बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी अभियान तय गर्दै समाजवादीको बैठक सक्ने तयारी

बिहीबार, २६ फागुन २०७८, १० : ५२
बिहीबार, २६ फागुन २०७८

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी केन्द्रीय समिति बैठक एमसीसी अनुमोदन गर्नुपर्ने वाध्यताबारे प्रस्ट्याउँदै र आगामी चुनावी कार्ययोजना पारित गर्दै बिहीबार सक्ने तयारी छ । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउँदै बैठक बिहीबारै सकिने नेता मेटमणि चौधरीले जानकारी दिए । ‘छलफलमा उठेका निष्कर्ष सुनेपछि अध्यक्षले जवाफ दिएर बैठक आजै सकिन्छ’, नेता चौधरीको भनाइ छ ।  

बुधबार सुरु भएको सो पार्टीको बैठकमा अध्यक्ष नेपालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जसमा सात प्रदेशसहित नौ वटा समूहमा विभाजन गरेर प्रतिवेदनमाथि बुधबारबाटै छलफल भएको छ । नेता चौधरीकाअनुसार स्थायी कमिटी र पोलिटब्युरो सदस्य भने समूहगत छलफलमा सहभागी छैनन् । 

अध्यक्ष नेपालको प्रतिवेदनमा खासगरी एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यता, वर्तमान राजनीतिको विश्लेषण तथा आगामी चुनावबारे चर्चा गरिएको छ । सो पार्टीले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण पार्टी पंक्ति केन्द्रीत हुनेगरी कार्ययोजना बनाउने भएको छ । 

‘पार्टी अव चुनावकेन्द्रीत हुन्छ । पालिका लेवलमा अभियान चलाउनुपर्ने हुन्छ । त्यसका लागि आवश्यक संगठन विस्तारदेखि विभिन्न अभियानको सुरुवात हुन्छ’, चौधरीले रातोपाटीसँग भने, ‘केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुलाई त्यसको जिम्मेवारी दिइन्छ ।’

समाजवादीले आवश्यकताअनुसार माओवादी केन्द्र, काँग्रेस, जसपा र जनमोर्चासँग स्थानीय निर्वाचनमा ठाउँ हेरेर स्थानीय तहमै गठबन्धन गर्नेगरी सहकार्यको नीति बनाउने तयारी गरेको छ । ‘कतिपय स्थानमा हामी एक्लै पनि चुनाव जित्छौ, कतिपय स्थानमा गठबन्धन बनाएर पनि जानुपर्ने हुन्छ । त्यसका लागि कहाँ के गर्नुपर्ने हो त्यो रिपोर्ट जिल्ला र प्रदेश कमिटीलाई केन्द्रमा पेश गर्न निर्देशन हुन्छ’, चौधरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप