बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु

बुधबार, ०६ साउन २०८३, १५ : ५५
बुधबार, ०६ साउन २०८३

सारांश

  • दक्षिण भारतीय सुपरस्टार विजय थलापतिको बहुप्रतीक्षित चलचित्र 'जन नायकन' ले प्रदर्शनअघि नै अग्रिम टिकट बुकिङमार्फत २० करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ ।
  • चलचित्रको अग्रिम बुकिङमा तमिल संस्करणको दबदबा देखिएको छ, जसमा तमिलनाडुबाट सबैभन्दा धेरै टिकट बिक्री भएका छन् ।
  • विजय थलापतिको यो अन्तिम चलचित्र भएकाले दर्शकहरूको विशेष आकर्षण छ र जुलाई २३ देखि विश्वभर प्रदर्शन हुँदैछ ।

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार विजय थलापतिको बहुप्रतीक्षित चलचित्र 'जन नायकन’ ले प्रदर्शनअघि नै बक्स अफिसमा उत्कृष्ट सुरुआत गरेको छ ।

समाचार अनुसार रिलिज भन्दा एक दिनअघि फिल्मले अग्रिम टिकट बुकिङमार्फत नै २० करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ । यसमा ब्लक सिटसमेत समावेश छन् । ब्लक सिटको बिक्रीलाई हटाएर हेर्दा पनि चलचित्रले करिब १४ करोड भारतीय रुपैयाँ बराबरको टिकट बिक्री गरिसकेको छ ।

चलचित्रको अग्रिम बुकिङमा तमिल संस्करणको दबदबा देखिएको छ। सबैभन्दा धेरै टिकट तमिलनाडुबाट बिक्री भएका छन् । यहाँ मात्रै करिब ७ करोड ९० लाख भारतीय रुपैयाँ बराबरको अग्रिम बुकिङ भएको छ । त्यसपछि कर्नाटक दोस्रो स्थानमा छ । यहाँ करिब ६ करोड ३ लाख भारतीय रुपैयाँको टिकट बिक्री भएको छ । खास गरेर बेङ्गलुरुमा दर्शकहरूको उत्साह निकै उच्च देखिएको छ । केरलबाट पनि करिब १ करोड ९१ लाख भारतीय रुपैयाँको अग्रिम बुकिङ भएको छ ।

सहरको हिसाबले हेर्दा बेङ्गलुरु सबैभन्दा अगाडि रहेको छ, जहाँबाट मात्रै करिब ५ करोड ९९ लाख भारतीय रुपैयाँ बराबरको टिकट बिक्री भएको छ। त्यसपछि चेन्नई, कोयम्बटुर, हैदराबाद, मदुरै, कोच्ची र तिरुवनन्तपुरमलगायतका सहरबाट पनि उल्लेखनीय बुकिङ भएको छ । भाषागत रूपमा तमिल संस्करणले सबैभन्दा बढी व्यापार गरेको छ । तमिल संस्करणबाट मात्रै १४ करोड भारतीय रुपैयाँभन्दा बढीको टिकट बिक्री भएको छ । तेलुगु संस्करणले पनि राम्रो प्रतिक्रिया पाएको छ भने हिन्दी संस्करणको अग्रिम बुकिङ अपेक्षाकृत कम रहेको छ। अधिकांश टिकट २डी प्रदर्शनका लागि बिक्री भएका छन् भने प्रिमियम फम्र्याटको योगदान न्यून रहेको बताइएको छ ।

व्यापार विश्लेषकहरूका अनुसार ‘जन नायकन’ले विजयका अघिल्ला चलचित्र ‘लियो’ र ‘गोट’को अग्रिम बुकिङको रेकर्ड भने अहिलेसम्म पार गर्न सकेको छैन । तर प्रदर्शनको समय नजिकिँदै जाँदा टिकट बिक्री अझ बढ्ने अपेक्षा गरिएको छ । यस चलचित्रप्रति दर्शकहरूको विशेष आकर्षण हुनुको अर्को कारण यो विजय थलापतिको चलचित्र करियरको अन्तिम चलचित्र मानिनु हो । करिब ३३ वर्ष लामो अभिनय यात्रापछि उनले पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने घोषणा गरिसकेका छन् । त्यसैले उनका प्रशंसकहरूले ‘जन नायकन’ लाई ठूलो पर्दामा उनको विदाइ चलचित्रका रूपमा हेरिरहेका छन् ।

एच. विनोथको निर्देशनमा बनेको यस चलचित्रमा विजयसँगै पूजा हेगडे, बबी देओल, ममिता बैजू, प्रकाश राज, गौतम वासुदेव मेनन, प्रियामणि, नारायण र नासरको अभिनय रहेको छ । सुरुमा जनवरीमा प्रदर्शन गर्ने योजना रहे पनि विभिन्न कारणले यसको प्रदर्शन मिति सारिएको थियो । अब चलचित्र जुलाई २३ देखि विश्वभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ । उत्कृष्ट अग्रिम बुकिङका कारण चलचित्रले पहिलो दिन नै बक्स अफिसमा बलियो ओपनिङ गर्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप