आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाह प्रकरण : पीडित बालिकाका बुबा पनि ‘होस्टाइल’

मङ्गलबार, ०६ वैशाख २०७९, १७ : ५५
मङ्गलबार, ०६ वैशाख २०७९

नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा जाहेरी दिने पीडित नाबालिगका बुवाले पनि अदालतमा होस्टाइल बयान दिएका छन् । मंगलबार तनहुँ जिल्ला अदालतमा दिएको बयानमा जाहेरवालासमेत रहेका पीडित नाबालिगका बुवाले होस्टाइल बयान दिएका हुन् ।

तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार पीडित बालिकाका बुवाले पनि छोरीमाथि बलात्कार नभएको तर विभिन्न व्यक्ति तथा संस्थाको उक्साहटमा जाहेरी दिएको होस्टाइल बयान दिएका छन् । उनले आफूलाई प्रलोभनमा पारेर जाहेरी दिन लगाएको पनि बताएका छन् । 

यसअघि पीडित नाबालिगले पनि अदालतमा बकपत्र गर्ने क्रममा आफूले विभिन्न व्यक्तिहरुको उक्साहटमा जाहेरी दिएको तर आफूमाथि करणी नभएको बयान दिएकी थिइन् । तर जाहेरी दिने क्रममा भने पीडित बालिका र जाहेरवालाले विभिन्न मिति र समयमा तनहुँ, नवलपुर र कास्की जिल्लामा जबरजस्ती करणी भएको उल्लेख गरेका थिए । उनीहरुले मिति र समयसमेत उल्लेख गरी जबरजस्ती करणीको जाहेरी दिएका थिए । 

गत फागुन ११ गते जाहेरी परेपछि फागुन १५ गते अभिनेतासमेत रहेका अभियुक्त पल शाहले तनहुँ प्रहरी पुगेर आत्मसमर्पण गरेका थिए । त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सरकारी वकिलमार्फत् नवलपुर र तनहुँ जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । 

अदालतमा मुद्दा दायर भएपछि तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दुवैले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न सकिएन भन्दै पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशपछि शाह हाल तनहुँ कारागारमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । 

पीडित भनिएकी नाबालिग र जाहेरवाला अर्थात् पीडितका बुवाले समेत पहिले दिएको जाहेरीलाई नै खण्डन गर्ने गरी होस्टाइल बयान दिएसँगै अभिनेता शाहलाई केही राहत मिलेको अनुमान गरिएको छ । यद्यपि पीडित र पीडित परिवारले होस्टाइल भएर बयान दिँदैमा अन्य प्रमाणबाट बलात्कार पुष्टी हुने आधार देखिएको अवस्थामा भने अदालतले कसुर ठहर गर्न सक्नेछ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप