शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सावधान ‘हनी ट्रयाप’ मा परिएला !

सुन्दर केटी प्रयोग गरी लुट्ने गिरोह सक्रिय
बिहीबार, ३० असार २०७९, ०६ : ४८
बिहीबार, ३० असार २०७९

फेसबुकमा सामान्य चिनजान भएकी मनिषा परियारलाई भेट्न युवा दीपक पाण्डे गत जेठ २४ गते कोटेश्वर पुग्छन् । मनिषाले आफू भोलि नै घर जाने र केही दिन भेट नहुने बताउँछिन् । त्यस दिनको भेटघाटमा उनीहरू खाजा खाएर छुट्टिन्छन् । 

पर्सिपल्ट नै दीपकलाई मनिषाको पुनः फोन आउँछ । उनी आफू घर नगएको जानकारी दिँदै भेट्न चाहेको भनेर चाबहिल बोलाउँछिन् । मनिषाले आफू ट्याक्सीमा आउने र त्यो भाडा तिरिदिनु पर्ने पनि बताउँछिन् । उनीहरू साँझ साढे ४ बजेतिर ओम हस्पिटल नजिकै भेट्छन् । भेटमा उनले एउटा इयरफोन पनि किन्न लगाउँछिन् । 

दुबै त्यही नजिकै रहेको क्याफेमा खाजा खान्छन् । त्यसको केही समयपछि मनिषाले टाउको दुःखेको बहाना गर्छिन् । उनी आफै आराम गर्नुपर्यो भन्दै एउटा कोठा खोज्न लगाउँछिन् । सोझा दीपक ओम अस्पताल नजिकै पूर्वेली गेस्ट हाउसमा दुई वटा बिस्तरा भएको एउटा कोठा लिन्छन् । केहीसमय छुट्टा छुट्टै बिस्तरामा बसे पनि साथीको टाउको दुःखेकाले दीपकले मनिषाको टाउको मसाज गर्दिन्छन् । करिब २० मिनेट जति बसेर उनीहरू घर फर्किन्छन् । दीपकका अनुसार उनीहरुबीच कुनै शारीरिक सम्पर्क भएन । छुट्टिने बेला हाँसीखुसी फर्किन्छन् । 

तर त्यहाँबाट फर्किएको केही समयमै मनिषाले दीपकलाई फोन गरेर अब बलात्कारको मुद्दा लगाउने चेतावनी दिन्छिन् । उनको दाइ बताउँदै एकजनाले फोन गरेर आफू पोखरामा भएको र बहिनीलाई के गरिस् ? तँलाई ठिक पार्छु भन्दै धम्क्याउँछन् । 

फेरि केही छिनमै उनलाई अर्को नयाँ नम्बरबाट ‘बलात्कारी पख्, १५ वर्षको किशोरीलाई होटलमा लगेर बलात्कार गर्ने ? अब १४÷१५ वर्ष जेल जान्छस् ।’ भन्ने म्यासेज आउँछ । भोलिपल्ट फेरि पत्रकार बताउँदै अर्की एक जना महिलाले फोन गरिन् । उनले त झन् दीपकको घर आफूलाई थाहा भएको बताउँदै मुद्दा मिलाउने भए बौद्धको नयाँ बस्तीमा आउन भन्छिन् । चारैतिरबाट फसेको अनुभव गरेपछि दीपक पत्रकार बताउने महिलाले बोलाएको ठाउँमा पुग्न विवश हुन्छन् । 

त्यहाँ मनिषा, उनको मामा बताउने र पत्रकार बताउने तीन जनालाई दीपकले भेट्छन् । बाटोमा उभिएर भन्दा कतै बसेर कुरा गर्ने भन्दै उनीहरू नजिकै रहेको क्याफेमा जान्छन् । मामा बताउनेले ‘बलात्कार गरिस्, अब तैँले मर्नुपर्छ, नभए देश छाडेर भाग्नुपर्छ’ भन्दै धम्क्याउँछन् । उनले अब नायक पल शाह जस्तै जेलमा सड्ने बताउँछन् । 

लगत्तै एउटा सर्त तेर्स्याइन्छ, ‘२० लाख दिए आफूहरू चुप लाग्ने ।’ तर दीपकले आफूसँग त्यत्रो पैसा नभएको भन्दै बार्गेनिङ सुरु हुन्छ । निकै लामो कुराकानी पछि केटी पक्षले ७ लाख भन्दा कममा आफूहरू राजी हुन नसक्ने बताउँछन् ।  निमा लामा नामको खातामा पैसा जम्मा गर्न भन्छन् । दीपकले त्यो खातामा ५० हजार रुपैयाँ जम्मा गरिदिन्छन् । तर त्यो समूहले उनलाई त्यति पैसाले नहुने भन्दै जेल लैजाने धम्की दिन छाड्दैन । 

पछिल्लो समय नेपालमा ‘हनि ट्रयाप’ को घटना बढ्दो छ । इन्टरनेटको सहज पहुँचले  जोकोहीसँग जोडिएर साथी बनाएर संगठित गिरोह नै सक्रिय भएर ट्रयापमा पारिरहेका छन् । पैसा भएको र फसाउन सकिनेलाई यो गिरोहले लामै अनुसन्धान गरेर जालमा पारेको पाइन्छ । सुन्दर र आकर्षण महिलाको प्रयोग गर्ने शैली यो गिरोहले अपनाएको छ ।

मनिषाको श्रृंखलाबद्ध जालो 

माथि चर्चा गरिएकी उनै मनिषा परियारको नामबाट फेसबुकमा गत जेठ २० गते आनन्द खड्कालाई ‘फ्रेन्ड रिक्वेस्ट’ आउँछ । उपत्यकाकै माइक्रो चालक रहेका उनले ‘फ्रेन्ड रिक्वेस्ट’ एसेप्ट गर्छन् । सामाजिक सञ्जालमा साथी बनेपछि उनीबीच म्योसेन्जरमा कुराकानी सुरु हुन्छ । मोबाइल नम्बर साटासाट भएपछि उनीहरूको फोनमा घर परिवार, आफन्तको बारेमासमेत कुरा हुन थाल्छ । 

आनन्दलाई मनिषाले काठमाडौंमा आफू एक्लै बस्ने बताएकी थिइन् । फोनमा कुराकानी बाक्लिँदै गएपछि मनिषा आफैले आनन्दलाई कोटेश्वर भेट्न बोलाउँछिन् । उनीहरुले कोटेश्वरको पुलमुनि भेटघाट गर्छन् । भेटको क्रममा मनिषाले टौदह घुम्न जान मन लागेको बताउँछिन् । उनको ईच्छाबमोजिम उनीहरू मोटरसाइकलमा टौदहतिर लाग्छन् । धोबीघाट पुगेपछि मनिषाले बर्गर खान मन लागेको इच्छा जाहेर गर्छिन् । बर्गर नभेटिएपछि आनन्दले चोभारमा पानीपुरी खुवाउँछन् । 

टौदह नपुग्दै फेरि उनीहरू खाजा खान एउटा होटलमा पस्छन् । गर्लफे्रण्ड र ब्याइफ्रेण्ड जस्तो उनीहरू एकअर्कासँग जिस्किन्छन् । त्यही क्रममा मनिषाले आनन्दलाई चुम्बनसमेत गर्छिन् । 

प्रेममयको उत्कर्ष समयमा आनन्दको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । कामले कसैले गर्यो होला भनेर उठाएको त धम्कीसँगै गाली बर्सिन थाल्छ । त्यही समय मनिषा होटलबाट बाहिर निस्किन्छिन् । उनी मनिषाको पछि पछि जान्छन् तर एकछिन अगाडिसम्म मायाप्रेम दर्शाएकी मान्छेले एकाएक ‘अब तँलाई फसाइदिन्छु’ भन्दै धम्क्याउँछिन् । 

नियत ठिक नभएको मान्छे, आफ्ना आफन्तलाई भनेर ठिक पार्ने भन्दै धम्क्याएर हिँडिछन् । केही समयपछि मनिषाको भिनाजु बताउँदै एक पुरुषको फोन आउँछ । मेरो सालीलाई के गरेको ए ? भन्दै उनले  बलात्कार मुद्दा हाल्छु भन्दै धम्क्याएर आफै फोन काट्छन् । 

सोही दिन बेलुका फेरि मनिषाको दिदी बताउदै अर्की महिलाले फोनमा थर्काउँदै कोटेश्वरमा भेट आइज, नत्र जे पनि हुन सक्छ भनेर झपार्छिन् । 

टेन्सनमा रहेका आनन्दले नभेट्ने त कुरै थिएन । जेठ २५ गते बेलुका ६ बजेतिर एक जना वकिल र एक जना पत्रकार बताउने व्यक्तिसँग आनन्दको घर नजिकै रेस्टुरेन्टमा भेटघाट हुन्छ । भेटघाटमा प्रहरीकोमा जानुभन्दा मुद्दा मिलाउने कुरा हुन्छ । 

जेठ २९ गते आफूलाई समाजसेवी बताउने एक व्यक्तिले ‘बलात्कार गर्नुभएछ, म सबै मिलाइदिन्छु । तर, तपाईंले पीडितलाई पैसा दिनुपर्छ’ भन्दै फोन गर्छन् । ललितपुरको नखिपोट एक खाजा घरमा त्यो समूहले बोलाएपछि आनन्द त्यहाँ पुग्छन् । त्यहाँ मानषी, पत्रकार बताउने युवती, वकिल र समाजसेवी बताउने दुई पुरुष थिए । उनीहरूको बीचमा युवतीलाई पैसा दिनुपर्ने कुरा हुन्छ । 

यसरी परे पक्राउ

असार २ गते डिकबहादुर भन्नेले टेलिफोन गरेर आनन्दलाई मीनभवमा बोलाउँछ । नआए फसाइदिने धम्की दिएपछि उनी त्यहाँ पुग्छन् । त्यहाँबाट मनिषा, सञ्जीव दर्जी, निमा लामा र डिकबहादुर शर्मालाई प्रहरीले पक्राउ गर्छ । साथै, पासाङ लामा र निकिता केसी तीनकुनेबाट पक्राउ पर्छन् । 

किनकि उक्त समूहको धम्कीबाट आजित भएर दीपक र आनन्दले उपत्यका अपराध महाशाखामा उजुरी गरिसकेका थिए । भिनाजु बनेका निमा लामा (दोलखा), पत्रकार बनेकी निकिता केसी (भक्तपुर), सामाजिक अभियन्ता र वकिल बनेका रमेश भनिने डिकबहादुर शर्मा (खोटाङ) रहेको खुलेको छ । 

यस्तै उनीहरुसँगै यस घटनामा संलग्न पासाङ लामा (दोलखा), शुक्रराज दर्जी (झापा) माथि पनि प्रहरीले आपराधिक कसुरमा मुद्दा चलाएको छ । मनिषा परियार जम्मा १६ वर्षकी छिन् । उनलाई माध्यम बनाएर यो समूह ठगी गर्ने अभिप्राय बनाएको रहेछ । 

यस घटनाको मुख्य नाइके निमा लामा हुन् । उनी कुनै पनि क्रियाकलापमा प्रत्यक्ष संलग्न रहँदैनन् तर कसलाई फसाउने भन्ने अनुसन्धानमा उनको मुख्य भूमिका रहेको प्रहरीले जनाएको छ । यो समूहले पहिले पनि अन्य व्यक्तिहरुलाई पीडित बनाएको हुन सक्ने प्रहरीको अनुमान छ । 

जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नेपालमा हनि ट्रयापको घटना देखिएको एक दशक भएको छ । यसमा समूह नै परिचालित हुन्छन् । मैनाली भन्छन्, ‘यस खालका घटनामा सुन्दर र आकर्षक महिलालाई प्रयोग गरिएको हुन्छ ।’ 

धेरैले आफ्नो इज्जत जाने डरले प्रहरीसम्म नआएर अपराधीले मागेजति पैसा दिएर आफै घटना साम्य पार्छन् । पैसा दिनै नसक्ने अवस्था आएपछि मात्रै यस्ता घटना प्रहरीसामु आउने मैनाली बताउँछन् । सुन्दर केटीको मोहमा धेरै विद्वान् तथा व्यवसायीहरू फसेको उनको भनाइ छ । 

यो गिरोहले फसाउने मान्छेमाथि लामो अनुसन्धान गर्ने प्रवक्ता मैनालीको भनाइ छ । उनी भन्छिन्, ‘पहिले पैसा भएको मान्छे हेर्छन् । र, दोस्रो फसाउन सकिने मान्छेलाई टार्गेट बनाएका हुन्छन् ।’ व्यक्तिले आफ्नो व्यवहार र आचरण राम्रो बनाउन जोड दिनुपर्ने उनको भनाइ छ । खराब मनसाय बोकेका व्यक्तिसँग आफैले दूरी बनाउनुपर्ने प्रवक्ता मैनालीको भनाइ छ । 

के हो हनी ट्रयाप ? 

महिलाको शारीरिक आकर्षणमा लोभ्याएर फसाउने कला हो, ‘हनी ट्रयाप’ । यसमा सुन्दर महिलालाई प्रयोग गरेर प्रेमभाव देखाइन्छ । 

साथै, बिस्तारै शारीरिक सम्बन्धको लोभ देखाइन्छ । त्यसपछि परिस्थिति आफू अनुकूल बनाउँदै लगिन्छ र अन्त्यमा फसाइन्छ । खास गरी रूपवती युवतीलाई प्रयोग गर्ने शैली यसले अपनाएको हुन्छ । फेसबुक, फोन वा हाई प्रोफाइल पार्टीमार्फत लक्षित व्यक्तिसँग युवतीको परिचय सँगै मित्रता सुरु गरिन्छ । पछि बिस्तारै उनीहरू नजिकिँदै आपसमा घुलमिल हुन थाल्छन् । त्यसपछि उनीहरुले पीडकबाट कैयन सूचना फुत्काउने काम गर्छन् । र, यसैलाई माध्यम बनाएर ब्लाकमेलिङ सुरु गर्छन् ।  

मुलुकी अपराध संहिताअनुसार आपराधिक लाभसम्बन्धी ‘हनी ट्रयाप’ जस्तो कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप