आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सत्यतथ्य र विश्वसनीयताको परीक्षण गरेर समाचार उत्पादन गर्न काउन्सिलको आग्रह

बिहीबार, २० माघ २०७८, १३ : २०
बिहीबार, २० माघ २०७८

प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चार जगतलाई आग्रह गरेको छ ।  केही सञ्चारमाध्यमहरुले कोरोनासँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनियताको परीक्षण गरेर मात्रै समाचार प्रकाशन गर्न सञ्चार गृहको ध्यानाकर्षण गराएको हो । बिहीबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार संस्थाहरुले समाचार अनुवाद गरेर सम्प्रेषण गर्दा त्यसको तात्पर्य मिलेको छ वा छैन भन्ने कुराको प्रमाणका आधारमा मात्रै सम्प्रेषण गर्नुपर्ने बताए । 

उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाइको हवाला दिँदै ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्ल्यूएचओ’ भन्ने समाचार गलत भएकाले त्यस्तो समाचार तयार गर्ने संस्था र त्यसलाई प्रकाशन गर्ने सञ्चार गृहसँग स्पष्टीकरण लिएको जानकारी दिए । उनले समाजमा भ्रम पैदा गर्ने प्रकारको समाचार बनाएर पठाउने संस्था र समाचार प्रकाशित गर्ने केही सञ्चारमाध्यमहरूलाई सोधिएको स्पष्टीकरणमा सञ्चारमाध्यमहरुले गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाएको पनि बताए ।

अध्यक्ष बस्नेतले भने, ‘केही दिनअघि कोरोनासँग जोडिएको एउटा समाचार संस्थाबाट उत्पादन गर्दा त्यसको अनुवाद सही ढंगले नभएको पाइयो । त्यति मात्रै होइन, त्यो समाचार संस्थाबाट गएका समाचार विभिन्न अनलाइन पत्रिकाहरूले जस्ताको तस्तै दिँदा समाजमा भ्रम फैलियो ।

त्यो समाचार थियो ओमिक्रोनले नै कोभिडलाई अन्त्य गराउन सक्छ भन्ने खालको डब्ल्यूएचओको समाचारलाई ट्रान्सलेशन गरिएको थियो । जुन गल्ती थियो । त्यसको आधारमा विभिन्न सञ्चारमाध्यमले त्यसलाई दिँदा जस्ताको तस्तै दिँदा भ्रम फैलियो र हामीले त्यो समाचार संस्थालाई स्पष्टिकरण पनि सोध्यौँ । छाप्ने अन्य ६ वटा आधा दर्जन सञ्चार संस्थालाई पनि सोध्यौँ ।’ 

अध्यक्ष बस्नेतले ती सञ्चारमाध्यामहरुले अबदेखि गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको बताउँदै भने, ‘उहाँहरुले गल्ती भएको र अबबाट त्यस्तो गल्ती नदोहो¥याउने भन्ने प्रतिवद्धतासहित हामीलाई पत्र पठाउनु भएको छ । प्रेस काउन्सिल के आग्रह गर्न चाहन्छ भने त्यस्ता किसिमका समाचार उत्पादन गर्दा र अनुवाद गर्दा ठ्याक्कै मिलेको छ कि छैन ? त्यो हेरिदिन विशेष आग्रह गर्दछु । यस्ता समाचार दिँदा विशेष ध्यान दिनुपर्छ भनेर प्रेस काउन्सिल नेपाल सम्बद्ध सञ्चार संस्थाहरुलाई सचेत पनि गराउन चाहन्छ ।’

गत माघ १० गते प्रकाशित ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ ः डब्ल्यूएचओ’ शीर्षकको समाचारमा कुनै सत्यता नभएको भन्दै नेपालस्थित डब्ल्यूएचओको कार्यालयले स्पष्ट पारेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप