मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डले भने– केन्द्रीय समिति बैठक वस्तुवादी निर्णय गर्न सफल भयो

सोमबार, २३ फागुन २०७८, २० : ०६
सोमबार, २३ फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको सोमबार सम्पन्न बैठक वस्तुवादी निर्णय गर्न सफल भएको दाबी गरेका छन् । बैठक समापनका क्रममा सम्बोधन गर्दै उनले पार्टी एकता संकटमा पर्ने हो कि भन्ने चिन्ता बढिरहेको समयमा त्यस्तो चिन्ता अन्त्य गर्न सफल भएको दाबीसमेत गरे । 

पार्टी एकता सम्बन्धमा देखिएका समस्या, निर्वाचनका सम्बन्धमा देखिएका समस्या र एमसीसीसँग सम्बन्धित समस्यालाई व्यापक बहस, छलफल गरेर रचनात्मक र सिर्जनात्मक विकास गर्न बैठक सफल भएको उनले बताए । उनले भने, ‘यो भन्दा वस्तुवादी निर्णय अर्को सम्भव थिएन ।’ उनले माओवादी केन्द्रलाई विभाजन गर्न अनेक प्रयास भइरहेको सन्दर्भमा पार्टी एकता जोगाउन सबैले मेहनत गर्नुपर्ने बताए । पार्टीमा वैचारिक अस्पष्टता र दिग्भ्रम देखा परेका छन् र तिनलाई सच्याउन सकिन्छ भन्ने विश्वास महाधिवेशनमै व्यक्त भएको स्मरण गराउँदै उनले माओवादी केन्द्रले नै क्रान्तिकारी प्रवृत्तिलाई विकास गर्न सक्छ भन्ने निष्कर्षसमेत निकालिएको बताए । 

उनले माओवादी केन्द्रमाथि वैचारिक राजनीति र राजनीतिक मुद्दाका कारणले आक्रमण हुने गरेको पनि प्रस्ट पारे । यस अतिरिक्त माओवादी केन्द्र एउटा शक्तिका रुपमा स्थापित भइसकेका कारण पनि यसविरुद्ध आक्रमण हुने गरेको उनको भनाइ थियो । यी परिस्थितिलाई विश्लेषण गर्दै अब विभाजन हुनेतिर होइन, वैचारिक ढंगले अझ प्रस्ट पार्ने, अझ एकतावद्ध पार्ने हिसाबले यो विवादलाई सदुपयोग गर्नुपर्ने उनले बताए । 

उनले भने, ‘चुनाव केन्द्रित भएर गयौं भने देशको राजनीतिमा मुख्य भूमिका खेल्ने शक्ति बन्न सम्भव छ, आफूभित्रको शक्तिलाई हामीले बिर्सनु भएन ।’ एमसीसीबारे स्थानीय निर्वाचनपछि पार्टीमा बहस हुने र पदाधिकारी चयन लगायतका काम पनि आगामी जेठमा बस्ने बैठकले टुङ्गो लगाउने प्रस्ट पारे । 

यस्तै माओवादीले रसिया र युकेनबीच जारी युद्धको शान्तिपूर्ण निकास खोज्न पनि आग्रह गरेको छ । जारी युद्धमा संयमता अपनाउँदै दुबै पक्षलाई वार्ताको माध्यमबाट शान्तिपूर्ण निकास खोज्न माओवादीले आग्रह गरेको हो । माओवादीको शुक्रबारदेखि सुरु भएको माओवादीको बैठक विभिन्न निर्णय गर्दै सोमबार सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप