शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा मस्त पोखरा : मदिरा, मनोरञ्जन र मस्ती

मङ्गलबार, ०१ चैत २०७८, १३ : २४
मङ्गलबार, ०१ चैत २०७८

पोखरा नेपालको प्राकृतिक सौन्दर्यले भरिएको शहर हो । तर, पछिल्ला केही वर्षयता पोखराको परिचयमा भौतिक सौन्दर्य र मनोरञ्जनको शहरको परिचय पनि थपिएको छ ।  सुरुका दिनमा पातले छाँगो, फेवाताल, रुपा, बेगनासताल, माछापुच्छ्रेको सौन्दर्यले सबैलाई मोहित बनाउने पोखरामा हिजो आज धेरै कुरा नयाँ देख्न सकिन्छ । 

हात आकृति, केबुलकार, फेवाताल नजिकैका अन्य मानव निर्मित संरचनाहरूले यहाँ आउने बाह्य तथा स्वदेशी पाहुनाहरूको ध्यान खिचेको देखिन्छ ।  तालवाराही, विन्दावासिनी, गुप्तेश्वर महादेव, शान्ति स्तूपा, शिवको मूर्तिले चाहिँ धार्मिक पर्यटकहरूलाई खुसी थपिदिएको छ । 

अल्ट्रा फ्लाइट, प्याराग्लाइडिङ जस्ता साहसिक खेलहरूले त झन् पर्यटकहरूमा नयाँ उर्जा सञ्चार हुने व्यवसायीहरु बताउँछन् ।  हिमाल र ताल हेर्ने बाहेक अन्य कुरामा पनि पोखरा आउने पाहुनाको ध्यान खिचेर बसाइ लम्ब्याउने काममा यहाँका पर्यटन व्यवसायी लागेका छन् । 

होटल संघ पोखरा (हान) का अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखराको ड्याम , लेकसाइड गरेर ७ सय होटल तथा रेष्टुरेण्ट सञ्चालित छन् ।  संघमा आवद्धको संख्या ४ सय २५ रहेको छ । कोरोनाभन्दा अगाडि यहाँ १५ हजार मानिस रोजगार थिए । 

कोरोनापछिका पर्यटकहरूलाई पोखरामा बसाई लम्ब्याउने र सुविधा दिने हिसावले २० देखि ५० प्रतिशतसम्म छुट गरिएको सुवेदीले जानकारी दिए । ती कुरा होटल व्यवसायी आफैंले र संघको समन्वयमा भएको छ । 

मध्यरातमा मस्त 
केही वर्षयता पोखराको परिचयमा अर्को एउटा अध्याय थपिएको छ । मध्यरातमा मस्त हुन्छ पोखरा । जसमा धेरै कुराहरु देख्न सकिन्छ । त्यसबेला पर्यटकहरु आफ्नो रुचि अनुसारका गतिविधिमा भाग लिन सक्दछन् ।  जब साँझ पर्दै जान्छ, फेवाताल वरिपरि (लेकसाइड) मा धेरै मानिसहरुको उपस्थिति रहन्छ । धार्मिक मानिसहरु तालवाराही  मन्दिर सामुन्ने हुने सन्ध्या आरतीमा सहभागी हुन्छन् । 

संगीतका पारखीहरुलाई भने लाइभ म्युजिकले ध्यान खिचेको देखिन्छ । फेवाताल वरपर र नजिकै रहेका डान्स बार, क्लबहरूमा युवायुवतीको बाक्लो उपस्थिति हुन्छ ।  दोहोरी र लोक संगीतमा रमाउनेहरू लोक दोहोरीतिर छिरेर नाच्न थाल्छन् । खानपिनका सोखिनहरुका लागि फेवाताल वरपर पानी पुरी, चटपटेदेखि मदिरा र मासुका परिकार बन्दै गरेको देखिन्छ । 

जब रात पर्दै जान्छ, लेकसाइड आसपासका सडक वस्तीका दृश्यहरु रोमाञ्चक देख्न सकिन्छ । मध्यरातदेखि बिहान २ बजेसम्म पनि यहाँ युवा–युवती माया प्रेममा बाँधिएको देख्न सकिन्छ ।  नेपाली पर्यटक मात्रै नभएर भारत, चीन, युरोप र अमेरिका लगायतका देशबाट आएको पर्यटकहरु पनि पोखराको सौन्दर्यमा रमाइरहेका देखिन्छन् । 

सडक कुना, भान्साघर, रेष्टुरेण्टका टेबुलमा मात्र नभएर फेवातालका किनारमा यौनका लागि बार्गेनिङ भइरहेका दृष्य देखिन्छन् । एक स्थानीयवासीले भने, ‘रमाउन चाहाने र पैसा खर्च गर्न सक्नेका लागि यो एउटा मस्तीको शहर हो ।’ मदिराको नशामा झुमेकाहरूको झगडाले समेत रातमा कहिलेकाहीँ अशान्ति मच्चिने गरेको छ । 

होटल संघका अध्यक्ष सुवेदीका अनुसार आफ्नो रुचीले पोखरा आएर रमाउन चाहाने पर्यटकहरुको सुरक्षा गर्नु व्यवसायीको दायित्व हो ।  उनले भने, ‘पोखरामा आउने पाहुनाले चाहेको समयमा घुम्न र रमाउन सक्ने वातावरण स्थानीय प्रशासनले बनाउनुपर्दछ ।’

पोखरा पुग्ने पर्यटकहरुले आफ्नो रुचि अनुसारका होटलमा बास बस्छ सक्दछन् । यहाँ न्यूनतम १ हजारदेखि १० हजार रुपैयाँसम्म र स्तरअनुसार फरक मूल्य भएका होटलहरु छन् ।  पोखराबाट काठमाडौं बाहेक सिमरा, नेपालगञ्ज, भरतपुरलगायतका स्थानमा हवाइ उडान सुरु भइसकेको छ । काठमाडौं, चितवनबाट टुरिष्ट बसमा पनि पोखरा जान सकिन्छ । काठमाडौंबाट पोखरा बसमार्फत जान ५ सयदेखि १ हजारसम्म भाडा लाग्छ । काठमाडौं पोखरा हवाई भाडा केही दिन पहिलेनै बुकिङ गर्न सके २५ सय देखि ३५ सयसम्म पर्दछ । 

नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने 
नेपाली नयाँ वर्षलाई लक्षित गरेर चैत ३० र २०७९ बैशाख १ गते दुई दिने सडक महोत्सव हुने अध्यक्ष सुवेदीले जानकारी दिए । जहाँ स्थानीय खानाका स्टलका साथै सांस्कृतिक झाँकीहरू हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप