शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेयर बालेनले अब तुरुन्तै के के काम गर्नै पर्ला ?

शुक्रबार, १० भदौ २०७९, १२ : ०१
शुक्रबार, १० भदौ २०७९

गत वर्ष न्यूयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले लेखे, ‘विश्वभर स्थानीय सरकारका नेताहरुलाई देशले भोग्दै आएका समस्या समाधानमा निकै बलियो हिसाबले लाग्नुपर्ने आवश्यकता छ ।’​ब्लुमबर्गले भनेझैं मेयरहरुका समस्या, नेपाल भारत वा अमेरिकामा मात्र होइन, विश्वभरका महानगरमा उत्तिकै ठड्कारो छन् ।

विश्वभर नाम चलेका केही मेयरबारे चर्चा गरौं । उत्तरी ग्रिसको तटीय नगर थेसालोनिकीका मेयर यियानिस बुटारिस एक चर्चित मेयर हुन् । व्यापारिक घरानाका बुटारिस ६९ वर्षको उमेरमा उक्त महानगरको मेयरमा विजयी बने । उनी मेयर भएर आउँदा महानगरमाथि १० करोड युरो ऋण थियो । उनले यो समस्या हल गरे । उनी सन् २०११ देखि २०१९ सम्म दुई पटक उक्त नगरको मेयर बने । अहिलेको विश्वमा उनी सर्वथा लोकप्रिय मेयरका रुपमा परिचित छन् ।

अर्का लोकप्रिय मेयरमा जर्मनीको बर्लिन नगरका मेयर क्लाउस वोवेरिट पर्दछन् । उनले आफूलाई समलिंगी हुँ भनेर घोषणै गरेर चुनावमा आए । उनी तीन पटक मेयर बने । उनको अन्तिम कार्यकालमा बर्लिनमा निकै बेरोजगारी बढ्यो तर उनले यसलाई सम्हाले र नगरलाई समृद्ध बनाए ।

त्यस्तै क्यानाडाको क्यालग्यारी नगरका मेयर नाहिद नेन्सी पनि अर्का लोकप्रिय मेयर हुन् । उनी मुसलमान समुदायका मानिस हुन् । उत्तर अमेरिकाकै सबैभन्दा बढी अतिवादी मानिने अल्बेर्टा राज्यअन्तर्गतको उक्त नगरमा मेयर नेन्सीमाथि रियलस्टेट क्षेत्रका धनाढ्यहरुबाट पनि निकै दबाब परेको थियो । उनी डटेर लडे ।

भर्खरै पेरिसको मेयरमा निर्वाचित हुने एन हिडाल्गो पनि निकै लोकप्रिय छिन् । उनी पेरिसकी पहिलो महिला मेयर हुन् ।  उनले प्रहरीले म्याडम ला मारी भनेर गरेको सम्बोधनलाई अस्वीकार गर्दै यो महिलालाई सम्बोधन गर्ने शब्द भयो भनेर पुरुषबाची शब्द ले मारी भनेर सम्बोधन गर्न अनुरोध गरेकी थिइन् । उनले पेरिसलाई हरियाली सहर बनाउने घोषणा गरेकी छन् ।

गुस्टाभो पेट्रो कोलम्बियाको बोगोटा महानगरका मेयर हुन् । उनी सन् २०११ मा पहिलो पटक निर्वाचित भएका हुन् । उनी पूर्व साम्यवादी लडाकू हुन् । उनी स्थापित दलहरुसँगको दबाबमा एक पटक पदच्युत पनि गरिए । तर पछि अदालतले उनलाई पद बहाल गरेको थियो ।

एनिज पार्कर अर्की लोकप्रिय मेयरमा अमेरिकाको ट्याक्सस राज्यस्थित हस्टन नगरकी मेयर हुन् । उनी समलिंगी महिला हुन् । पार्करले सन् २०११ मा राष्ट्रपति बाराक ओबामालाई महिला समलिंगी अधिकारसम्बन्धि व्यवस्था छिटो गर्नसमेत दबाब दिएर अमेरिकामा चर्चा कमाएकी थिइन् ।

अर्जेन्टिनाको बोका जुनियर क्लबको नेतृत्व सम्हालेका मौरियो मार्सी सन् २००७ र २०११ मा ब्यूनर्स आयर्सको मेयरमा निर्वाचित भए । उनले वाटर ट्यापिड स्क्यान्डल र युनियन स्ट्राइकको व्यवस्थापन लगायतका विषयमा निकै साहसी काम गरेका थिए । उनले इजरायलको भ्रमण गरी प्रधानमन्त्री बेन्जामिन न्यातान्यहुलाई भेटी अपहरणमा परेका तीन युवकको रिहाइमा सहयोग गरेका थिए । मेयर मार्सी र उनकी दिदी पनि युवावस्थामा अपहरणमा परेका थिए ।

यसरी विश्वमा राम्रो काम गरेर लोकप्रियता कमाएका थुप्रै मेयर छन् । अब हाम्रो काठमाडौं महानगरका मेयरले पनि सुरु गरेका समाज सुधारक कामलाई हामी सबैले सहयोग गर्नुपर्दछ । सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरेर काठमाडौं सहरलाई सभ्य मानिस बस्ने सहरका रुपमा विकास गर्ने सुवर्ण अवसर आएको छ ।

त्यसैले हामी सबै मिलेर भनौं, ‘केही मानिसले विरोधमा कुरा गरे पनि जो जतिसुकै उफ्रिए पनि असल काम गर्न छोड्नुहुन्न मेयरज्यू । घर बनाउँदा अन्डरग्राउन्ड पार्किङ बनाउँछु भन्ने अनि त्यही पार्किडलाई भाडामा लगाउने किसिमका काम बन्द गर्नैपर्छ । त्यहाँ पसल खोलिन्छ । पसलमा काम गर्नेले बाटोमा मोेटरसाइकल रोक्छ । अनि भीड बढ्छ । त्यसैले व्यापारीले आवाज उठाए भन्दैमा अन्डरग्राउन्ड पार्किडमा पसल गर्ने र तिनको पक्ष लिने जुनसुकै संघसंगठनलाई छोड्नुहुन्न । तपाईंलाई जनताले साथ दिन्छन् ।’

मेयरसाहेब भन्दा त नराम्रो लाग्ला, कारण तपाईंहरुको जुहारी चल्दैछ तर धरानका मेयर हर्क साम्पाङको जस्तै तपाईंले पनि सर्वसाधारणबाट प्रसस्त समर्थन पाउनुहुनेछ । राम्रो कामको सबैले प्रशंसा गर्छन् ।

डा.बाबुराम भट्टराई र कुलमान घिसिडलाई जनताले साथ दिनुको कारण नै यही हो । तर मेयर साहेब त्यो रत्नपार्कको अन्डरपासमा महानगरले नै भाडामा दिएर पसल खोलाएको भन्ने आवाज पनि उठेको छ । यो पनि बन्द होस् ।

गरे हुन्छ । कुनै जमानामा रत्नपार्कमा पनि यस्तै पसल थिए । अहिले पार्क बनेको छ । माइतीघरमा ठूल्ठूला घर थिए । अहिले मण्डला बनेको छ । त्यसैले अब यस्ता सहरको रुप बिगार्ने र बाटोलाई कमाइ खाने भाँडो बनाउने प्रवृत्तिलाई तपाईंजस्तै सोच, जोश र जाँगर भएका मेयरले नै पूरा गर्नुपर्दछ । यसमा हामी पनि हाम्रो क्षेत्रबाट सकेसम्म सहयोग गरौंला ।

तपाईंलाई कलम हुनेले कलमले सहयोग गर्छन् । औजार हुनेले औजारबाट सहयोग गर्छन् । बोली बिक्नेले बोलीबाट सहयोग गर्छन् । नेपाली जनताले परिवर्तन चाहेका छन् । त्यसैले तपाईं ढुक्कले अगाडि बढ्नुहोस् ।

भरसक काठमाडौंको फोहोर काठमाडौंमै मल बनाएर प्रयोगमा ल्याऔं । यहाँ पैदा भएको फोहोरलाई अरु जिल्ला वा पालिकाका बासिन्दाको छिमेकमा लगेर फाल्नु हुँदैन । बरु अब बन्ने घरमा फोहोर व्यवस्थापनको वैकल्पिक उपाय पनि खोज्नुपर्दछ । यदि फोहोर व्यवस्थापनको उपाय दिन नसक्नेलाई घर बनाउनबाटै वञ्चित गरे पनि हुन्छ ।

अर्को पनि एउटा उदाहारण दिऊँ । भारतको व्यापारिक राजधानी मुम्बईमा २ करोड २५ लाख मानिस बसोबास गर्छन् । मुम्बई वृहत्तर महानगरमा दुई सय २७ वडा छन् । ती कुनै वडामा पानीको स्रोत छैन । तीनतिरबाट समुद्रले घेरेको तटीय सहर मुम्बईमा पानीको कमी छ । समुद्रको पानी नुनिलो भएकाले पिउन मिल्दैन ।

यस समस्याको समाधन महानगरले गर्न सफल भएको छ । मुम्बईको माथिल्लो पहाडी क्षेत्रमा ससाना खोलामा सातवटा बाँध बाँधेर ठूल्ठूला कृत्रिम पोखरी बनाइएको छ । यी पोखरीबाट दैनिक तीन अर्ब ५० लाख लिटर पानी सहरमा वितरण गरिन्छ ।

हाम्रो काठमाडौं उपत्यकाकै ठुलो समस्या भनेको फोहोर व्यवस्थापन हो । पछिल्लो जनगणनाअनुसार उपत्यकामा जम्मा ६ लाख ८४ हजार घरपरिवार छन् । महानगरको नेतृत्वमा सरकारी निजी सहकार्यमा काम गरौं ।

एउटा फोहोर व्यवस्थापन बोर्ड गठन गरौं । हरेक घरभेटीलाई आफ्नो गच्छेअनुसार हिस्सा बाँडौं । प्रतिघर १० हजार रुपैयाँको सेयर दिँदामात्र पनि पनि ६ अर्ब ८४ करोड रुपैयाँ जम्मा हुन्छ ।

यही पैसाले कुनै ठाउँमा जग्गा किनौं । उपत्यकाभित्रै जग्गा किन्न सकिन्छ । अझ पैसा पुगेन भने सर्वसाधारणका लागि सेयर खुलाऔँ । मानिसहरु सेयरमा लगानी गर्न इच्छुक छन् । सजिलै २० देखि ३० अर्ब रुपैयाँ उठ्छ । सके ५० अर्ब नै उठ्ला । अहिले पनि काठमाडौंको काँठ क्षेत्रमा प्रसस्त जमिन छ । रोपनीको पाँच करोडै परे पनि ५ सय रोपनी जमिन २५ अर्बमा पाइन्छ ।

बाँकी पैसाले कम्पोस्ट मल कारखाना खोलौं । उपत्यकामा दैनिक २ हजार टन फोहोर जम्मा हुने आकलन गरिन्छ । योमध्ये ७५ प्रतिशत कुहिने फोहोर हुन्छ । भनौं दैनिक १५ सय टन फोहोर जम्मा गरेर कुहाएर मल बनाउने हो भने यसबाट २५ प्रतिशत अथवा दैनिक करिव ५ सय टन मल निकाल्न सकिन्छ । केजीको १० रुपैयाँमा बेच्ने हो भने दैनिक ५० लाख रुपैयाँ मल बिक्रीबाट कमाइ हुन्छ ।

यसो गर्दा महानगरलगायतका नगरले महिनामा १५ अर्ब कमाइ गर्छन् । योमध्ये आधा पैसा उत्पादन तथा व्यवस्थापनमा खर्च भए पनि महिनाको साढे सात अर्ब कमाइले वर्षमा करिव ८० अर्ब भन्दा बढी कमाइ हुन्छ । कम्पोस्ट बनाउन खासै मेसिनको प्रयोग गर्नुपर्दैन । नाफाको २० देखि २५ प्रतिशत सेयरधनीलाई लाभांश दिए भैगो ।

त्यसैले काठमाडौंका मेयरज्यू, यो काम तुरुन्तै सुरु गरौं । पहिले काठमाडौं महानगरबाट सुरु गरौं । असल काममा अर्को महानगर तथा नगरका मेयरहरु पक्कै आउनुहुन्छ । यसो गर्दा हामीले देशलाई पनि ठूलो सहयोग गर्न सक्छौं । यसै त देशमा मलको हाहाकार छ । त्यसमा पनि हामीले दैनिक ५ सय टन मल सरकारलाई उपलब्ध गराउँदा महिनाको १५ हजार टन मल सरकारलाई बेच्न सक्छौं । वर्षमा ५ हजार ४ सय टन मल दिन सक्छौं ।

मेयरज्यू यस कामलाई अगाडि बढाइहालौं । यसबाट तपाइँप्रति मतदाताले गरेको आशा पूरा हुन्छ । अनि त तपाईं पनि माथि चर्चा गरिएका विश्वका लोकप्रिय मेयरका रुपमा चिनिनु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप