शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सातौं पटक अध्यक्ष जित्ने घोराहीका ‘पानी बा’

सोमबार, २७ असार २०७९, १३ : ०३
सोमबार, २७ असार २०७९

शिरमा ढाका टोपी, सेतै फुलेका कपाल, चाउरिएका गाला, खिस्स हाँस्दा देखिने सेता दाँत, प्रत्येक दिन बिहान बजारको कहिले कुन गल्ली चहार्दै ‘पानी आयो ?’ भनेर प्रश्न सोध्दै हिँड्ने व्यक्ति हुन् देवीबहादुर डिसी अर्थात ‘पानी बा’ ।

उमेरले सात दशक पार गरिसकेका डिसी २०५४ सालदेखि घोराही खानेपानी तथा सरसफाई संस्थामा आबद्ध रहेर यसैगरी काम गर्दै आएका छन् । मर्निङ वाक निस्कने, कहाँ पानीको समस्या छ, त्यहाँ पुुग्ने । नभए उपभोक्ताको हालखबर सोध्दै हिँड्ने उनको दैनिकी नै छ ।

उपभोक्ताले पनि उनलाई ‘पानी बा’ भनेर सम्बोधन गर्दछन् । उपभोक्ताको मन जितेरै उनले २०६० सालदेखि निरन्तर अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । आइतबार उनी सातौं कार्यकालका  लागि अध्यक्षमा निर्वाचित भए । दुुई हजार २९४ मत प्राप्त गरी डिसी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायणप्रसाद भुषालले एक हजार ८५ मत प्राप्त गरेका थिए ।

२००५ सालमा घोराहीमै जन्मिएका डिसीले २०२८ सालमा कानुन र राजनीतिक शास्त्रमा स्नातक गरे । उनले २०३५ देखि ०४१ सालसम्ममा अधिवक्ताका रुपमा काम पनि गरे । दुई दशक यता खानेपानी संस्थामा आबद्ध भई उनी घोराहीवासीको सेवामा समर्पित छन् ।

२०६० सालसम्म घोराहीमा बजारीकरण विस्तारै बढ्ने क्रममा थियो । तर पानीको अभाव पनि उत्तिकै थियो । जब ०६० सालमा उनी खानेपानीमा प्रवेश गरे, उनले तीन चरणको खानेपानी योजनाको खाका तय गरे– अल्पकालीन, मध्यकालीन र दीर्घकालीन ।

अल्पकालीन योजना अन्तर्गत कटुवा खोलाको पानी प्रशोधन गरी उपभोक्ताको धारामा पठाउने, मध्यकालीनमा बजारमा पानीको अभाव परिपूर्ति गर्न डिप बोरिङ र टोलटोलमा पानीको ट्याङ्की निर्माण गर्ने र दीर्घकालीन योजनामा घोराहीलाई पानीमा आत्मनिर्भर बनाउने गरी योजना तय गरेको उनी बताउँछन् ।

अल्पकालीन योजना अनुसार उनले ०६० देखि ०६५ सालसम्ममा १३ करोडको लागतमा पानी प्रशोधन केन्द्र ३, डिप बोरिङ ७ र ट्याङ्की निर्माण ७ गरी खानेपानी सहज व्यवस्थापन र स्वच्छता ल्याउने काम गरे । ०६६ देखि ७ करोडको लागतमा खानेपानी व्यवस्थापन संचालन तथा पुनः निर्माणको योजना सञ्चालन गरी विभिन्न संरचनाको मर्मतसम्भारसहित २२ किलोमिटर खानेपानी पाईप विस्तार,  घोराहीको गुुलरिया, विकास नगर टोल अद्वैत मार्ग ४५० घनमिटरको ट्याङ्कीसहित डिप बोरिङ निर्माण गरेका थिए ।

डिसीले दीर्घकालीन योजनामा अबको ४० वर्षसम्म घोराहीमा खानेपानी अभाव हुन नदिन बबई लिफ्ट खानेपानी आयोजना निर्माणको काम थालनी गरेकोे बताए । जसको काम २०७४ सालदेखि सुरु भए पनि कोरोना महामारीका कारण काम रोकिएको उनी बताउँछन् । तर अहिले उक्त बबई लिफ्ट आयोजना खानेपानी विभागबाट स्वीकृत भई ठेक्का सम्झौतासम्म पुगिसकेको उनले बताए । अहिले घोराहीमा प्रतिसेकेण्ड १३० लिटर पानीको स्रोत रहे पनि आगामी कार्यकालभित्र घोराही बजारमा प्रति सेकेण्ड २५० लिटर पानी झार्ने लक्ष्य रहेको उनको भनाइ छ ।

गठबन्धन प्यानल नै विजयी

घोराही खानेपानी तथा सरसफाई संस्थाको आइतबार सार्वजनिक निर्वाचन परिणाम अनुुसार गठबन्धन प्यानल विजयी भएको छ । जसमा अध्यक्षमा देवीबहादुर डिसीले दुुईहजार २९२ मत प्राप्त गरी सातौं पटक अध्यक्षमा निर्वाचित भएका हुुन् । उनका प्रतिस्पर्धी संयुक्त प्यानलका नेकपा एमालेका प्रदेश सदस्य नारायणप्रसाद भुुषालले एक हजार ८५ मत प्राप्त गरेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेयले १ हजार ८८२ मत प्राप्त गरी विजयी भए । त्यस्तैै महिला उपाध्यक्षमा हेमन्ती रोका, सचिवमा धर्मेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा धु्रव केसी, महिला सदस्यमा खुमा खड्का, यसोदा पाण्डे र बिन्दु पाण्डेय, खुल्ला सदस्यहरुमा किशोर आचार्य, दिनेश वली र युवराज आचार्य विजयी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप