आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतलाई ‘राजीनामा’ को दबाब

मङ्गलबार, ०७ भदौ २०७९, १० : ५५
मङ्गलबार, ०७ भदौ २०७९

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतमाथि राजीनामाको दबाब बढ्न थालेको छ । यद्यपि उनको दल जसपा नेपाल भने यसबारे अझै अन्योलमा छ ।

प्रदेश सरकारको महत्वाकांक्षी योजना ‘बेटी पढाउ, बेटी बचाउ’ अन्तर्गत खरिद गरिएको साइकलमा अनियमितता भएको पाइएपछि मुख्यमन्त्री राउत आलोचित बनेका छन् । यो विषयलाई विपक्षी दलहरुले चुनावी एजेण्डा नै बनाउन सक्ने आकलन गरिएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियानमा पनि अनियमितता भएको भन्दै मुख्यमन्त्री राउत आलोचनाको निसाना बनेका छन् । प्रदेश सरकार विभिन्न काण्डमा मुछिएका कारण आसन्न निर्वाचनमा जसपाले समेत क्षति व्यहोर्नुपर्ने कतिपयको बुझाइ छ ।

तर, जसपा नेपाल भने उनको राजीनामा या बचाउ कुन रोज्ने भन्नेबारे अन्योलमा छ । चुनावको मुखमा मुख्यमन्त्रीलाई राजीनामा दिन लगाउँदा नकारात्मक सन्देश जाने त्रास एकातिर छ भने अर्कोतिर आलोचित भइसकेका मुख्यमन्त्रीको बचाउ गर्दासमेत जनमत घट्न सक्ने त्रास छ ।

​पार्टीभित्रका केही नेताले भने मुख्यमन्त्री राउतमाथि राजीनामाको दबाब बढाएको स्रोत बताउँछ । तर मधेस प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मुख्यमन्त्री राउतको राजीनामा सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए ।

पार्टीको बैठकमा आफू सहभागी नभएका कारण बैठकका क्रममा के कस्ता धारणा आयो भन्नेबारे जानकारी नभएको उनको भनाइ छ । मंगलबार दिउँसोसम्ममा मुख्यमन्त्री राउत काठमाडौंबाट जनकपुर आइसक्ने र मुख्यमन्त्रीसँग कुराकानी भएपछि मात्र केही बताउन सकिने उनले बताए ।

मधेस प्रदेश सरकारले साइकल खरिद गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले यसबारे थप अनुसन्धान गर्दै विशेष अदालतमा मुद्दा समेत दायर गरिसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको हो ।

मधेस प्रदेश सरकारले पहिलो चरणमा १० हजार र दोस्रो चरणमा १७ हजार गरी कुल २७ हजार साइकल खरिद गरेर छात्राहरुलाई वितरण गरेको थियो । १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्राण्डलाई नभएर ब्राण्ड नै नखुलाइएको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारले दायर गरेको आरोप पत्रमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप