बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रेल सञ्चालन हुने भएपछि नेपाल रेल्वेका कर्मचारी उत्साहित

भारत पुगेर रेल चढेको अनुभव सँगालेका युवक जनकपुर स्टेशनमा ‘टिकट सेलर’
शुक्रबार, १८ चैत २०७८, २१ : २९
शुक्रबार, १८ चैत २०७८

-पवन यादव

नेपाल रेल्वे कम्पनी जनकपुर स्टेशनका टिकट सेलर विवेकानन्द यादवले अहिलेसम्म चार पटकमात्र रेल चढेका छन् । त्यो पनि नेपालमा होइन, भारतको दरभंगा पुगेर । भारतको तीर्थस्थल घुम्न जाने क्रममा रेल चढ्न पाएको उनले सुनाए । ‘मलाई रेल सम्बन्धमा सानैदेखि चासो थियो,’ उनले भने, ‘बुढापाकाबाट रेलको कथा सुन्दै आएको थिएँ ।’

अरुले कटाइदिएको टिकटमा अहिलेसम्म यात्रा गरेका उनी अब नेपाल रेलवे कम्पनीको कर्मचारी बनेर रेलको टिकट काट्ने जिम्मेवारीमा छन् ।

त्यसो त, जनकपुर–जयनगर रुटमा पहिला पनि रेल सञ्चालन नभएको होइन । तर उक्त रेलमा यात्रा गर्ने अवसर विवेकानन्द यादवलाई मिलेन । कुनै बेला उनलाई रेलको कुरा कथा झैं लाग्ने गर्थ्यो । अहिले रेलकै लाइनमा काम गर्न पाउँदा खुशी र उत्साहित भएको उनले सुनाए । निकै व्यस्तताका बाबजुद शुक्रबार रातोपाटीसँग कुराकानी गर्दै उनले आफूजस्तै १० जना टिकट सेलर नेपाल रेल्वेमा नियुक्त भई काम थालेको जानकारी दिए ।

उनीजस्तै टिकट काट्ने काममा खटिएका कर्मचारीलाई रेल उद्घाटन हुने समय निर्धारण भएपछि आफ्नो जिम्मेवारी कसरी निभाउने भने चिन्ता थपिएको छ । पहिलो पटक काम सुरु गर्न थालेका नयाँ टिकट सेलरहरु आफूले व्यावसायिक तालिम लिए पनि व्यवहारिक अनुभव नभएको बताउँछन् ।

नेपाल रेल्वेकै अर्का कर्मचारी प्रमोद कुमार पासवान भने अनुभवी छन् । पहिलादेखि नै रेल्वे कम्पनीमा काम गरेका पासवान नेपालमा भित्रिएको रेल निर्माता कम्पनी एनआईपीएल कम्पनीमा समेत आफूले काम गरेको बताउँछन् ।

‘नेपाल भित्रिएको रेल बनिरहेकै बेलादेखि एनआईपीएल कम्पनीमा सुपरभाईजरको काम गर्दै थिएँ,’ उनले भने, ‘अहिले टीटीई (ट्राभलिङ्ग टिकट एक्जामिनर) को जिम्मेवारीमा छु ।’

रेलको उद्घाटन नभए पनि आफूहरुले केही दिन पहिलादेखि नै काम सुरु गरिसकेको उनले सुनाए । शनिबार रेल उद्घाटन भएपछि भने आफूहरु पूर्ण रुपमा काममा खटिने उनले बताए । अहिले सबै कर्मचारी रेल सञ्चालनको तयारीमै जुटेको उनले जानकारी दिए । नेपाली कर्मचारीलाई सघाउन भारतका २६ जना अनुभवी कर्मचारीलाई समेत खटाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

कुर्था–जनकपुर–जयनगरसम्म रेल सञ्चालन गर्न कम्पनीले अहिलेसम्म विभिन्न सेक्टरमा गरी ५९ जना नेपालीलाई कर्मचारी नियुक्त गरेको उनको भनाइ छ ।

उनका अनुसार, यो रुटमा ३ वटा हाल्ट र ५ वटा स्टेशन निर्माण गरिएको छ । ती सबै स्थानमा ३ देखि ५ मिनेटसम्म मात्र रेल रोकेर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाइएको छ । रेलका यात्रु तथा कर्मचारीको सुरक्षाका लागि सबै ठाउँमा गरी १३६ जना प्रहरीलाई खटाइएको उनले जानकारी दिए ।

नेपाल र भारतका प्रधानमन्त्रीले भारतको हैदरावाद हाउसबाट भर्चुअल विधिबाट रेलको उद्घाटन गरेपछि शनिबार जयनगरबाट एकै साथ छुट्ने दुवै रेल २ वटा एसी र ८ वटा जनरल डिब्बासहित कुर्थासम्म पुग्ने नेपाल रेल्वे विभागका महानिर्देशक दिपककुमार भट्टराईले जानकारी दिए ।

उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए । नेपाल र भारतका अधिकारीहरु जयनगरबाट जनकपुरसम्म सँगै आउने र जनकपुर स्टेशनमा आयोजित समारोहमा सहभागी हुने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

रेल सञ्चालनका लागि रेल र ट्रयाक दुरुस्त अवस्थामा राखिएको नेपाल रेल्वे विभागका इन्जिनियर रविन्द्र साहले जानकारी दिए । अहिलेसम्म ७ स्थानमा मात्र टिकेटिङ्गको व्यवस्था मिलाइएको छ । एउटा हल्टमा टिकट काट्ने व्यवस्था अझै मिलाउन नसकिएको उनले जानकारी दिए ।

‘रेल सञ्चालन हुने रुटमा २२ वटा लेवल क्रसिङ गेट निर्माण गरिएको छ,’ उनले भने, ‘सबै गेटमा कर्मचारी खटाई सकिएको छ ।’ स्टेशन, हल्ट र गेटमा टेलिकम्युनिकेशन सिग्नल सिस्टम समेत जडान गरिसकिएको उनले जानकारी दिए ।

उद्घाटनको दिन प्रत्येक हल्ट र स्टेशनमा नेपाल र भारतको झण्डा बोकेका कम्तीमा १५ जना विद्यार्थीलाई रेलमा चढाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए । रेलमा एक पटकमा कम्तीमा १३ सय जना यात्रुले यात्रा गर्न सक्ने उनले बताए ।

यस क्षेत्रका सर्वसाधारण रेल उद्घाटनको प्रतिक्षामा छन् । रेल उद्घाटन गर्ने दिन जनकपुरमा ५ वटा बिरुवा रोप्ने व्यवस्था मिलाइएको रेल प्रशासनले जनाएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप