शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन सुरक्षामा प्रहरीलाई २५ सय साना हतियार अपुग, सेनासँग सापटी लिइने

सोमबार, ०६ भदौ २०७९, १२ : २२
सोमबार, ०६ भदौ २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि साना हतियार अपुग हुने भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागि ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिनेबारे छलफल भइरहेको छ’, ती उच्च अधिकारीले भने, ‘स्थानिय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यसपटक पनि सेनालाई प्रस्ताव गर्नेबारे छलफल भइरहेको छ ।’

नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो ।

केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार प्रहरीले निर्वाचन सुरक्षा योजना बनाइरहेको छ । सामान्य, संवेदनशील र अतिसंवेदनशील मतदान स्थलमा प्रहरीको संख्या बराबर राख्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । सामान्य मतदान स्थलमा ३ प्रहरी ५ म्यादी, संवेदनशीलमा ३ प्रहरी ७ म्यादी र अति संवेदनशीलमा ३ प्रहरी ९ म्यादी प्रहरी राख्नेगरी छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका ती अधिकृतले रातोपाटीलाई बताए ।

प्रतिनिधिसभा र मतदानस्थल थपिने हुनाले प्रहरीले १ लाख २० हजार भन्दा बढी म्याद प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । स्थानीय तह निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थल थिए । यसपटकको निर्वाचनमा वृद्धाश्रम, कारागार र सरकारी कर्मचारीले पनि भोट हाल्न पाउनेगरी मतदान स्थल थप्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको छ ।

यसपटक १ सय मतदान स्थल र करिब ५ सय मतदान केन्द्र बढ्ने आकलन छ । मतदानस्थल र केन्द्र बढ्ने हुनाले म्यादी प्रहरीको संख्या बढाउनु पर्ने प्रहरीको प्रस्ताव छ । स्थानीय तह निर्वाचनमा २१ हजार ९ सय ५५ केन्द्र थियो । मंसिर ४ मा हुने चुनावमा १० वटा जिल्लामा ५ लाख मतदाता थपिएका छन् । 

५ लाख मतदाता थपिँदा ५ सय केन्द्र बढ्ने हुनाले कुल २२ हजार ५३४ केन्द्र हुने आकलन गरिएको छ । तर, निर्वाचन आयोगले मतदान स्थल र केन्द्रबारे निर्णय नगर्दा सुरक्षा योजना बनाउन ढिला भइरहेको प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।​

​ प्रहरीले निर्वाचन सुरक्षाका लगि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको छ । गाडी खरिदका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।

प्रहरीले ठुला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्न प्रस्ताव गरेको छ । जिप ५० वटा, डबल पिक्याप ३८५ वटा, प्रिजनर भ्यान २१७ वटा र टुटन ट्रक ४० वटा खरिद गर्न प्रस्ताव गरेको छ । बस १५ वटा र मोटरसाइकल १५ सय १७ वटा खरिद गर्न प्रस्ताव गरिएको छ ।

वैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा पनि प्रहरीले ६१० वटा गाडी किन्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थले सहमती नदिएपछि त्यतिबेला खरिद गरिएको थिएन । प्रहरीका लागी १३ सय गाडी आवश्यक रहेको डीआईजी राईले बताए । उनले भने, ‘पुराना गाडी धकेलेर चलाउनुपर्ने अवस्था छ ।’   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप