बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उम्मेदवारको खोजीमा हृदयेशको पार्टी, साथ दिने भन्दा छाड्नेहरू धेरै

आइतबार, ०४ वैशाख २०७९, ०७ : ०१
आइतबार, ०४ वैशाख २०७९

२०७४ सालमा तत्कालीन  राजपाले प्रदेश १, ५ र ७ मा भएको स्थानीय निर्वाचनमा भाग नलिने घोषणा गरेको थियो । त्यही राजपाको नेता मध्येका एक थिए हृदयेश त्रिपाठी । पार्टीले स्थानीय तहमा भाग नलिने निर्णय उनलाई कत्ति मन परेको थिएन । त्यसैले, स्थानीय निर्वाचन ‘मिस’ भएको झोँकमा उनले पार्टी परित्याग गरे । प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा  त्रिपाठीले स्वतन्त्र समूह बनाएर तत्कालीन एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा सहभागी मात्र भएनन्, सांसद जितेर पटक पटक मन्त्री समेत भए ।

अहिले त्रिपाठीले जनता प्रगतिशील पार्टी दर्ता गरेका छन् । कोदालो बोकेको किसान चिन्ह लिएर चुनावी मैदानमा उनको पार्टी जाँदैछ । नयाँ पार्टी दर्ता गरेपछि त्रिपाठीको गृह जिल्ला नवलपरासीमा के भइरहेको छ, पार्टी कसरी स्थानीय तहको चुनावमा जाँदैछ । चासो सुरु भएको छ । 

साथ दिने भन्दा छाड्नेहरू धेरै 

प्रतिनिधि सभामा नवलपरासी–१ बाट निर्वाचित भएका त्रिपाठीलाई विगतमा साथ दिने भन्दा अहिले छाड्नेहरू धेरै देखिएका छन् । २०७४ सालको निर्वाचनमा उनीसँगै कपिलवस्तु–२ बाट वृजेशकुमार गुप्ता सांसद निर्वाचित भएका थिए । यस्तै प्रदेश सभातर्फ धर्मबहादुर लाल श्रीवास्तव कपिलवस्तु–२ को ‘ख’ मा निर्वाचित भएका  थिए । ती दुवै नेताहरू अहिले त्रिपाठीलाई  छाडेर एमाले प्रवेश गरेका छन् । यस्तै २०७४ मा बाँकेबाट चुनाव लडेका पशुपति दयाल मिश्र पनि एमाले लागेका छन् । उनलाई एमालेले नेपालगन्जमा मेयरको लागि सिफारिस गरेको छ । अर्का नलवपरासी पश्चिम–१ को ‘ख’बाट निर्वाचित सांसद अजय शाही अहिले लुम्बिनी प्रदेशको मन्त्री छन् । उनी पनि  हृदयेशको पार्टीमा छैनन् । 

जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्राले पार्टीको सम्पर्कमा शाही नभएको रातोपाटीलाई बताए । यसबाट के पुष्टि हुन्छ त्यो बेला त्रिपाठीलाई साथ दिएकाहरू धेरै अन्य पार्टीमा पुगेका छन् । 

प्रतिनिधि सभा र प्रदेश सभा जितेकाहरूले साथ नदिएपछि जनता प्रगति प्रगतिशील पार्टी संगठन विस्तारको काम सुस्त छ । हालसम्म १६  जिल्लामा संयोजक तोकिएको छ भने स्थानीय तहमा पनि धेरै ठाउँमा उम्मेदवार बनाउन पार्टीले व्यक्तिहरू खोजिरहेको छ । महासचिव मिश्राले भने, ‘यहाँ जानेहरू सँगै बस्नेहरूको गणना हुनुपर्छ । हामी पनि चुनाव लडेका मान्छे सँगै बसेका छौँ । गलत कामलाई पार्टीले साथ दिँदैन । पुराना जान्छन्, नयाँ आउँछन् ।’

उम्मेदवारीको अवस्था 

त्रिपाठीको गृह जिल्ला नवलपरासीमा स्थानीय तहको चुनावको रौनक सुरु भएको छ । पार्टीको नवलपरासी जिल्ला संयोजक राधेरमण पाण्डेयका  अनुसार  जिल्लाको  दुई स्थानीय तहको  सबै  कोटामा उम्मेदवारी दिइने तयारी छ । सुस्ता र प्रतापपुर गाउँपालिका सबै पदको लागि उम्मेदवारी हुनेछ । अन्यमा पनि वडाध्यक्षको लागि तयारी भएको छ । गठबन्धन भएमा एमालेसँग हुन सक्ने पनि उनले बताए । 

उता पार्टी महासचिव ईश्वर दयाल मिश्राले लुम्बिनीका ४ जिल्लामा आफ्नो पार्टीले उम्मेदवारी दिने तयारी गरेको रातोपाटीलाई बताए । कपिलवस्तु, नवलपरासी, रुपन्देही र बाँके जिल्लाका स्थानीय तहमा उम्मेदवारी दिने तयारी पार्टीले गरेको छ । नयाँ पार्टी भएकोले  जित्ने, हार्ने भन्दा पनि आफ्नो पार्टी स्थापित गर्न निर्वाचनमा जाने उनले बताए । 

विगतमा पनि सूर्य चिन्ह लिएर एमालेसँग सहकार्य गर्दै चुनावमा गएको हो त्रिपाठीको स्वतन्त्र समूह । अहिले पार्टी दर्ता गरेर नयाँ चुनाव चिन्ह किसानले कोदालो बोकेको लिएर आएको छ । तर स्थानीय तहमा स्थानीय आवश्यकताको आधारमा एमालेसँग गठबन्धन हुने मिश्राको भनाइ छ । उनले भने, ‘अहिलेसम्म एमालेसँग कुराकानी भएको छैन । यदि भएमा अन्य भन्दा एमालेलाई प्राथमिकता दिएर चुनावमा जानेछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप