शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१३ प्रतिशतमा झर्‍यो संक्रमण दर

कूल जनसङ्ख्याको ७०.६ प्रतिशतलाई कम्तिमा एक मात्रा खोप
सोमबार, २४ माघ २०७८, १७ : ४९
सोमबार, २४ माघ २०७८

नेपालमा कोरोना भाइरसको संक्रमण दर निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । माघ ११ गते कोरोना परीक्षण गर्नेमध्ये करिब आधामा संक्रमण पुष्टि भइरहँदा सोमबार यो दर १३ प्रतिशतको आसपासमा पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण दर समग्रमा १३.८ प्रतिशत रहेको छ । यसमध्ये एन्टिजेन विधिबाट १३ प्रतिशत तथा पीसीआर विधिबाट १५.७ प्रतिशत रहेको छ । माघ ११ मा संक्रमणको समग्र दर ४६.३ प्रतिशत रहेको थियो । यसमा पीसीआरबाट ५२.१ प्रतिशत तथा एन्टिजेन विधिबाट ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको कोरोना परीक्षण गर्दा १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट १०२२ तथा एन्टिजेन विधिबाट ५४८ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ जिल्लामा सबैभन्दा बढी ३५० जनामा संक्रमण पुष्टि भएको छ । हाल काठमाडौँमा नै सबैभन्दा धेरै ९ हजार ३९६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा ७ हजार ३६ तथा भक्तपुरमा २ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् ।


हाल देशभर ४० हजार १११ जना सक्रिय संक्रमित रहेका छन् । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् । मनाङ भने संक्रमणमुक्त हुने एक्लो जिल्ला रहेको छ । सक्रिय संक्रमितमध्ये ३८ हजार ८८३ जना होम आइसोलेसनमा, १ हजार २२८ जना संस्थागत आइसोलेसनमा, २५५ जना आईसीयूमा तथा ४२ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त पनि भएका छन् । कूल संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ९४.६ प्रतिशत पुगेको छ । त्यस्तै, कोरोना संक्रमणबाट १३ जनाले ज्यान पनि गुमाएका छन् । हालसम्म ११ हजार ८२७ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.३ प्रतिशत रहेको छ ।

यही अवधिमा देशभर थप १ लाख ७८ हजार ५७९ जनाले खोप लगाएका छन् । हालसम्म ३ करोड ४० लाख ८४ हजार ८६८ डोज खोप लगाइसकिएको छ । यसमध्ये १ करोड ५६ लाख २८ हजार ५३३ जनाले पूर्ण मात्रा, १ करोड ७८ लाख २६ हजार ५९४ जनाले पहिलो मात्रा तथा ६ लाख २९ हजार ७४१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । कूल जनसंख्यामध्ये ७०.६ प्रतिशतले कम्तिमा एक मात्रा तथा ५३.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप