बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ सक्दैनौँ, त्यहाँ स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्छौँ : नैनसिंह महर

आइतबार, १३ चैत २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस स्थानीय आवश्यकता आधारमा गठबन्धन गर्ने तयारीमा रहेको बताएका छन् । विशेष गरेर काँग्रेसभित्र स्थानीय तहको निर्वाचनका लागि एक्लै अघि बढ्ने कि गठबन्धन गरेर जाने भन्ने विषयमा मतभेद कायम रहेको बेला नेता महरले यस्तो बताएका हुन् । 

रातोपाटीसँगको विशेष कुराकानीमा नेता महरले पार्टीभित्र चुनावी गठबन्धनका बारेमा मदभेत रहेपनि ‘सिट एडजस्टमेन्ट’ का आधारमा अथवा स्थानीय आवश्यकता आधारमा चुनावी गठबन्धन गर्ने तयारीमा पार्टी रहेको बताए । ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानका लागि जिल्ला जिल्लामा खटिएका प्रतिनिधिहरूको अहिलेसम्मको रिपोर्टिङलाई आधारमान्दा स्थानीय आवश्यकताका आधारमा चुनावी गठबन्धनको तयारी भइरहेको महरको भनाइ छ । नेता महरले देशका थुप्रै ठाउँमा निर्वाचन जित्न चुनौती रहेकाले पनि पार्टीलाई गठबन्धनको आवश्यकता रहने औँल्याए । 

शनिबार मात्र एउटा कार्यक्रममा काँग्रेस सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डले हार्ने चुनाव नलड्ने भएकाले काँग्रेससँग नभए भोलि एमालेसँग मिलेर भए पनि चुनावमा जान सक्ने बताउँदै अहिलेको अवस्थामा गठबन्धन आवश्यक रहेको जिकिर गरेका थिए । देउवाले प्रचण्डको भर नभएकाले पनि काँग्रेसले निर्वाचनमा गठबन्धन गर्नै पर्ने र त्यसको विरोध गर्न नहुने तर्क राखेको थिए । 

यही प्रसङ्गमा माओवादी अध्यक्षसँगको अविश्वाससँगै गठबन्धनको आवश्यकता किन ? भन्ने प्रश्नमा नेता महरले भने, ‘हिजोको निर्वाचनमा एमाले र माओवादी बीचको गठबन्धन र, गठबन्धनको रिजल्टले बनेको गठबन्धन सरकारले देशको प्रजातान्त्रिक आधारमाथि धावा बोल्यो, पूर्वप्रधानमन्त्री तथा अहिलेका एमाले अध्यक्षले जसरी संसद् नै भंग गरेर संविधान नै च्यात्ने प्रयत्न गर्नुभयो त्यसबाट नेपाली जनता झस्किए । लोकतन्त्रप्रेमी जनता झनै झस्किए । यसबाट नेपाली काँग्रेसले पनि चोट खाएको छ ।’

नेता महरले थपे, ‘यसकारण पहिलो कुरा नेपाली काँग्रेस भित्रकै गठबन्धन बलियो बनाउने, हामी भित्रकै एकता बलियो बनाउँदै अरूसँगको एकतासम्म पुग्ने हो । त्यसैका लागि हाम्रो केन्द्रीय कार्यसमितिको छलफल केन्द्रित छ । यो बैठकले चुनावी गठबन्धनको मोडेल पनि पक्कै दिने छ ।’

उनले सभापति देउवाको भनाइलाई बचाऊ गर्दै भने, ‘जुन अवस्था र वस्तुस्थितिमा गठबन्धन निर्माण भएको छ, त्यो कुरालाई पनि हेरिनुपर्छ भन्ने पार्टी सभापतिको भनाइ होला ।  उहाँको यो चासो र चिन्ता भनेको काँग्रेसलाई बलियो बनाउने हो । काँग्रेसलाई सरकारमा पुर्‍याएर केन्द्रदेखि स्थानीय निकायसम्म राम्रो काम गरेर देखाउने विषय नै हो ।’

नेता महरले माओवादीसँगको अविश्वास उतिकै रहेकोप्रति सङ्केत गर्दै थपे, ‘हिजोका केही तीता अनुभूतिहरू पनि छन् । हामीले धोका पाएका अनुभूतिहरू पनि छन् । यी हाम्रो समीक्षाका विषय हुन् । तर, स्थानीय आवश्यकता अनुसार, जहाँ चल्दै चल्दैन, हामी सक्दै सक्दैनौँ त्यहाँ नसक्ने बाटो रोज्नु भन्दा आवश्यकता आधारमा गठबन्धनलाई लिएर अघि बढ्नुपर्छ भन्ने करिब–करिब सबैको आवाज हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया