सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मझुवागढी नगरपालिकाले सवारी मर्मत र इन्धनमै सक्यो एक करोड सात लाख

आइतबार, १५ साउन २०७९, १० : ०१
आइतबार, १५ साउन २०७९

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा रु एक करोड सात लाख ४० हजार  एक सय ३९ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले सवारीसाधन मर्मतमा रु ५३ लाख ५८ हजार छ सय ५४ र इन्धन खरिदमा रु ५३ लाख ८१ हजार चार सय ८५ खर्च गरेको पाइएको हो ।

यस्तै मेसिनरी औजार मर्मत खर्चतर्फ रु छ लाख ८३ हजार ७०७ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सवारीसाधनको मर्मत तथा सम्भार खर्चसम्बन्धी अभिलेख राख्न मलेप फारम नं ४१५ प्रयोग गर्नुपर्नेमा उक्त फारम प्रयोग नगरिएकाले कुन सवारीसाधन मर्मतमा कति खर्च भएको विवरण प्राप्त नभएको जनाइएको छ ।

सवारीसाधन मर्मतका लागि स्वीकृत मर्मत आदेशानुसार मात्र मर्मत गराइ सोको आधारमा सम्बन्धित फार्मलाई बिल भुक्तानी तथा खर्च लेख्नुपर्नेमा सो विपरीत मर्मत आदेश बेगर कर्मचारी तथा पदाधिकारीलाई बिलका आधारमा मर्मत खर्च भुक्तानी गरेको प्रतिवेदनमा भनिएको छ । नगरपालिकाले मर्मत खर्चतर्फ तोकिएको ढाँचा फारम प्रयोग गरी आन्तरिक नियन्त्रण प्रभावकारी बनाउनुका साथै खर्चमा मितव्ययिता कायम गर्नुपर्ने महालेखा औंल्याएको छ ।

यस्तै सवारीसाधनको इन्धन खर्च लेख्दा लग सिट संलग्न गरेर मात्र भुक्तानी दिनुपर्नेमा सो अनुसार नभएको महालेखाले जनाएको छ । पालिकामा प्रयोग हुने हलुका तथा हेभी सवारीसाधनको इन्धन खर्चको अभिलेख नराखेको, सवारीसाधनको किसिम तथा कोटा तोकी सोअनुसार इन्धनको भुक्तानी दिनुपर्नेमा सो विपरीत कर्मचारी तथा पदाधिकारीले पेश गरेको बिलका आधारमा भुक्तानी दिएको पाइएको जनाइएको छ । 

नगरपालिकाबाट विविध खर्चतर्फ रु ३२ लाख ८५ हजार सात सय ८४ खर्च भएकामा अधिकांश खर्च कर्मचारी तथा पदाधिकारीको खाजा, खाना र चियामा भएको पाइएको छ । विविध खर्चतर्फ भएको अधिकांश खर्चमा कार्यक्रम र प्रयोजन खुलाइएको छैन । 

नगरपालिकाले विविध खर्चतर्फ आन्तरिक नियन्त्रण कायम गर्न आवश्यक देखिएको महालेखाले जनाएको छ । बगरेभञ्ज्याङ भ्युटावरसहितको वाटरपार्क निर्माणमा नगरपालिकाको तर्फबाट व्यहोर्नुपर्ने रु १४ लाख ८५ हजार आठ सय ५८ समेत प्रदेश समपूरकबाट व्यहोरेको देखिएकाले प्रदेश समपूरकको घटी फिर्ता देखिएकाले पालिकाको अङ्शको प्रदेश समपूरकबाट भएको रकम प्रदेश सञ्चित कोषमा फिर्ता हुनुपर्ने भनिएको छ ।

लागत सहभागिता गोश्वारा भौचर नं ३०३, २०७८ असार २४ गते मालाली बहुउद्देश्यीय कृषक समूहलाई तरकारी उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालनार्थ रु २२ लाख स्वीकृत भएको, त्यसमध्ये रु नौ लाख नगरपालिकाबाट दिने सम्झौता भएकोमा उक्त समूहले पेश गरेको बिल भरपाई अनुसार रु १८ लाखको मात्र काम भएकाले रु सात लाख ३६ हजार दुई सय भुक्तानी गर्नुपर्नेमा रु नौ लाख भुक्तानी दिइएकाले बढी भुक्तानी भएको रु एक लाख ६३ हजार आठ सय असुल गर्न भनिएको छ ।

विसं २०७८ असार २७ मा बुइपा स्थित उर्लेनी धिवा–कट्टी खानेपानी उपभोक्ता समितिलाई रु ११ लाख ८६ हजार चार सय भुक्तानी गरेकामा समितिले २०७८ वैशाख ७ मा रु तीन लाख १५ हजार पेश्की लिइ कार्य गरेकामा उक्त पेश्की रकम कट्टा नगरी रकम भुक्तानी भएकाले पेश्की रकम असुल गरी केन्द्रीय राजस्व खातामा दाखिला गर्नुपर्ने उल्लेख छ । छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप