आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सक्रिय रुपमा निर्वाचनमा लाग्न कार्यकर्तालाई सिंहको निर्देशन

सोमबार, ०७ चैत २०७८, १७ : ५७
सोमबार, ०७ चैत २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनताको मन जित्न सक्रिय रुपमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले सोमबार हेटौंडामा नेपाली काँग्रेस बागमती प्रदेशको तोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै आगामी निर्वाचनलाई लक्षित गरेर कार्यकर्ताहरु सक्रिय रुपमा गाउँ–गाउँमा पुग्नुपर्ने बताएका हुन् ।

उनले काँग्रेसले व्यापक रुपमा कार्यकर्ताहरु परिचालन गरी काँग्रेसको नीति र एजेण्डा आम नागरिकहरु समक्ष पु¥याउनुपर्ने धारणा व्यक्त गरे । उनले काँग्रेस आफूले लिएका निर्णयहरूमा सदैव अडिग रहेर देश र जनताको पक्षमा वकालत गर्ने पार्टी भएको उनले बताए ।

‘काँग्रेस यस्तो पार्टी हो जसले देश र जनताको पक्षमा सदैव हित गर्दै आएको छ । आफ्नो नीति, विधि, पद्धति र एजेण्डामा काँग्रेस सदैव अडिग रहेको छ । हालै मात्र एमसीसीको विषयमा तपाई हामी देख्न सक्छौं । सरकारमा नै रहेका दलहरुले विरोध गरे । आफै ठिक छ ल्याउनुपर्छ भनेर क्याविनेटमा पठाउने अनि आफै संसद् र सदनमा विरोध गर्ने । जनतामा भ्रम छर्ने । अर्को एउटा पार्टी छ । जो जटिल अवस्थामा संविधान माथि नै प्रहार गर्छ । देह संकटमा पुर्याउँछ अनि मौन बस्छ । तर, काँग्रेस देश र जनताको हित गर्ने पार्टी भएकाले आफ्नो एजेण्डा र निर्णयमा अडिग रहन्छ र सफलता दिन्छ । एमसीसीमा विषयमा भ्रम छरिए तर त्यो राष्ट्रको हितमा छ । अन्य दलको राजनीतिक स्वार्थका कारण यसलाई विवादित बनाइयो ।’ उनले भने ।

उनले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुख–दुः खमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गर्न सकेमात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताए ।

‘स्थानीय निर्वाचन नजिकिएको छ । हामी जनताको घर आँगनमा पुग्न सकेका छौँ कि छैनौँ ?, म राम्रो उम्मेदवार हुँ मैले जितिहाल्छु भनेर बसेर हुँदैन है, जनताको बीचमा पुग्न सक्नुपर्छ । उनीहरुको अवस्था कस्तो छ ?, जनहितमा पार्टीले के गर्न सक्छ ?, जनताको हामीप्रति असन्तुष्टिहरू छन् कि ? काँग्रेसले सुधार्नुपर्ने पो केही छ कि ? यी सबै विषयमा गम्भीर हुनु आवश्यक छ ।’ सिंहले भने ।

उनले सरकारले निर्वाचनको मिति तय गरिसकेको अवस्थामा पनि केहीमा अझै चुनाव हुँदैन कि भन्ने भ्रम फैलाउने तत्वहरुको पछि लागेर शंका नगर्न आग्रह गरे । ‘सरकारले निर्वाचनको मिति तोकिसकेको छ । निष्पक्ष ढंगबाट निर्वाचन गराउन सरकार तयारी अवस्थामा छ । तर, केही मानिसहरुमा निर्वाचन तोकिएर मतदान हुने अवस्थासम्म आइपुग्दा पनि निर्वाचन हुँदैन भन्ने भ्रम छर्दैछन् । यसमा शंका नगर्न आम कार्यकर्तामा आग्रह गर्दछु । हामी विधि र प्रक्रियाअनुसार चल्ने पार्टी हौँ, चुनाव हुन्छ’ उनले भने ।

उनले चुनावी गठबन्धनको विषयमा भने विभिन्न स्तरबाट केन्द्रीय सम्पादन समितिले सुझाव संकलन गरिरहेको र सोही आधारमा एउटा निष्कर्षमा पुगिने स्पष्ट पारे । ‘धेरै सुझावहरु आएका छन्, कसैले निर्वाचनमा एक्लै जानुपर्छ भन्नुभएको छ, केहीले गठबन्धन नगरी हुँदैन भन्नुभएको छ । पार्टीको आन्तरिक सुझाव अनुसार नै अघि बढ्ने हो । गठबन्धन हुने नहुने वा आवश्यकता अनुसार हुने भन्ने विषय केही दिनभित्रै केन्द्रीय कार्यसम्पादन समितिले टुंगोमा पुर्याउँछ,’ सिंहले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप