बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चार वर्षमा वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारले पाए दुई अर्ब ४१ करोड बढी आर्थिक सहायता

शुक्रबार, १० भदौ २०७९, १० : ४२
शुक्रबार, १० भदौ २०७९

बितेको चार वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारलाई आर्थिक सहायता स्वरुप २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी प्रदान गरिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार २०७५ साउनदेखि २०७९ असार मसान्त सम्मको अवधिमा मुत्यु भएकाको परिवारलाई उक्त आर्थिक सहायता उपलब्ध गरिएको हो ।

सो चार आर्थिक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ४ हजार १५४ जनाको परिवारलाई कुल २ अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गरिएको बोर्डले जनाएको छ । 

उक्त अवधिमा ४ हजार ४१ जना पुरुष र ११३ जना नेपाली महिला कामदारको वैदेशिक रोजगारीका क्रममा विदेशी भूमिमा मृत्यु भएको थियो । बितेका चार वर्षमा विदेशमा अलपत्र परेका ५५५ जना नेपालीको शव उद्धार गरी ल्याइएको बोर्डले जनाएको छ । उद्धार गरी ल्याइएको शवमा ५३३ जना पुरुष र २२ जना महिलाको रहेको थियो । 

बोर्डका अनुसार शव उद्धार गरी ल्याउने क्रममा ३ करोड ९७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । विदेशमा मृत्यु भएका नेपालीको शव उनीहरुको घरसम्म पुर्याउने क्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ खर्च भएको बोर्डले जानकारी दिएको छ । यसरी सो अवधिमा बोर्डले कुल ३ हजार ४१ वटा शवको निशुल्क ढुवानी गरेको थियो । 

बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा अंगभंग तथा गम्भिर विरामी भएकालाई बितेको चार वर्षमा ३१ करोड ९ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति वापत उपलब्ध गरिएको छ । यसरी क्षतिपूर्ति पाउनेमा ९२७ जना पुरुष र ४९ जना महिला  गरी कुल ९६७ जना रहेका छन् । 

वैदेशिक रोजगारीमा गएकाहरुको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गराउने कार्यमा पछिल्लो चार वर्षमा २ करोड ८१ लाख ४५ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । सो अवधिमा १ हजार २५९ जना पुरुष र २२९ जना महिला गरी कुल १ हजार ५५४ जनाको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गरिएको थियो । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु वा पूर्ण अशक्त भएका कामदारको ८ हजार ९०१ जना छोराछोरीलाई छात्रवृत्ति सहयोग वापत ७ करोड ५३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप