बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाराको एरोटेक उद्योगमा डाँका समूह र प्रहरीबीच झडप, एक प्रहरी घाइते

आइतबार, १९ भदौ २०७९, ११ : ५६
आइतबार, १९ भदौ २०७९

वीरगन्ज पथलैया औद्योगिक करिडोरको भलुहीमा स्थित  ग्याँस सिलिण्डर उद्योग एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच दोहोरो झडप भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको झडप हुँदा एकजना प्रहरी घाइते भएका छन् ।

मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न पुगेको खबर पाएपछि प्रहरी पुगेर रोक्न खोज्दा दोहोरो भीडन्त भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र वोगटीले जनाएका छन् । प्रहरी कारवाहीमा दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ। 

दोहोरो झडपका क्रममा डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बोगटीले  जनाएका छन् ।

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक-एक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुईजना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ । शनिबार मध्यरातमा १२÷१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योगमा पसेका थिए ।

डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो । डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गर्दा उनी घाइते भएको प्रहरीले जनाएको छ ।

शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ  । पक्राउ परेका दुईजनाको भने नाम सार्वजनिक गरिएको छैन । औद्योगिक सुरक्षा बलको रुपमा औद्योगिक करिडोरमा खटाईएका सशस्त्र प्रहरीलाई सरकारले हटाएपछि पुनः औद्योगिक करिडोर असुरक्षित हुन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप