सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा गठबन्धनभित्र खटपट

जसपा नेपाल भन्छ– चुनावी तालमेलका लागि बाध्य छैनौं
मङ्गलबार, २९ चैत २०७८, १६ : ४९
मङ्गलबार, २९ चैत २०७८

 सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच तिक्तता बढेको छ । स्थानीय तहको निर्वाचन नजिकिएकै समयमा गठबन्धनभित्र मनमुटाव बढेको हो । हालै प्रदेश सरकार पुनर्गठनका क्रममा आफूलाई बेवास्ता गरिएको भन्दै जसपा नेपालले आपत्ति जनाएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भए पनि प्रदेशस्तरमा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरुलाई बेवास्ता गरेको जसपा नेपालका प्रदेश तहका नेता बताउँछन् ।

शुक्रबार प्रदेश सरकारमा नेपाली काँग्रेसलाई समेत समेट्दै मन्त्रिपरिषद पुनर्गठन गरिएको हो । प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरुसँग छलफल नै नगरिएको भन्दै जसपा नेपालले आपत्ति जनाएको हो । सरकार गठन, सरकार विस्तार तथा अन्य विभिन्न निर्णय लिने सवालमा जसपा नेपाललाई उपेक्षा गरिएको भन्दै सो पार्टीका नेताहरु स्थानीय तहको निर्वाचनमा तालमेल गर्न आफूहरु बाध्य नहुने बताउँछन् ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज होरिलाल चौधरीले प्रदेश सरकारमा जसपालाई सहभागी गराई मन्त्रीमण्डल पुनर्गठन नगरिए चुनावी तालमेल गर्न नसकिने प्रस्ट पारे । उनले भने, ‘गठबन्धनका दलहरूले हामीलाई यस्तै व्यवहार गरिरहेको अवस्थामा हामी चुनावी गठबन्धनको पक्षमा हुँदैनौं ।’

जसपाका कैलाली जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मी पनि स्थानीय तहको निर्वाचनमा अरु पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि मात्र गठबन्धन गर्न नसकिने बताउँछन् । उनले भने, ‘कैलारी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन मान्दैनौं भनेर चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरिसकेका छन्, हाम्रो बलियो पकड भएको स्थानीय तहमा गठबन्धनका दलहरूले हामीलाई नेतृत्व दिन मानेका छैनन् । प्रदेश सरकारमा पनि हाम्रो सहभागिता छैन । अनि केन्द्र र स्थानीय तहमा मात्र हामीले किन गठबन्धन गर्ने ?’

उनले आफूहरू एक्लै वा गठबन्धन बाहेकका दलहरूसँग तालमेल गरेर पनि स्थानीय तहको निर्वाचनमा अगाडि बढ्न सक्ने बताए । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले जसपा नेपाललाई प्रदेश सरकारमा समावेश गराउन नसक्नुमा प्राविधिक कमजोरी रहेको बताए । उनले भने, ‘हामीले छलफल गरेर स्थानीय तहको निर्वाचनपश्चात सरकारमा ल्याउने सहमति गरेका छौं । यो विषयलाई लिएर गठबन्धनमा कुनै मनमुटाव छैन ।’

उनले प्रदेशमा मन्त्री फेरबदल गर्दा केन्द्रीय नेताहरुकै कमजोरी रहेको बताए । ‘सरकारमा कुन व्यक्तिलाई मन्त्री  बनाउने वा नबनाउने भन्नेबारे केन्द्रीय गठबन्धनको बैठकले गरेको निर्णय हो,’ उनले भने, ‘उहाँका नेताहरुको कमजोरीलाई लिएर गठबन्धनमा असर पु¥याउने भन्ने मनसाय कसैको छैन ।’

यता, नेकपा माओवादी केन्द्रका नेता रमेश धामीले पनि केन्द्रबाटै जसपा नेपालको माग सम्बोधन हुनुपर्ने बताए । ‘जसपाको समस्या प्रदेश र जिल्लाले हल गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले उहाँहरुले अलग्गिने भनेर विज्ञप्ति जारी गरे पनि गठबन्धनभित्र छलफल चलिरहेको छ । दुई/चार दिनमै यसबारे ठोस निष्कर्ष निस्किन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप