शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको सूर्य चिह्नबाट लड्न राप्रपा नेपालद्वारा ३० स्थानीय तहमा दावी

बुधबार, ३० चैत २०७८, १७ : ५८
बुधबार, ३० चैत २०७८

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले नेकपा एमालेको सूर्य चिह्नबाट स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएसँगै अब भागबण्डा कसरी मिलाउने भन्नेबारे छलफल केन्द्रीत भएको नेताहरुले बताएका छन् । एमालेसँगको वार्ताका क्रममा राप्रपा नेपालले कम्तिमा ३० स्थानीय तहमा दाबी गरेको छ । देशभरका स्थानीय तहमध्ये विभिन्न जिल्लाका स्थानीय तहमा पार्टीको जनाधार रहेको दाबीसहित राप्रपाले ३० स्थानीय तहमा आफ्नो दाबी गरेको हो । यद्यपि दुबैपक्षबीच केन्द्र तथा जिल्लाका साथै स्थानीयस्तरमा समेत छलफल र मत विश्लेषणका आधारमा उम्मेदवार उठाउने समझदारी भएको छ । 

राप्रपा नेपालका महामन्त्री तथा स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील श्रेष्ठले बुधबार तालमेलबारे ५ बुँदे सहमति भएसँगै एमालेको सूर्य चिह्नबाटै चुनाव लड्न निश्चित भएको बताए । राप्रपा नेपालको चुनाव चिह्न तीर भएपनि सहमतिअनुसार अब राप्रपाले जहाँ–जहाँ उम्मेदवार उठाउँछ त्यहाँ सबै सूर्य चुनावबाटै उम्मेदवार बन्नेछन् । तर, चुनाव जितेपछि उनीहरु राप्रपा नेपालकै हैसियतमा रहने गरी सहमति भएको छ ।

एमालेकै चुनाव चिह्नबाट किन लड्दैछ राप्रपा नेपाल ?

श्रेष्ठका अनुसार २०७४ को चुनावमा तालमेल गर्दा फरक फरक चुनाव चिह्न हुँदा धेरै मत बदर भएको र अब त्यस्तो नहोस् भनेर समान चुनाव चिह्नबाट लड्ने समझदारी भएको हो । ‘आफ्नो आफ्नो चुनाव चिह्न लिएर जाँदा एमालेको चिह्न माथि १ नम्बरमा नै छ । तर  हाम्रो चिह्नचाहिँ धेरै तल छ’, श्रेष्ठले भने, ‘जस्तो कि ४ वटा वडामा समझदारी गर्दा दुईटा चिह्न माथि र दुई वटा खोज्न तल जानुपर्ने हुँदा मतदाता अलमलमा पर्ने देखियो त्यसमाथि क्लस्टरको सन्तुलन पनि हुन्छ । र, मत पनि बदर हुने देखेर हामीले यस्तो सहमति गरेका हौँ ।’

उनले अगाडि भने,  ‘अघिल्लो चुनावमा पनि एमाले र राप्रपाबीच गठबन्धन हुँदा काठमाडौंमा तत्कालीन राप्रपाको लगभग १५ हजार मत बदर भएर राजाराम श्रेष्ठले हारेका थिए ।’ एमाले समर्थक मतदाता अलमलमा रहेर सूर्य चिह्नमा नै मत हालिदिँदा यस्तो अवस्था त्यतिबेला आएको उनको भनाइ छ ।  जुन चिह्नबाट चुनाव लडेपनि निर्वाचनपछि विजयीहरु आ–आफ्नै पार्टीमा अस्तित्वमा रहने भएकाले यसलाई तालमेलबाहेक अरु बुझ्न नहुने उनको भनाइ छ । 

राप्रपा नेपालले गत संसदीय चुनावमा हृदयेश त्रिपाठीको समूहले स्वतन्त्र रुपमा एमालेको चुनाव चिन्हबाट चुनाव लडेजस्तै गरी एमालेसँग मिलेर चुनाव लड्न लागेको हो ।  ०७४ को संघीय चुनावमा हृदयेश त्रिपाठी र बृजेश गुप्ता सूर्य चिन्हबाटै चुनाव लडेर विजयी भएका थिए । प्रदेशसभामा पनि त्रिपाठी समूहका २ जना त्यसैगरी विजयी भएका थिए ।

अहिले कमल थापाले राप्रपा नेपालकै अस्तित्व कायम रहनेगरी एमालेको चुनाव चिन्हबाट चुनाव लड्नेगरी एमालेसँग सहमति गरेका हुन् ।  यसअघि कमल थापाले स्थानीय तहको चुनावी घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् । 

एकताको चर्चा

उसो त एमाले र राप्रपाबीच निकट भविष्यमा एकतको चर्चा पनि हुँदै आएको छ । पछिल्लो समय राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निकटता बढेको छ भने थापाले ओलीको कार्यशैलीको प्रशंशा र समर्थन गर्दै आएका छन् । प्रतिनिधिसभा विघटन गर्दासमेत थापा ओलीको पक्षमा थिए भने त्यसयता ओलीका हरेक गतिविधिमा उनले समर्थन गर्दै आएका छन् ।

​यस्तै राप्रपाको चुनावमा कमल थापा पराजित भएर राजेन्द्र लिङ्देन विजयी हुँदा ओलीले लिङ्देनलाई बाच्छाको संज्ञा दिएका थिए । राप्रपाका एक नेताले अहिले तालमेल र निकट भविष्यमा ओली र थापाबीच पार्टी नै एकता हुनसक्ने बताए । तर, महामन्त्री श्रेष्ठले चाहिँ अहिले एकताबारे केही नसोचिएको र खाली तालमेलबारे मात्रै सहमति भएको बताए । गत मंसिरमा सम्पन्न राप्रपा पार्टीको महाधिवेशनमा पराजित भएपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । आफूलाई निर्मल निवासले चुनाव हराएको आरोप लगाउँदै उनले राजसंस्थाको एजेण्डा नै त्यागिदिएका थिए । उनले अहिले हिन्दुराष्ट्र र सुशासनको एजेण्डा बोकेर पार्टीलाई अघि बढाएका छन् । थापाले गणतन्त्र स्वीकारिसकेको अवस्था रहेकाले निकट भविष्यमा दुई पार्टीबीच एकताको बाटो पनि सहज भएको बताइएको छ । 

के ५ बाँचबुदे सहमतिमा ?

पाँच बुँदे सहमतिको पहिलो बुँदामा  वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने उल्लेख गरिएको छ ।

यस्तै दोस्रो बुँदामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेद्वारहरुलाई सघाउने भनिएको छ । यस्तै एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेद्वारहरुभएको स्थानमा सघाउने भनिएको छ । उम्मेदवार तयका लागि एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ–आफ्नो पार्टी केन्द्रमा पठाउने सहमति भएको छ । त्यसका आधारमा केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने गर्ने सहमति भएको छ ।

यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने समझदारीमा उल्लेख छ । तर राप्रपा नेपालका उम्मेदवारहरू निर्वाचित भएपश्चात् पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने छन् ।  राप्रपा नेपालका अध्यक्ष कमल थापासहित शीर्ष नेताहरु र एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतको उपस्थितिमा सहमतिपत्रमा एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपा नेपालको तर्फबाट सुशील श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

गत स्थानीय तह निर्वाचनमा तत्कालीन राप्रपाले एक उपमहानगरपालिकासहित ५ स्थानीय तहमा जित हासिल गरेको थियो भने ५ दर्जन हाराहारीमा वडामा जितेको थियो । तर, जितेका मध्ये धेरै जनप्रतिनिधि पुरानै पार्टी राप्रपातिर रहेका छन् । जितेका ती जनप्रतिनिधि कमल थापातिर लागे एमालेले उनीहरुलाई नै उम्मेदवार बनाउने बताइएको छ।  अन्यथा जनाधार र व्यक्तित्वका आधारमा राप्रपा नेपालले भाग पाउने नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप