शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वैकल्पिक राजनीतिको सुरुवात काठमाडौँ महानगरबाट हुनेछ : समीक्षा बास्कोटा

बिहीबार, ०८ वैशाख २०७९, १९ : ३५
बिहीबार, ०८ वैशाख २०७९

स्थानीय तहको निर्वाचनका लागि दलहरूको सक्रियता बढ्दै गर्दा वैकल्पिक शक्तिका रूपमा अघि बढ्दै गरेको विवेकशील साझाले चुनावी क्रियाकलापलाई तीव्रता दिएको छ । पार्टीले राजनीतिको केन्द्रबिन्दु काठमाडौँ महानगरपालिकामा मेयर र उपमेयर पदका उम्मेदवार खडा गरिसकेको छ । ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नारा अघि सार्दै विवेकशील साझाले महानगरका लागि मेयर र उपमेयरका उम्मेदवार अघि सारेको हो । 

२०७४ को स्थानीय तहको निर्वाचनमा निकै उत्साहजनक उपस्थिति जनाएको यो पार्टीले यस पटकको निर्वाचनमा कस्तो उपस्थिति रहने हो आम नागरिकमा चासो बढेको छ । पार्टीले महानगरको विकासका लागि ७ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गर्दै समीक्षा बास्कोटालाई मेयर पदका लागि अघि सारेको हो । ३८ वर्षीया बास्कोटा बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् र उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १ बाट प्रदेशसभाको उम्मेदवार बन्दै २७ प्रतिशत मतसहित तेस्रो मत हासिल गर्न सफल थिइन् । 

तर, यो पटक उनी स्थानीय तह अर्थात् महानगरको मेयरका लागि चुनाव लड्दै छिन् । विशेष गरेर अघिल्लो निर्वाचनको ऊर्जालाई लिएर अबको निर्वाचनमा होमिएको बताउने बास्कोटा राजनीतिको फोहोर सफा गर्दै विकास र समृद्धिको बाटोमा महानगरसहित देशलाई डोर्‍याउने हिम्मत गरिरहेकी छिन् । भन्छिन्, ‘सबैभन्दा पहिलो कुरा हाम्रो पार्टी सुसंस्कृत राजनीतिको अभ्यासमा छ र राजनीतिलाई सफा गर्न राजनीतिक दल नै चाहिन्छ। त्यसैले सोही राजनीतिक दलको हैसियतले म महानगरको नेतृत्वका लागि अघि बढेकी छु ’, महानगरवासीलाई आग्रह गर्दै थप्छिन्, ‘लोकतन्त्रमा ठूलो हतियार भनेको नै मतदान हो । त्यसैले तपाईं हामीले देखेको सपना पूरा गर्न भरपूर आफ्नो मतदान प्रयोग गरिदिनुहोस्। मतदान प्रक्रियामा विवेक प्रयोग गरिदिनुहोस्।’

‘काठमाडौँ हरेक राजनीतिक परिवर्तनको संवाहक हो र अबको सुसंस्कृत परिवर्तनको संवाहक पनि महानगर नै हुन जरुरी छ । त्यसैले हाम्रो अभियानमा महानगरवासीले साथ दिए भने अझ सुनमा सुगन्ध थपिने छ,’ उनी आसा र विश्वासका साथ भन्छिन्, ‘वैकल्पिक राजनीतिको सुरुवात महानगरवासीले गर्नुहुनेमा  मलाई विश्वास छ। र, हामी गरेर देखाउँछौँ एक पटक मौका दिनुहोस्।’

हालसम्म काठमाडौँ महानगरमा समीक्षाको प्रतिद्वन्द्वीका रूपमा देखिएका स्वतन्त्र उम्मेदवार बालेन शाह र कुनै दलसँग आबद्ध रहेर उम्मेदवारीको तयारी जुटेकी सुनिता डंगोल रहेका छन् । यसरी स्वतन्त्र मतदाताको नजरमा बालेन र सुनिताको चर्चा उत्तिकै छ। यता, अघिल्लो निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा आशा जगाएको विवेकशीललाई यस वर्ष स्वतन्त्र उम्मेदवारको चुनौती उत्तिकै देखिन्छ । तर, यस बारेमा विवेकशील साझाकी उम्मेदवार समीक्षा भने सामाजिक सञ्जालको चर्चा परिचर्चाले मात्र उसको वास्तविकता बोल्न नसक्ने दाबी गर्छिन् । 

स्वतन्त्र उम्मेदवारमा देखिएको सामाजिक सञ्जालको क्रेजले वास्तविक मतदाताको सम्भावना बारेमा पुष्टि गर्न नसक्ने र एक्लै पदीय जिम्मेवारीमा गएर भन्दा पनि राजनैतिक चेतका साथ अघि बढेमात्र परिवर्तन सम्भव रहेको उनी बताउँछिन् । 

उनै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बास्कोटासँग रातोपाटीका लागि नियमित कार्यक्रम टक विथ द टपमा मनोज न्यौपानेले गरेको यो भिडियो संवाद :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप