शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारले युक्रेन हाँकेको छ, हामीलाई कम आँकलन नगर्दा हुन्छ

नेताहरूले राम्रो गरेको भए कलाकार किन राजनीतिमा आउनुपर्थ्यो ?
सोमबार, २८ चैत २०७८, १३ : २९
सोमबार, २८ चैत २०७८

स्थानीय चुनावको संघारमा म राजनीतिमा आउने धेरै हल्ला चल्यो । उन्नत लोकतन्त्र पार्टीले मलाई आफ्नो चुनाव चिन्ह खुला किताब मार्फत् काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरी एउटा कलाकारलाई उहाँहरूले त्यसका लागि सम्झनु भयो । मप्रति देखाएको विश्वास र सद्भावका लागि आभार व्यक्त गर्दछु । कतिपयले भुवनको मेयरमा उठ्ने इच्छा होइन भनेर पनि भनेका छन् । कुरो त्यो होइन, काम र राजनीतिमा सोच बनाउन बाँकी भएको कारण मैले महानगरपालिकाको मेयर उठ्न असमर्थ छु भनेको हुँ । अर्को कुरा राजनीतिमा  कदम बढाउने कि नबढाउने,  बढाए कुन पार्टीबाट गर्ने भनेर मैले निर्णय गरी नसकेको अवस्था हो । ‘पारस’, ‘माइतीघर २’ लगायत मेरा केही फिल्म निर्माणको क्रममा छन् । त्यसैले अहिल्यै राजनीतिमा आउने सोचाइ मैले बनाएको छैन । अहिले आफ्नो पेन्डिङमा रहेको फिल्म पुरा गर्ने भनेर राजनीतिको विषयमा केही नसोचेको हो ।

एउटा तरङ्ग ल्यायो

म मेयरको उम्मेदवार बन्ने कुरोले एउटा तरङ्ग भने ल्यायो । म प्रति सकारात्मक, नकारात्मक विभिन्न टीका टिप्पणी भए । धेरैले राम्रो भने, केहीले नराम्रो पनि ओकले । नकारात्मक टिप्पणीबाट पनि मैले केही सिक्न र बुझ्न पाएको छु । त्यसले आगामी दिन अगाडि बढ्न सहयोग पुग्ने मेरो विश्वास हो । कतिले म मेयर उठ्न हुँदैन समेत भनेका छन् । केही म प्रति नेगेटिभ देखिएका छन् । ती सबै प्रतिक्रिया मैले सकारात्मक लिएको छु । त्यो सबै मलाई माया गरेर दिएको हो भन्ने मैले बुझेको छु ।

म मेयरमा आउने कुराले फिल्मकर्मी तथा दर्शकमा एउटा उत्साह छाएको छ, त्यो पोजेटिभ हो । आजको दिनमा कलाकारलाई राजनीति गर्न आउँदैन, कलाकारको किन राजनीतिमा प्रवेश ? भन्ने आवाज पनि हामीले सुन्न पाउँछौ । मलाई के लाग्छ भने कुनै एक क्षेत्रमा लागेर ४० औँ वर्ष बिताएर त्यो क्षेत्रमा दक्षता हासिल गरेका छन् भने त्यस्ता व्यक्ति राजनीतिमा आउँदा झन् राम्रो हुन्छ । किनभने कमसेकम त्यसलाई एउटा क्षेत्रको पूर्ण जानकारी त छ नि । कुनै क्षेत्रको जानकार नभएको, कहीँ केही नजानेको मानिस अनि खाली झूटा भाषण मात्र दिन जानेको, त्यस्ता व्यक्ति राजनीति गर्नेको योग्यता हो भन्ने सोच रहन्छ भने हाम्रा दाजुभाइ भ्रममा हुनुहुन्छ । 

झुक्याउने योग्यता छैन   

म काठमाडौँमै जन्मिएको, हुर्किएको र पढेबढेको हो । त्यो हिसाबले म काठमाडौँको सम्पदा, समस्या र समाधान लगायत हरेक चिजको जानकार छु । राजनीति गर्न कसरी झुटो भाषण गरेर जनतालाई झुक्याएर भोट लिनुपर्ने त्यो योग्यता मेरो छैन । स्वच्छ दिलले देश र जनताको सेवा गर्नुपर्छ । देश असाध्यै नराम्रो स्थितिमा पुगिसक्यो । यो त अति भयो । नेपाली दाजुभाइ दिदीबहिनी सबै विदेश पलायन हुन थालिसके भन्ने चिन्ता र स्वच्छ भावना एउटा कलाकारमा हुन्छ । 

कलाकार भएको नाताले म फिल्ममा हामी दाजुभाइ दिदीबहिनीका दुःख सुखका कुराहरू, देशमा परेका पिर मर्काका कुरा पस्किँदै आएको छु । त्यस कुराबाट म खारिएको छु । भोट माग्नका लागि झुट बोल्ने सर्टिफिकेट मसँग छैन । देशभरका जनताप्रति संवेदनशील हामी कलाकार छौँ । यो कुरो दर्शक तथा जनताले मनन गर्नुहुन्छ भन्ने मेरो विश्वास हो । अव पनि मनन नगरे कहिले गर्ने ? 

कलाकारले देश हाँक्न सक्छन्

कतिपयले कलाकारमा राजनीतिक कल्चर हुँदैन भनेको पनि सुनेको छु । त्यो कुरो प्रति मेरो चित्त नबुझेको हो । कलाकारले राजनीति गर्न सक्दैनन् भन्ने कुरो होइन । कलाकारलाई फोहोरी राजनीति गर्न भने आउँदैन । स्वच्छ राजनीति गरेर देश र जनताको पक्षमा उभिन र निडर भएर अगाडि बढ्न कलाकारलाई आउँछ । त्यसैले कलाकारलाई कम आँकलन नगर्दा हुन्छ । 

कलाकारले पनि देश र जनताको लागि परेको समय ज्यानको बाजी थापेर जे पनि गर्न सक्छन् । एउटा कलाकारले देश हाँक्न सक्छ । युक्रेनमा राष्ट्रपति हाँस्य कलाकार हुन् । कलाकार राष्ट्रपति भयो, राजनीतिमा आयो भने देशको लागि ज्यान दिन सक्छ भनेर युक्रेनले प्रमाणित गरेको छ । राजनीतिक दलका नेताबाट विकास र प्रगति घोषणा पत्र र भाषणमा मात्र हो । यी राजनीतिक दलका नेताले विकास गर्ने भए आजको दिनसम्म किन केही देख्न पाइएन त ? अहिले राजनीतिमा रहेका नेताहरूले राम्रो गरेको भए, कलाकार, डाक्टर लगायत किन राजनीतिमा आउनुपर्थ्यो ? 

अहिले कुनै पार्टीमा छैन

अहिले म कुनै पनि पार्टीसँग आबद्ध छैन । यस अगाडिको चुनावमा मैले एमालेलाई सहयोग गरेको थिएँ । त्यसपछि कुनै पनि पार्टीमा छैन, स्वतन्त्र छु । एउटा कलाकारलाई नेता, प्रधानमन्त्री, राष्ट्रपति, डाक्टर, इन्जिनियर सबैले माया गर्छन् । त्यसैले कुनै पनि बेला कोहीसँग उठबस हुन्छ । चिया, कफी खाइन्छ । त्यो नौलो कुरो होइन । 

चुनाव घोषणापछि धेरै पार्टीले तपाईं हाम्रो पार्टीमा आउनुस् । देश र जनताको सेवा गर्नुस् भनेर अफर दिएका छन्, यो सकारात्मक हो । कुन पार्टीमा जाने, के गर्ने, आफूसँग समय छ कि छैन भन्ने कुरो मेरो हो । समयको अभावले मैले अहिले कुनै पार्टीमा नलाग्ने भनेर डिसिजन लिएको छु । यदि मैले कुनै पार्टी रोजे भने मेरो फ्यान, शुभचिन्तक र मिडियालाई अवश्य जानकारी दिएर लाग्नेछु ।

कलाकार केसीसँग रातोपाटीकर्मी कुवेर गिरीले गरेको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन केसी
भुवन केसी
लेखकबाट थप