मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची  बाढीबाट भएको जोखिमबारे प्रतिवेदन प्रस्तुत

आइतबार, २९ फागुन २०७८, २० : ४४
आइतबार, २९ फागुन २०७८

मेलम्ची  बाढीबाट भएको जोखिम आकलन तथा पुनःनिर्माणसम्बन्धी अध्ययन प्रस्तुतीकरण तथा छलफल कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा भूगर्वविद् सहप्राध्यापक डा रञ्जनकुमार दाहालले अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्ययनले मेलम्ची तथा इन्द्रावती नदी तटीय क्षेत्रहरुमा तटबन्ध निर्माण गर्नुपर्ने ठाउँहरुका बारेमा बुझाएको थियो । विज्ञहरुले नदीको क्षेत्र कायम गर्ने विषयमा पनि सुझाव दिएका छन् । विज्ञको टोलीले तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी सातवर्षे योजनासमेत तयार पारेर नगरपालिकालाई बुझाएको छ । सोही योजनाअनुसार अहिले मेलम्ची नदीलाई गहिराएर नदी एकीकृत गरी व्यवस्थित बनाउने काम थालेको नगरपालिकाका प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

साथै हरियो, पहेँलो र रातो क्षेत्र छुट्याएर जोखिम नक्साङ्कन गरिएको छ । जसमा हरियो क्षेत्रमा आवासीय क्षेत्र, पहेँलोलाई खेतीयोग्य र रातोलाई स्थायी संरचना नबनाएर पार्किङ, बसपार्कलगायतका अस्थायी संरचना बनाउन सकिने प्रतिवेदनले बताएको छ । मेलम्ची क्षेत्रका तीनवटा स्थानलाई पक्की आवास क्षेत्रका रूपमा विकास गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । तालामाराङको भटार, मेलम्चीको माख्लो टार र बाहुनेपाटीको मध्यपहाडी क्षेत्रलाई बसोबास योग्य क्षेत्र बनाएर सहर विस्तार गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै खोला नियन्त्रणका लागि तालामाराङदेखि सिपाघाटसम्ममा जोखिम हेरेर संरक्षणका लागि खोला वारि र पारि गरी लागि नौ किलोमिटर लामो पर्खालको आवश्यकता रहेको जनाएको छ । 

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद् शेरबहादुर तामाङले नगरको मात्र स्रोतले यो सम्पूर्ण काम गर्न नसकिने भन्दै अन्तरराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेर केही वर्षभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । नगरप्रमुख डम्बर अर्यालले विज्ञको अवधारणाअनुसार बनेको नगरपालिकाको योजनामा संघीय सरकार र प्रदेश सरकारले कार्यान्वयनका लागि सहयोग गर्नपर्ने बताए । उनले योजना कार्यान्वयन गर्नका लागि समुदायको पनि साथ चाहिने हुनाले नगरपालिकाको काममा साथ दिन आग्रह गरे ।

उनले स्थानीय तहको चुनावको मिति घोषणा भइसकेको सन्दर्भमा अब आउने जनप्रतिनिधिले पनि नगरका यस्ता योजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै जनसमुदायले पनि झकझकाउनुपर्ने बताए । 

कार्यक्रममा स्थानीय प्रभावितहरुले नगरको योजना र यहाँका अवस्था बारेमा जिज्ञासा राखेका थिए । जिज्ञासाको विषय विज्ञहरुले जवाफ दिएको नगर सचिवालय अधिकृत इच्छाराम सापकोटाले जानकारी दिए । कार्यक्रममा उपप्रमुख भगवती नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन श्रेष्ठलगायतले योजना कार्यान्वय गर्नका लागि सबै मिलेर हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप