शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमाको प्रतिबन्ध झेलिरहेको रुससँग सस्तोमा कच्चा तेल किन्ने तयारीमा भारत

भारतसम्म नै ल्याइदिने रुसको प्रस्ताव, रुबल र भारूमा भुक्तानी
शनिबार, ०५ चैत २०७८, १३ : १५
शनिबार, ०५ चैत २०७८

अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धनको प्रतिबन्ध झेलिरहेको रुसले भारतलाई सस्तो दाममा कच्चा पदार्थ किन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थ खपत गर्नेमा विश्वकै सबैभन्दा ठूलो मध्येको एक मुलुक भारतलाई सस्तो मूल्यमै कच्चा तेल किन्न रुसले प्रस्ताव गरेको हो । सञ्चारमाध्यमहरूका अनुसार विश्व बजारमा कायम मूल्यभन्दा रुसले भारतलाई प्रति ब्यारेल २० देखि २५ डलर सस्तो दाममा कच्चा तेल बेच्नेछ । यसरी रुसले बेचेको कच्चा तेल भारतीय बन्दरगाहसम्म  आफैँ ढुवानी समेत गरिदिने र इन्स्योरेन्स रकम समेत स्वयं तिर्ने छ ।

यतिबेला भारत रुसको प्रस्तावलाई गम्भीर रूपमा सोचिरहेको छ । यदि भारतले रुसको यो प्रस्ताव स्वीकारेमा सस्तो दाममै कच्चा तेल पाउनेछ । आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०७ अमेरिकी डलर छ । यो मूल्यभन्दा २० देखि २५ डलर सस्तोमा रुसले तेल बेच्न प्रस्ताव गरेको हो ।

दुई मुलुकबीच कच्चा तेल किन्न सम्झौता सम्पन्न भएमा भारतीय रुपैयाँ र रसियन मुद्रा रुबलमै भुक्तानी हुनेछ । अमेरिकी गठबन्धनले रुसलाई डलर भुक्तानी प्रणाली स्वीफ्टबाट बाहिर निकालिसकेको छ । सोहीकारण, डलरबाट भुक्तानी सम्भव नहुँदा भारू र रुबलमै भुक्तानी गर्नुपर्छ ।

भारतले आफ्नै मुद्रा तिरेर रुससँग कच्चा तेल किन्दा अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बन्छ । भारतको डलरसँगको निर्भरता केही हदसम्म घट्ने भएकाले भारूको बिनिमयदर बढ्ने र अमेरिकी डलर कमजोर बन्न बताइएको छ । डलरको तुलनामा भारू बलियो हुँदा नेपाली मुद्रालाई समेत फाइदा गर्छ ।

रुसले युक्रेनमाथि सैन्य हमला सुरू गरेयता पेट्रोलियम पदार्थको मूल्य दिनदिनै बढिरहेको छ । यसबीचमा दबाब दिन पश्चिमा मुलुकले तेल रुसबाट तेल आयात कटौती गरिरहेका छन् । बेलायतले सन् २०२३ सम्म रुसबाट तेल नकिन्ने घोषणा यसअघि नै गरिसकेको छ । यस्तै, अन्य युरोपियन मुलुकले पनि रुसबाट हुने तेल आयात घटाउने घोषणा गर्दैछन् ।

विश्वको तेस्रो ठूलो उत्पादक र दोस्रो ठूलो निर्यातक मुलुक रुसले आफ्नो प्रमुख बजार युरोपको बिक्री घटेपछि तेलका अन्य ग्राहक खोजिरहेको छ । नयाँ ग्राहकको खोजीमा रहेको रुसले छिमेकी मुलुक चीन र मित्र राष्ट्र भारतलाई प्राथमिकतामा राखेको बताइन्छ । किनकी, यी दुई मुलुकमा खपत हुने पेट्रोलियम पदार्थ पूर्णरूपमा परनिर्भर छन् । यस्तै, यी दुई मुलुक विश्वकै ठूला मध्यका पेट्रोलियम खपत कर्ता हुन् ।

भारतले गत वर्ष सन् २०२१ मा विदेशी मुलुकबाट १७६ मिलियन टन कच्चा तेल किनेको सरकारी आँकडा छ । यो कोरोना महामारीका कारण देशव्यापी लकडाउनका कारणले पेट्रोलियम पदार्थको खपत घटे पछिको हो । यसअघि, सन् २०२० मा भारतले १९६ मिलियन टन कच्चा तेल आयात गरेको थियो । यस्तै, सन् २०१९ मा २२७ मिलियन टन र २०१८ मा २२६ मिलियन टन कच्चा तेल आयात गरेको आँकडा छ ।

भारत वर्षेनी खपत हुने सयौं मिलियन टनभन्दा बढी पेट्रोलियम पदार्थमध्ये ८५ प्रतिशतभन्दा धेरै आयातमा निर्भर छ । बाँकी १५ प्रतिशत कच्चा तेल मात्रै भारतमा उत्पादन हुन्छ । भारतले आयातित कुल तेलमध्ये ६० प्रतिशत तेल खाडी मुलुकबाट किन्दै आएको छ । भारतले सबैभन्दा धेरै तेल साउदी अरब र अमेरिकासँग किन्छ ।

यस्तै, इराक, इरान, ओमान, कुवेत र रुसबाट पनि केही मात्रामा खुला बजारका आधारमा तेल किन्दै आएको छ । यसैगरी, कतार, संयुक्त अरब इमिरेट्सबाट समेत तेल उठाउँदै आएको छ । हाल रुसबाट आयात हुनेमध्ये जम्मा २ प्रतिशत मात्रै कच्चा तेल किन्दै आएको छ । जबकी, रुसको कच्चा तेल उद्योगमा भारतले १६ अर्ब डलरभन्दा धेरै लगानी गरेको छ ।

तर, पछिल्लो प्रस्ताव स्वीकारेमा सम्भवत भारतको सबैभन्दा ठूलो तेल साझेदार रुस बन्न सक्छ । किनकी उसले अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यभन्दा सस्तोमा तेल बेचेर भारतीय बन्दरगाहसम्म ल्याइदिनेछ ।

एजेन्सीहरूको सहयोगमा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप