बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो थियो अघिल्लो स्थानीय निर्वाचनमा राजनीतिक दलको सहभागिता, कुन दलको शक्ति कति ? (विवरणसहित)

मङ्गलबार, १३ वैशाख २०७९, २२ : २५
मङ्गलबार, १३ वैशाख २०७९

नेपालको संविधान जारी भएपछि कायम भएका ७५३ स्थानीय तहको निर्वाचन २०७४ सालमा तीन चरणमा सम्पन्न भएको थियो । वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको हो । 

निर्वाचन आयोगको व्यवस्थापन र सञ्चालनमा भएको सो  निर्वाचनमा ८० वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । सो निर्वाचनमा राजनीतिक दलबाट ८३, ८३६ पुरुष, ५६, ४२७ महिला र २ तेस्रो लिङ्गीसहित १ लाख ४८ हजार ३६४ उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका थिए । निर्वाचनमा भाग लिएका दलमध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रहेको छ ।

निर्वाचन सञ्चालन कसरी भएको थियो ?
२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत भएको थियो । पहिलो चरणमा ३४ जिल्लाका २८३ स्थानीय तह, दोस्रो चरणमा ३५ जिल्लाका ३३४ स्थानीय तह र तेस्रो चरणमा ८ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन गरिएको थियो । स्थानीय तह निर्वाचन, २०७४ का लागि ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृत नियुक्त गरी कार्यक्षेत्रमा खटाइएको थियो । मतदान कार्य व्यवस्थापनका लागि १० हजार ६४२ स्थलमा १८ हजार ५७३ मतदान केन्द्रका लागि १८ हजार ५७३ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृतसहित करिब २ लाख ३५ हजार जनशक्ति परिचालन गरिएको थियो । यस निर्वाचनमा ६ प्रकारका मतपत्र प्रयोग गरिएको थियो । जसमा सबैभन्दा सानो १८ लहरको र सबैभन्दा ठूलो ६८ लहरको मतपत्र रहेको थियो । 

निर्वाचनका क्रममा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, घरदैलो कार्यक्रम, सडक नाटक, नमुना मतदानलगायतका कार्यक्रमबाट निर्वाचन तथा मतदाता शिक्षा एवम् निर्वाचनको प्रचार प्रसार गरिएको थियो । यसका निम्ति १७ वटा भाषामा निर्वाचन सूचना सामग्री उत्पादन गरी मुलुकभर करिब २० हजार निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।

 यस्तो थियो नतिजा 
नगरपालिकाका २९३ प्रमुख तथा २९३ उपप्रमुख र ४६० गाउँपालिकाका ४६० अध्यक्ष तथा ४६० उपाध्यक्ष, ६ हजार ७४३ वडा अध्यक्ष, ६ हजार ७४३ महिला वडा सदस्य, ६ हजार ७४३ दलित महिला वडा सदस्य र १३ हजार ४८६ अन्य वडा सदस्यसमेत जम्मा ३५ हजार २२१ पदका लागि सो स्थानीय तह निर्वाचनमा १ वडा अध्यक्ष, १७६ दलित महिला वडा सदस्य, १ महिला वडा सदस्य र २ अन्य सदस्य गरी कुल १८० पदमा उम्मेदवारी नै नपरी खाली रहन गएको थियो ।

स्थानीय तहको निर्वाचनमा जम्मा मतदाता १ करोड ४० लाख ७४ हजार ४२४ रहेकामा १ करोड ४ लाख ८९ हजार २०४ (७४.५३ प्रतिशत) मतदान भएको थियो । यस निर्वाचनमा भाग लिएका दलहरूमध्ये १८ वटा दलको प्रतिनिधित्व रहेको छ भने राजनीतिक दलका तर्फबाट ३४ हजार ८०८ तथा स्वतन्त्र २३३ गरी कुल ३५ हजार ४१ जना प्रतिनिधि स्थानीय तहका विभिन्न पदमा निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप