शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाटा नेक्सन ईभी : एक घण्टामा फास्ट चार्जिङ, ३ सय किलोमिटरको माइलेज

मङ्गलबार, २८ भदौ २०७९, १२ : ४१
मङ्गलबार, २८ भदौ २०७९

नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो लोकप्रियताबीच टाटा नेक्सन ईभीले व्यवसायिक आक्रामकता बढाएको छ । भित्र्याएको छोटो अवधिमा नै नेक्सन ईभीले नेपाली बजारमा राम्रो पकड बनाउन सफल भएको छ । नेक्सन ईभीका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.ली.ले हाल नेपाली बजारमा नेक्सन ईभी मात्र एक हजार प्लस बिक्री वितरण भइसकेको बताएको छ भने थप एक हजार २०० प्लस ईभी अहिले पनि बुकिङमा रहेको कम्पनीको दाबी छ । 

कम्पनीले सन् २०२२ को जुनमा नेक्सन ईभी नेपालमा ल्याए पनि पेट्रोलियममा आधारित ‘नेक्सन’ मोडल भने कम्पनीले यसअघि नै ल्याएको थियो । ईभीमा समेत सोही मोडल ल्याउँदा गाडीको थप लोकप्रियता बढ्न पुगेको सिप्रदी ट्रेडिङका ईभी प्रोडक्ट म्यानेजर निर्मल खत्री बताउछन् । ‘ईभी भएपनि पेट्रोलियम नेक्सनको ७० प्रतिशत स्पेयर पार्टस् नेक्सन ईभीमा पनि लाग्छ । गाडीको उच्च क्षमता, पावर पिकअपसँगै गाडीको पार्टस्को समेत सर्वसुलभताले थप नेक्सन ईभीमा प्रयोगकर्ताहरुको आकर्षण बढ्न पुगेको हो’ खत्रीले भने । 

अझ बढी ईभीका लागि कम्पनीले आफ्टर सेल्स, गाडीको सर्भिसिङ्गसँगै चार्जिङ इन्फास्ट्रक्चरमा विशेष ध्यान दिएको छ । जसले टाटा ईभीको थप उचाइ बढेको खत्रीको भनाइ छ ।

चार्जिङसम्बन्धी सम्पूर्ण जानकारी मोबाइल एपमै 

सिप्रदी ट्रेडिङले ईभी चार्जिङ स्टेशनदेखि बिल भुक्तानी, गाडीको चार्जिङ अवस्था लगायत सम्पूर्ण जानकारी मोबाइलमा नै प्राप्त गर्न सकिने गरी ईभी चार्जिङ एपको विकास गरेको छ । 

‘टाटा पावर ईभीजेट चार्जर’ नामक मोबाइल एपमार्फत कम्पनीले ईभी प्रयोगकर्ताले घरबाटै देशका कुन कुन स्थानमा चार्जिङ स्टेशन छ ? कुन–कुन स्टेशन प्याक छ र कुन स्टेशन खाली छ ? एपबाटै जानकारी प्राप्त गर्न सक्छन् । उसो त स्टेशनमा नै गएर होइन, घरमै वा यात्रामा रहेकै अवस्थामा पनि गाडी चार्जिङका लागि स्टेशन बुक गर्न सकिने खत्री बताउछन् । 

​‘गाडीमा चार्ज सकिन लाग्यो वा थप्न मन लाग्यो मोबाइल एपले नै चार्जिङ स्टेशनको लोकेशन दिन्छ । चार्जिङका लागि मोबाइलबाटै बुक गर्न सकिन्छ । त्यति मात्र होइन भुक्तानी समेत सोही एपबाट गर्न सकिन्छ,’ खत्रीले भने, ‘कति मूल्य बराबरको चार्ज गर्ने ? वा कति प्रतिशत चार्ज गर्ने ? सबै एपबाटै नियन्त्रण गर्न सकिन्छ । तर, यसका लागि प्रयोगकर्ताले कम्पनीको एप डाउनलोड गर्नुपर्ने हुन्छ ।’

उनका अनुसार गाडीको खरिद लगत्तै कम्पनीले ग्राहकलाई एपको युजर आइडी र पासवर्ड उपलब्ध गराउछ । एप चलाउन समेत कम्पनीले नै गाइड गर्छ । तथापि, गाडी चार्जिङका बेला कुनै कन्फ्यूज भए वा चार्ज वा भुक्तानीमा समस्या आए तत्काल चार्जिङ स्टेशनमा खटाइएको कम्पनीको प्राविधिकले सहजीकरण गरिदिने खत्री बताउँछन् ।

हाल कम्पनीले ललितपुरस्थित बागडोल, चुम्लिङटार, पोखरा, भैरहवा, हेटौंडा, ढल्केबर, मुलकोट, वालिङ, नारायणगढ, लमही, कोहलपुर, अत्तरिया विराटनगर, लहानमसहित देशका मुख्य मुख्य सहर केन्द्रित १६ स्थानमा आफ्नै चार्जिङ स्टेशनको विकास गरेको छ । थप दुई स्थानमा तत्काल चार्जिङ स्टेशन राख्नेगरी कम्पनीले तयारी गरिरहेको खत्रीले रातोपाटीसँग बताए । 

कम्पनीले सञ्चालनमा ल्याएका सम्पूर्ण चार्जिङ पोइन्टहरु ३० किलोवाटका सिंगल गनका हुन् । आवश्यकता अनुसार अन्य सार्वजनिक स्थल, राजमार्गका होटल तथा सपिङ मलहरुमा समेत कम्पनीले आफ्नै खर्चमा ६ देखि ७ किलोवाटका १२० प्लस एसी स्लो चार्जिङ पोइन्टहरुको समेत सुविधा प्रदान गरेको खत्रीले रातोपाटीसँग बताए । जसले ईभी प्रयोगकर्ताहरूलाई थप सहजता प्रदान गरेको उनको भनाइ छ । 

कस्तो छ टाटा नेक्सन ईभी

अब कुरा गरौँ, टाटा ‘नेक्सन ईभी’ को । कम्पनीले नेपाली बजारमा तीन वटा भेरिएन्टमा नेक्सन ईभी उतारेको छ । कम्याक्ट एसयूभी सेग्मेन्टमा कम्पनीले तीन वटा मोडल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध गराएको छ । नेक्सन ईभी एक्सजेड प्लसको शुरुवाती मूल्य ३७ लाख ९९ हजार रहेको छ भने, एकजेड प्लसको ३९ लाख ९९ हजार र एसजेड प्लस लक्सको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

जिपट्रोन प्लेटफर्ममा बनेको नेक्सन ईभीमा कम्पनीले ३०.२ किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्रीको प्रयोग गरेको छ भने ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रदान गरेको छ । फास्ट चार्जिङमा एक घण्टामा नै फूल चार्ज हुने गाडीले अधिकतम ३ सय किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । कम्पार्टेबल सीसीएस एसी र डीसी दुबै चार्जिङ सुविधा उपलब्ध गराइएको गाडीलाई घरायसी १५ एम्यिरको पावरबाट पनि चार्ज गर्न सकिन्छ । 

थप फिचर्स

आकर्षक लुक्समा रहेको नेक्सन ईभीको अग्रभागमा प्रोजेक्टर हेडलेम्पसहितको डीआरएल फगलेम्प, सेन्सर क्यामेरा प्रदान गरिएको छ भने गाडीमा पावरेड सनरुफको उपलब्धता छ ।

एड्सबेल स्टेरीङ, फुल्ली डिजिटल नेभिगेशन सिस्टम, ड्यासबोर्ड, एसी डीसीको व्यवस्थासँगै प्रयाप्त स्पेशसहितको इन्टेरियरले नेक्सन ईभीलाई खास बनाएको छ । साथै सुरक्षाको मामलामा समेत विशेष रहेको टाटा नेक्सन ईभी फोर्टिफाइड क्याबिनका साथमा डबल एयर ब्यागको व्यवस्था छ । गाडीमा बालबालिकामैत्री आईएसओ फिक्सेस स्ट्यान्डर्ड सिट राखिएको छ ।

अटोमेटिक ट्रान्समिटर सिस्टम रहेको नेक्सन ईभीमा आर१६ २१५÷६० एलआरआर साइजको एलो ह्वीलको प्रयोग गरिएको छ भने गाडीको अग्र टायरमा डिक्स र पछाडिको टायरमा ड्रम ब्रेकको प्रयोग गरिएको छ ।

३ हजार ९९३ एमएमको लम्बाई, १ हजार ८११ एमएमको लम्बाई र १ हजार ६०६ एमएमको उचाइ रहेको गाडीमा २ हजार ४९८ एमएमको ह्वील बेस र २०५ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गरिएको छ । जसले गाडीलाई अफ रोड विशेष नै बनाएको छ । गाडीमा ३५० लिटरको बुथ स्पेश उपलब्ध गराइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप