शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खानेपानी मन्त्री चौधरीको केयुकेएलमा चलखेल : सीईओ मिलन शाक्यलाई काम गर्न बाधा

बुधबार, ०८ असार २०७९, १७ : ५६
बुधबार, ०८ असार २०७९

गत बिहीबारदेखि काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा विभिन्न दल निकट कर्मचारी संगठनले आन्दोलन जारी राखेका छन् । उनीहरुले केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई कार्यालय प्रवेशमा रोक लगाइरहेका छन् । 

नेपाली काँग्रेस निकट रहेका केयुकेएल कर्मचारी संघ र लोकतान्त्रिक कर्मचारी संघ, राप्रपा निकट रहेको कर्मचारी कल्याण परिषद्, सवारी चालक एसोसिएसन लगायतले केन्द्रीय कार्यालयमा आन्दोलन थालेका हुन् । उनीहरुले विभिन्न माग राख्दै प्रमुख कार्यकारी अधिकृत शाक्यको कार्यालय घेराउ गर्दै कार्यालय प्रवेशमा पनि रोक लगाउँदै आएका छन् । 

खानेपानी मन्त्री उमाकान्त चौधरीले लिष्ट बनाएर दिएका ९० जना व्यक्तिलाई करारमा भर्ना गर्न दवाव दिएको र सो नमानेपछि शाक्यलाई हटाउन कर्मचारी आन्दोलन उचालेको आन्दोलनमा सहभागी नभएका कर्मचारी संगठनका पदाधिकारीको भनाई छ । 

मन्त्री चौधरीले काँग्रेस निकट कर्मचारी संगठनको नेतृत्वमा आन्दोलन उठाएर केयुकेएलले तनाव सिर्जना गदै सबै काम ठप्प पारेको उनीहरुको भनाई छ ।  खानेपानी जस्तो संवेदनशील विषयलाई सरकारले अत्यावश्यक सेवामा राखेर यो क्षेत्रमा बन्द, हडताल, आन्दोलनजस्ता कार्यक्रम निषेध गरेको भएपनि सत्तारुढ दल काँग्रेस निकट कर्मचारीहरुले आन्दोलन गर्दा सेवाग्राही समेत मर्कामा परेका छन् ।  

खानेपानी मन्त्री चौधरीका स्वकीय सचिव कृष्ण चौधरी र उपसचिव शशी लम्साल लगायतको टोलीले मन्त्री निकट ९० जना व्यक्तिलाई केयूकेएलमा करार सेवामा नियुक्त गर्नुपर्ने मागसहित प्रमुख कार्यकारी अधिकृत शाक्यलाई दवाव दिएको केयुकेएलका कर्मचारीको भनाई छ । मन्त्रीको इच्छाअनुसार काम नभएपछि उनको इशारामा काँग्रेस निकट कर्मचारीहरुले आन्दोलन सुरु गरिएको स्रोतको भनाई छ । उनीहरुले सिइओ शाक्यका राजीनामा समेत माग गर्न थालेका छन् । 

यसअघि केयुकेएलले खुला प्रतिस्पर्धाबाट ९० जना कर्मचारी भर्नाका लागि सूचना प्रकाशन गरेको थियो । तर राजनीतिक दवावका कारण स्थगित गरिएको छ । मन्त्रीको इशारामा आन्दोलन गरिरहेका कर्मचारीका कारण करारमार्फत फेरि कर्मचारी भर्ना गर्नेबारे छलफल सुरु भएको छ । तर आन्दोलनमा रहेका कर्मचारी वार्ता प्रक्रियामा भने सहभागी भएका छैनन् ।  यता केयूकेयल कर्मचारी संगठनले भने अब फेरि करार सेवामा कर्मचारी नियुक्त गर्न नहुने भन्दै विरोध गरेको छ । 
खुला प्रतिस्पर्धाबाट केयूकेएलका नियुक्त भएका शाक्यले आफ्ना मान्छेलाई नियुक्त नगरेपछि मन्त्री चौधरीले आन्दोलन गर्न उकासेको केयुकेएलका कर्मचारीको आरोप छ । माओवादी निकट कर्मचारी संगठनले भने सिइओ शाक्यले कर्मचारीको सबै माग पूरा गरिसकेको बताएका छन् । 

कर्मचारीहरुले आन्दोलन थालेपछि केयूकेएलमा विभिन्न समस्याहरु उत्पन्न भएको छ । टयाङ्करबाट पानी वितरणको कामपनि बन्द भएको छ । केयुकेएल कर्मचारी संगठनका उपाध्यक्ष पुष्प भण्डारीले भने– ‘कर्मचारीले आन्दोलन थालेपछि तलब निकासा, टुटफुट भएका पाइपलाइन मर्मत लगायतका कामका लागि रकम निकासा बन्द भएको छ । यस्तै ट्याङ्कर सेवापनि अवरुद्ध भएको छ । काठमाडौंमा पाइप लिक बन्द गर्ने, मर्मतको काम लगायत सबै काम बन्द हुन पुगेको छ । सिइओ सावले बार्ताका लागि पत्र लेख्नुभएको छ तर उनीहरु वार्तामा जान मानिरहेका छैनन् ।’

हाल आन्दोलनमा रहेका पक्षहरुले संस्थागत सुधार गर्नुपर्ने लगायतका माग राखेपनि ति मागहरु सिइओ शाक्यले ६ महिनाअघि नै पूरा गरिसकेको उनले बताए ।  केयुकेएलमा कूल १ हजार ३ सय ३६ कर्मचारीको दरबन्दी रहेको छ । हाल ९ सय ३५ कर्मचारी कार्यरत रहेको छन भने विगत तीन वर्षदेखि पदपूर्ति हुन सकेको छैन् । केयूकेएलकै कर्मचारीका अवरोधका कारण नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रियामा अवरोध हुँदै आएको छ । 

मिलन शाक्य भन्छन् : वार्ता र छलफलबाट नै सबै समस्याहरु समाधान गर्नुपर्छ 
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले कर्मचारीका अधिकांश माग पूरा गरेको बताएका छन् । उनले २०७७ साल माघ २६ गते कर्मचारीले पेश गरेको मागमध्ये अधिकांश माग पूरा गरिसकेको बताए ।  उनले भने– ‘कर्मचारीको सुविधा वृद्धिका कुराहरु, उपदानका कुराहरु, नोकरी अवधि जोड्ने कुराहरु सबै सम्बोधन गरेर सहमति भएर आन्दोलन फिर्ता भएर हामीले कार्यान्वयन पनि गरिसकेका छौँ । त्यो सहमतिमा आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने कुरा पनि छ ।’

उनले अगाडि भने– ‘आधिकारिक ट्रेड युनियनको निर्वाचनको गर्ने प्रक्रिया पनि अघि बढाएका छौँ । विभिन्न नीतिहरु तर्जुमा गरेका छौँ, ती नीतिहरु अघि बढाउनका लागि राय सुझावहरु संकलन गरिरहेका छौँ । त्यो सुझाव आएपछि हामीले सञ्चालक समितिमा पेश गरेर त्यहाँबाट स्वीकृत गरेर कार्यान्वयनमा जान्छौँ । त्यसैले हामीले वार्ता र छलफलबाट नै सबै समस्याहरु समाधान गर्ने, छुटेका कुराहरुलाई समेत समाधान गरी अघि बढ्नुपर्छ भनेर हामीले वार्ता छलफलका लागि पनि उहाँहरुलाई आह्वान गरिरहेका छौँ ।’

उनले हाल आन्दोलनमा रहेका कर्मचारी वार्ता छलफलमा आएर समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले मेलम्चीको पानी वितरण प्रणाली सम्पन्न गर्न सबै कर्मचारीको सक्रियताले सफल भएको उल्लेख गरे ।  उनले भने– ‘हाम्रो सेवाबाट सबै उपभोक्ताहरू पनि सन्तुष्ट हुनुभएको छ । उपभोक्ता ग्राहकले पनि हामीलाई धन्यवाद भन्नुभएको छ । पानी भएको बेलामा केयूकेयलले हामीलाई राम्रै पानी पुर्याउँछ भन्नेमा विश्वस्त हुनुहुन्छ । हामीले सुरु गरेको अनलाइन सेवापछि ग्राहकहरुको गुनासो तुरुन्तै लिएर समस्या समाधान गर्न सफल भएका छौँ ।’

मन्त्री चौधरी र सिइओ शाक्य बीचमा कस्तो खटपट भएको हो भन्ने प्रश्नमा उनले केही खुलाएनन् । कर्मचारीहरु, मन्त्री सबैसँग राम्रो सम्बन्ध बनाएर केयूकेएललाई अगाडि बढाउने काममा आफू लागिपरेको उनले बताए । 

को हुन् मिलन शाक्य ? 
२ वर्षअघि खुला प्रतिस्पर्धाबाट केयूकेएलको कार्यकारी निर्देशक भएका शाक्यले काठमाडौंमा मेलम्चीको पानी वितरणका लागि अहोरात्र खटिएका थिए । मेलम्चीको पानी काठमाडौंका घर घरका धारामा पुग्ने प्रणालीलाई व्यवस्थित गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

 ग्राहकहरुले अनलाइन प्रविधिमार्फत नै आफ्नो घरको धारामा पानी नआएको जानकारी गराउन सक्ने, आफ्ना गुनासा सुनाउन सक्ने व्यवस्था गरेका थिए । गुनासो आउने वित्तिकै सम्बन्धित स्थानमा गएर तुरुन्तै मर्मत सम्भारको व्यवस्था गर्ने काम प्रभावकारी रुपमा अघि बढाएका छन् । केयूकेयलमा राम्रो काम गर्दा गर्दै पनि खानेपानी मन्त्री चौधरी आएपछि बाधा उत्पन्न गरेको आन्दोलनको विपक्षमा रहेका केयूकेएलका कर्मचारी संगठनका पदाधिकारीहरूको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप