बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा रकम कुम्ल्याउन बन्दको नाममा टिपरमा आगजनी

मङ्गलबार, ०७ भदौ २०७९, १९ : ००
मङ्गलबार, ०७ भदौ २०७९

दाङ केहीदिन देखि घोराही उपमहानगरपालिका वठा नं. ४ गोग्ली ग्यारेजमा थन्किएर बसेको रा १ ख १६९४ नम्बरको टिपर मंगलबार बिहानै ग्यारेजदेखि बाहिर निस्क्यो । बिहान करिब ४ बजे टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका अरुण चौधरी र उनका सहचालक गढवा – ७ आकाश चौधरीले टिपर लिएर हिँडे । ग्यारेजबाट टिपर हिँडेको केही समयमा नै बन्दकर्ताले त्यसमाथि आगजनी गरे भन्ने समाचार फैलियो । घटनाबारे प्रहरी कहाँ खबर पुग्दा टिपर जलेर खरानी भइसकेको थियो । 

जब प्रहरीले घटनाबारे अनुसन्धान सुरु ग¥यो, घटनाको अर्को पाटो खुल्यो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले भने, ‘प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा बन्दकर्ताले नभएर चालक र सहचालक आफैले टिपरमा आगो लगाएको खुलेको छ । 

गौतमका अनुसार केही दिनदेखि ग्यारेजमा रहेको टिपर बन्दको दिन एकाएक निस्किनु र आगजनीमा पर्नुले प्रहरीलाई घटनामा सुरुमा नै शङ्कास्पद लाग्यो । घटनास्थलबाट चालक र सहचालकलाई पक्राउ गरी आवश्यक सोधखोज गर्दा घटनाको रहस्य खुलेको उनले जानकारी दिए । घटनामा टिपरधनी धनेश्वर भण्डारीलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

‘आगजनीमा परेको टिपर करिब ४ वर्ष पुरानो हो । जसले दाङमा सञ्चालित सिमेन्ट उद्योगहरूको चुन ढुुङ्गा ढुवानी गर्ने काम गर्थ्यो । केही समयदेखि टिपर ग्यारेजमा थियो । गौतमले भने, ‘यसमा बीमा रकम कुम्ल्याउने दाउ देखिन्छ ।’ 

यता टिपर आगजनीको घटनालाई लिएर प्रहरीले बिहानदेखि बन्दकर्ताहरू पक्राउ गरेको थियो । करिव १० जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तर बन्दका दिन एकाबिहानै टिपर आगजनीमा नेपाल कम्युनिस्ट पार्टीको संलग्नता नभएको नेकपा दाङका सेक्रेटरी प्रदीपको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप