मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

हिमपातले एउटै जिल्लामा कतै खुसी कतै दुःख

आइतबार, २३ माघ २०७८, १४ : ४७
आइतबार, २३ माघ २०७८

हिमाली जिल्ला हुम्लामा यो वर्ष हालसम्म पाँच पटक भारी हिमपात भयो । हरेक पटकको हिमपात उत्तरी भेगका सर्वसाधरणलाई दुःख बनेर आयो भने दक्षिण भेगका किसानलाई राहात पुग्यो । 

हिमपातपछि उत्तरी भेग नाम्खा गाउँपालिकाका किसानले कयौं दिनसम्म गाईवस्तु घरभित्रै थुनेर राखे । वस्तुभाउ चराउन नपाएपछि उनीहरूको दैनिकी झनै कष्टकर बनेको थियो । यता दक्षिण भेगमा भने हिउँदे बाली गौँ, जौँ, उवा, नाफल आदिलाई सिंचाई गर्नु नपरेपछि किसानहरू मख्ख परेको सर्केगाड गाउँपालिका रिपका जीवन शाहीले बताए ।  

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ। विशेषगरी अहिलेको हिउँले स्याउ बगैँचा फाइदा पुग्ने भएकाले स्याउमा आस्रित जुम्लाका झण्डै १७ हजार घरधुरी लाभान्वित हुनेछन्।

सर्कीदेउ स्याउ फर्मकी प्रोपाइटर जसु परियारले पछिल्लो समयको हुम्लामा भएको हिमपातले ‘स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ। बिरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ । यसले सिँचाई पहुँच नभएको ठाउँमा राहत पुग्छ,’ उनले भनिन ।

यो वर्षको पाँचै पटक सम्मको हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको उत्तरी नाम्खा गाउँपालिका लिमीका वडाअध्यक्ष पाल्जोर तामाङले  बताए । 

सात स्थानीय तह रहेको हुम्लाको हिमपातले अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर, माघ अन्तिममा परेको हिउँले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुसी भएका छन् ।

उच्च हिमाली जिल्ला हुम्लामा बिहीबार र शुक्रबार दुई दिनभरी हिमपात भएको थियो भने शनिबारदेखि मौसममा सुधार आएको छ । शनिबार बिहानदेखि मौसम सुधार आउँदा हुम्लाको सदरमुकाम सिमकोट सहितका आसपासमा क्षेत्र हिउँले सेताम्मे बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप