बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फामा दोस्रो कार्यकालको तयारीमा कर्मा र पंकज

चुनावको माहोलले एनएसएल र एन्फा प्रेसिडेन्ट कप ओझेलमा
शुक्रबार, ११ चैत २०७८, १५ : १३
शुक्रबार, ११ चैत २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यकाल सकिन अब करिव दुई महिना बाँकी छ । एन्फाले जेठ १५ गते चुनावको मिति घोषणा गरेसँगै एन्फामा उनको चार वर्षे कार्यकाल सकिन लागेको हो । आफ्नो चार वर्षे कार्यकालमा शेर्पा सन्तुष्ट छैनन् । आफूले गर्न चाहेका धेरै काम बाँकी रहेको उनको भनाइ छ । उसो त दुई वर्षको कोरोना महामारीले पनि उनलाई आफ्नो कार्यकालमा हुन खोजेका धेरै काम अधुरा रहे भन्ने बहाना पनि छ । यसरी हेर्दा एन्फामा शेर्पाले दोस्रो कार्यकालको पनि तयारी गरेको देखिन्छ । पहिलो कार्यकालमा आफूले बाचा गरेका सबै कार्य पूरा नगरेका शेर्पा दोस्रो कार्यकालमा समेट्ने योजनामा देखिन्छन् ।

त्यसैले त उनको आवाज दोस्रो कार्यकालका लागि देखिन्छ । तर अघिल्लो चुनावमा जस्तो अहिले शेर्पालाई सहज छैन । एन्फा भित्रको दुईधारे राजनीतिलाई झेल्दै आइरहेका शेर्पालाई अर्काे पक्षले सहजै छोड्नेवाला छैन । एन्फाभित्र अहिले अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको टकराव छर्लङ्ङ देखिन्छ ।

एन्फामा पटक–पटक कार्यसमितिको बैठकमा पनि एकल निर्णय गरेको भन्दै विवाद आउने गर्छ । तर, अध्यक्ष शेर्पा यस्तो खाले अभिव्यक्तिले सकरात्मक काम गर्ने उर्जा प्रदान हुने बताउँछन् । ‘मैले केही गल्ती गरेको भए प्रमाण जुटाउन सकुन्, म कारबाहीको भागेदार हुनेछु । नत्र मेरो राम्रो काम देखेर नकारात्मक टिप्पणी गर्दा मलाई झनै राम्रो काम गर्ने उर्जा आउँछ,’ शेर्पाले भने ।

कोरोना महामारीको समयमा पनि आफूले नेपाली फुटबललाई चलायमान बनाएनाएको उनको दावी छ । कोरोनाको दोस्रो लहर चलिरहेको समयमा नै नेपालले स्वास्थ्य मापडण्ड अपनाएर बंगलादेश र किर्गीस्थानसँग फुटबल खेलेको थियो ।

नयाँ कार्यकालबारे शेर्पाको मत

एन्फाको नयाँ कार्यसमितिका लागि आगामी जेठ १५ गते चुनावको मिति तोकिएको छ । त्यसका लागि अहिलेदेखि नै एन्फामा चुनावी माहोल तातिएको छ । एन्फाको नयाँ अध्यक्षका लागि दुई जनाको दाबेदारी देखिन्छ । एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ र अध्यक्ष शेर्पा । नेम्वाङ पक्ष अहिलेदेखि नै चुनावका लागि अग्रसरता देखाइरहेको छ भने अध्यक्ष शेर्पा पदमा रहेकै कारण बाहिरी रुपमा प्रस्तुत भएका छैनन् ।

यद्यपी शेर्पा अर्काे कार्यकालका लागि तयारीमा छन् । जुन दिन उनको कार्यकाल सकिनेछ र चुनावको मिति नजिकिने छ, उनी आफै खुलेर आउनेछन् । आफूले गर्न खोजेका काम अझै बाँकी छन् भन्नु हुन्छ । के नयाँ कार्यकालका लागि तयारी हो ? भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘मैले अहिले नै नयाँ कार्यकालका लागि तयारी गरेको छु भन्न सक्दिन । चुनावको समय अझै बाँकी छ । मैले गर्न पनि धेरै काम बाँकी छ । साथीहरूसँगको छलफलपछि मात्र नयाँ कार्यकालका लागि चुनावमा जाने नजाने भन्ने कुरा टुङ्गो लाग्नेछ ।’ साथै शेर्पाले चुनावका लागि मात्र भनेर कुनै पनि काम हतारमा नगर्ने बताएका छन् ।

एनएसएल विवाद

पछिल्लो समय चर्चामा रहेको एनएसएललाई गोल्डकपको मान्यता दिएको बिषयमा जनाउँदै अध्यक्ष शेर्पाले आफूहरुले नामको मात्र स्वीकृति दिएको बताए । प्रतियोगिताको नामलाई स्वीकृति दिने काम एन्फाको भएकाले उसले प्रतियोगिता कुन विधिबाट खेलाउँछ भन्ने कुरा उसको टपिक भएको बताउँछन् । ‘हामीले एनएसएल प्रतियोगितालाई मान्यता दिएका हौं । प्रतियोगिता कुन हिसावले चल्छ भन्ने विषयमा हामीलाई सरोकार छैन । गोल्डकपको मान्यता दिएका छौं भनेर हामीले कहिले भनेका छैनौं,’ शेर्पाले भने ।

साथै शेर्पाले एनएसएल र ए डिभिजन लिग क्लबबीचको विवाद समाधान भइसकेको बताए । क्लबहरुबीच आफैमा सहमति हुने सहमतिसँगै प्रतियोगिताका लागि मिति दिएर पठाएको जानकारी दिए । तर, बिहीबार मात्र एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलका १० क्लबहरुले निर्धारित मितिमा एनएसएल गर्न नसक्ने भन्दै विज्ञप्ति निकालेका थिए ।

राष्ट्रिय लिग हुन केही समय लाग्ने

एन्फाले एन्फा प्रेसिडेन्ट कपका शीर्ष चार र ए डिभिजन लिगका शीर्ष छ क्लबले राष्ट्रिय लिग खेल्ने अवधारणा बनायो । सोहीअनुसार गत चैतमा नेपालगञ्जमा प्रेसिडेन्ट कप पनि सम्पन्न भयो । २०७८ को लिग सुरु गर्नुअघि राष्ट्रिय लिग र ए डिभिजन लिग सँगसँगै गर्ने एन्फाले बताएको थियो । त्यतिबेला क्लबहरुले प्राविधिक कठिनाइ देखाउँदै खेल्न मानेनन् । अहिले एन्फालाई चुनाव लागिसकेको छ । एन्फाले प्रेसिडेन्ट कपका शीर्ष चार क्लबलाई मताधिकार दिएको छ । सोही मतअधिकारका पाउँदा उनीहरु राष्ट्रिय लिगको विषयमा बोल्दैनन् ।

नयाँ खेलाडी उत्पादन गरेर स्थानीय क्लब र खेलाडीलाई एन्फा प्रेसिडेन्ट कपको माध्यमबाट केन्द्रसम्म डोर्याउने  एन्फाको अवधारणा थियो ।  तर, परिणाम अर्कै आएको छ । स्थानीय खेलाडी र क्लब खेलका लागि नभई भोट हाल्नका लागि केन्द्रमा आउने भएका छन् । प्रेसिडेन्ट कपका चार शीर्ष क्लबलाई एन्फाले मताधिकार दिएको छ ।

‘राष्ट्रिय लिग खेलाउन हामीले खोजेका हौं । तर, क्लबहरुले नै तयारीका लागि समय मागेपछि हामीले केही समय लगाएका हौं । राष्ट्रिय लिग हुन्छ तर, समय मात्र हेरफेर गर्नुपर्ने अवस्था छ । मताधिकार दिएका कारण क्लबहरु चुप बसेका होइनन्,’ शेर्पाले भने ।

नेपालगञ्जमा आयोजना भएको एन्फा प्रेसिडेन्ट कपमा धनगढीको स्टार सिटी च्याम्पियन बन्यो । उपाधि विजेता स्टार सिटीसँगै, लुम्बिनी प्रदेशको धम्बोझी, रौटहटको मनकामना युवा क्लब र गण्डकी प्रदेशको त्रिवेणी क्लब राष्ट्रिय लिगका लागि छनोट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप