मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा अझै खरिद भएन विपद व्यवस्थापनका आवश्यक सामग्री

आइतबार, १९ असार २०७९, ०७ : ०७
आइतबार, १९ असार २०७९

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अझै प्राकृतिक विपद व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गरेको छैन । प्राकृतिक विपदका समयमा हुने सम्भाव्य जनधनको क्षति कम गर्न आवश्यक खोज तथा उद्दार सामग्रीहरू अझै खरिद गरिएको छैन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि खोज तथा उद्दार सामग्री खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

मन्त्रालयका अनुसार सामग्री खरिदका लागि मन्त्री स्तरीय निर्णय भई आवश्यक सामग्रीको विवरण समेत तयार भइसकेको छ । ‘मन्त्रीस्तरीय निर्णयबाट टिप्पणी उठेको थियो’ मन्त्रालयका एक कर्मचारीले भने– सचिव विदामा भएकाले खरिदको काम अघि बढ्न सकेन ।’ उनले विपद व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गर्न चालुतर्फ बजेट विनियोजन गरिएको बताए । उनले भने– चालु तर्फको रकम खर्च गर्न असार १५ गतेभित्र सबै प्रक्रिया पुगेको हुनुपर्छ । तर, मन्त्रीस्तरीय टिप्पणी तयार भए पनि सचिव नहुँदा सो प्रक्रिया अघि बढ्न सकेन ।

मन्त्रालयका सचिव कमलराज ढकाल शनिबारसम्म पनि विदामा रहेका छन् । ती कर्मचारीले भने– हामीले सबै तयार पारिसकेका थियौं । सचिव हुनुहुन्न, त्यसैले अब खरिद गर्नसक्ने अवस्था पनि भएन ।
मन्त्रालयले विपद व्यवस्थापनका क्रममा खोज तथा उद्दारका लागि आवश्यक पर्ने झोला, टर्च लाइट, गतिशिल डोरी, पहिलो सहायता बक्स, गोताखोर सुट, रक हेल्मेट, स्टे«चर लगायतका सामग्री खरिद गर्ने तयारी गरेको थियो ।

मन्त्रालयले समय अभाव देखाउँदै खोज तथा उद्दारका लागि आवश्यक सामग्री खरिद गर्न नसकेको मन्त्रालयका योजना अधिकृत मनोज जोशीले बताए । उनले भने– तीन वटा कम्पनीबाट खोज तथा सामग्री खरिदका लागि लागत संकलन गरि टिप्पणी उठाएका थियौं, तर सचिव नहुँदा यो कार्य अघि बढ्न सकेन । उनले अब आगामी आर्थिक वर्षमा खोज तथा उद्दार सामग्री खरिदका लागि प्रक्रिया अघि बढ्ने बताए ।
मन्त्रालयले ती सामग्री खरिद गरि प्रदेशमा रहेका सशस्त्र प्रहरी कार्यालयमा हस्तान्तरण गर्ने तयारी गरेको थियो । ‘विपदको समयमा जनधनको क्षति हुन नदिन सुरक्षा निकाय तयारी अवस्थामा हुन्छन्् । उनीहरूलाई कुनै पनि सामग्री अभाव हुन नदिन यो खरिद प्रक्रिया अघि बढाउने तयारी भएको थियो,’ उनले भने ।

हरेक वर्ष खोज तथा उद्दार सामग्री अभाव भएकै कारण प्रदेशमा प्राकृतिक विपदका घटनामा जनधनको क्षती हुने गरेको छ । गत वर्ष असोजको अन्त्य र कार्तिकको पहिलो साता आएको बेमौसमी वर्षामा पनि खोज तथा उद्दार सामग्री अभाव भएपछि प्रदेशका पहाडी जिल्लामा हेलिकोप्टर प्रयोग गरिएको थियो । 

‘खोज तथा उद्दारमा हेलिकोप्टर प्रयोग हुँदा मन्त्रालयको खर्च बढ्ने गर्दछ,’ मन्त्रालयका निमित्त सचिव विश्वदिप वेर्साले भने– यस वर्ष हामीले कम भन्दा कम हेलिकोप्टर प्रयोग गर्न तयारी गरिरहेका छौं ।
सुदूरपश्चिम प्रदेशमा यस वर्षको बैशाखदेखि असार तेस्रो सातासम्म चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश, जनावर आतंक, बाढी पहिरो, डुबान लगायतका एक सय २६ घटना भएका छन् । ती घटनामा १३ जनाले ज्यान गुमाएका छन् । ४८ जना वेपत्ता भएका छन् । बैशाखदेखि असारसम्म प्राकृतिक विपदका घटनामा एक सय ४४ घरपरिवार प्रभावित भइसकेका छन् । विपदका घटनामा ८२ घरमा पूर्ण रुपमा क्षती भएको छ भने ३४ घरमा आंशिक क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा यस वर्ष दुई लाख बढी जनसंख्या विपदका घटनाबाट प्रभावित हुने अनुमान गरिएको छ । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, डुबान लगायतका विपदका घटनाबाट प्रदेशमा यस वर्ष दुई लाख ६३ हजार तीन सय १५ जना प्रभावित हुने अनुमान गरिएको हो । प्रदेश सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ अनुसार यस वर्ष कैलाली र कंचनपुर जिल्लामा बाढीका कारण कुल दुई लाख तीन हजार छ सय ९५ जनसंख्या तथा अन्य सात जिल्लाहरूमा पहिरोका कारण ५९ हजार सात सय २० जना प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

बाढीका कारण सबैभन्दा बढी कञ्चनपुरमा प्रभावित हुने अनुमान गरिएको छ । सो कार्ययोजना अनुसार कञ्चनपुरमा एक लाख नौ हजार आठ सय १८ जना प्रभावित हुने अनुमान गरिएको छ । बाढी र पहिरोको उच्च जोखिममा रहेको कैलालीमा ९३ हजार आठ सय ७७ जना प्रभावित हुने अनुमान गरिएको छ ।

प्रदेशका सात पहाडी जिल्लामा पहिरो र बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ । सो कार्ययोजना अनुसार डोटीमा १४ हजार चार सय ६१, बाजुरामा ११ हजार दुई सय ८४, बैतडीमा १० हजार ८५, डडेल्धुरामा नौ हजार तीन सय २५, बझाङमा पाँच हजार दुई सय ७१, अछाम चार हजार आठ सय एक र दार्चुलामा चार हजार तीन सय ९३ जना प्रभावित हुने अनुमान गरिएको छ ।

‘नेपाल मनसुन फोरमले, यस वर्ष कैलाली, कञ्चनपुरको दक्षिणी क्षेत्र तथा बझाङ, बाजुरा र दार्चुला जिल्लाको उत्तरी भगमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखी ६५ प्रतिशत रहेको छ भने अन्य स्थानहरूमा ३५ देखि ५५ प्रतिशत सम्भावना रहेको पाइन्छ’ सो कार्ययोजनामा भनिएको छ– यस विश्लेषणका आधारमा यस वर्षको मनसुनमा विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने आंकलन गर्न सकिन्छ ।’

विगत ११ वर्षको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा कुल एक सय ६९ वटा बाढीका घटनाहरू भएका थिए । जसमा ७१ जना मानिसको मृत्यु भएको थियो भने २२ जना घाइते र ५३ जना वेपत्ता भएका थिए । कैलाली, कंचनपुर जिल्लामा बाढी तथा डुबानका घटनाहरू अत्याधिक रहेको तथा बझाङ, डोटी, बाजुरा जिल्लामा पनि बाढीका घटना घटेको सो कार्ययोजनामा उल्लेख छ । २०६८ देखि २०७८ सम्मको अवधिमा प्रदेशभरी दुई सय २६ वटा पहिरोका घटना घटेका कारण एक सय ३२ जना मानिसको मृत्यु भएको, ९९ जना घाइते तथा २६ जना बेपत्ता भएका थिए ।  

आर्थिक वर्ष २०७७/७८ मा चार सय तीन वटा विभिन्न विपदका घटना भएकोमा ५९ जना मृत्यु भएको थियो भने १० जना वेपत्ता र एक सय ३२ जना घाइते भएका थिए । विपदका विभिन्न घटनाबाट पाँच सय २७ घर परिवार प्रभावित भएका थिए । सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको विपद जोखिम नक्सांकन अनुसार बाढीको मध्यम जोखिममा कैलाली र कञ्चनपुर रहेको छ भने पहिरोको जोखिममा अछाम, बैतडी, बझाङ, बाजुरा, दार्चुला र डोटी जिल्ला रहेका छन् । खडेरीको उच्च जोखिममा अछाम रहेको छ भने जोखिममा बझाङ, बाजुरा, डडेल्धुरा र डोटी रहेको उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप