरे । कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घच्याउने उनको भनाई छ । त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिशातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए । उनले भने– ‘काँग्रेसले निर्वाचनतर्फ जाँदै गर्दाखेरी दुईवटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको ३ वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरितका गतिविधिहरु, जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ । तर हामी उत्तिकै के सजग छौँ भने, हाम्रो पनि सरकारको एक वर्षको परफरमेन्सको बारेमा व्याख्या हुन्छ । हामी आफैं पनि समीक्षा गरेर जान्छौँ । यसबीचमा जे कमजोरी सरकारको भएका छन्, त्यसलाई कसरी करेक्सन गर्न सकिन्छ, सरकारलाई कार्य सम्पादन समितिले के भन्छ भने सरकारले गति बढाउनुपर्यो भनेर भन्छ ।’ 

यो सरकारसँग सबै कुराको अपेक्षा नगर्न आग्रह गर्दै उनले भने, ‘पब्लिकलाई पनि के आग्रह गर्छौ भने यो सरकारसँग सबै कुरा अपेक्षा नगर्नुस् है । एउटा विशिष्ट परिस्थितिमा बन्यो । संविधानविपरीत कदम चालिएको, लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरिएको, संसदलाई विघटित गरिएको विशिष्ट परिस्थितिमा । हामीलाई जनताले म्यान्डेट बाहिर बस्न भनेर दिँदादिँदै पनि नचाहँदा, नचाहँदै पनि सरकारको नेतृत्व गरेर जानुपर्यो । त्यसकारण यो सरकारलाई संविधानअनुसार चल्ने, संविधान र संसदको रक्षा गरेर जाने सवालमा, महामारीबाट जनताको जीवन रक्षा गर्नका लागि सरकार कति गम्भिर भएर जान्छ भन्ने सवाल र निर्वाचन सम्पन्न गराउने राष्ट्रिय दायित्व पुरा गर्ने सन्दर्भमा सरकारलाई हेरिदिनुस्, समीक्षा गरिदिनुस् भन्छौँ पनि । जुन विषयमा जनताको प्रत्यक्ष चासो हुन्छ, सरकारको छविको कुरो गाँसिन्छ, यी विषयमा कार्य सम्पादन समितिको बैठकले पनि सरकारलाई सजग गराउने, सरकारलाई ध्यानाकर्षण गराउने, सरकारलाई सुझाव पनि दिने कार्य गर्छ ।’ 

उनले खोप कार्यक्रमलाई महाअभियानका रुपमा लिएर जाने कुराको सन्दर्भमा पनि सरकारलाई थप घच्घच्याउनुपर्ने बताए ।  उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीको सबै तहमा कार्यसम्पादन समिति गठन हुने पनि जानकारी दिए । 

उनले भने– ‘केन्द्रीय कार्यसम्पादन समितिले केही निर्णय, केही सम्बोधन गर्नुपर्ने, केही व्यवस्थापन गर्नुपर्ने र केही नयाँ खालका सांगठनिक परियोजनाको बारेमा दृष्टिकोण बनाएर जिम्मेवारीहरू बाँडफाँड गरेर जानुपर्ने अवस्था छ । पार्टीको घरेलु जीवनको विषय जसभित्र पार्टीको कार्यसम्पादनको पूर्णताकै विषय आउला अथवा नेपाल विद्यार्थी संघ, तरुण दल लगायतका भातृ र शुभेच्छुक संस्थाहरुको महाधिवेशनसँग सम्बन्धित विषयमा टुंगोमा पुग्ने । अहिले हामी दुईवटा महामन्त्री भातृ र शुभेच्छुक संस्थाहरुको सन्दर्भमा केही वर्क आउट पनि गरिरहेका छौँ । अर्को, कार्यसम्पादन समितिको बैठक बसिसकेपछि देशभरी नै कार्यसम्पादन समिति बनाउने क्रम सुरु हुन्छ । सबै तहमा कार्यसम्पादन समितिहरु गठन हुन्छन् ।’

काँग्रेसको यसअघि भर्चुअल रुपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप