शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इन्सुरेन्सको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या, ६ जना पक्राउ

२ करोड ५० लाख रुपैयाँ भुक्तानीपछि खुल्यो हत्याको रहस्य
शुक्रबार, १३ साउन २०७९, १२ : २३
शुक्रबार, १३ साउन २०७९

ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । 

प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।  

पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । 

यो गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ । 

वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।  

यसरी खुल्यो हत्याको रहस्य

२ करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो । 

सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । 

मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्सुरेन्स कम्पनीले २ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । उक्त रकममध्ये मुख्या योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख छवि कुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको पाइएको छ । त्यसैगरी चालकले समेत रकम लिएको र बाँकी रकम सपना आफैँले राखेको प्रहरीले जनाएको छ । 

बीमा ठगी गर्न विवाह नै नक्कली !

गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्यु पश्चात बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड गर्न नक्कली विवाह गरेको पाइएको छ । सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको प्रहरीले जनाएको छ । गरिब परिवारका सर्जनलाई विवाह गरी अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गरिएको थियो ।

त्यसपछि विवाह गरेको समयपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ । २ करोड ५० लाख रुपैयाँको बीमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो । 

उक्त मृत्युपछि इन्सुरेन्स कम्पनीले रकम भुक्तानी गरेको भए पनि उक्त घटना शङ्कास्पद देखिएपछि रिलायन्स इन्सुरेन्स कम्पनीले सीआईबीमा अनुसन्धानका लागि पत्र लेखेको थियो । त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको पाइएको हो । 

दुर्घटनाभन्दा अगाडि र पछि पनि चालक टोप बहादुर रानासँग मुख्य योजनाकार सञ्जीव अर्यालको पटकपटक कुराकानी भएको, सपना र सञ्जीवबीच पटकपटक कुराकानी र रकम बाँडफाँड भएको देखिएको, योजनामा सघाउने सबैले रकम लिएको र घटनाबारे आरोपितहरूले कसुर स्वीकार गरेको सीआईबीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप