बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव नलड्ने मुडमा वामदेव

मङ्गलबार, ११ असोज २०७९, २१ : ५९
मङ्गलबार, ११ असोज २०७९

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम मङ्सिर ४ गतेको चुनाव नलड्ने अवस्थामा पुगेका छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी निकट नेताहरूले बताएका छन् ।

गौतमले चुनाव लड्न नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिन प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई माओवादीले अनुमोदन  गरिसकेको छ । गौतमले चुनाव लड्न प्युठानबाट इच्छा व्यक्त गरेका थिए तर गठबन्धनमा सहमति हुन नसकेको एक नेताले बताए । अहिले गठबन्धनमा प्युठान जनमोर्चाले लिने भन्दै आफ्नो दाबी छोड्न मानेको छैन । जनमोर्चाकै अडानका कारण गौतम चुनावी मैदानबाट बाहिरिने भएका हुन् । 

‘उहाँ चुनाव लड्ने तयारीमा हुनुहुन्न । चुनाव लड्ने गरी भेटघाट र छलफल समेत गर्नुभएको छैन’ गौतमका छोरा हरिश गौतमले भने, ‘यो पटकको चुनाव सायद उहाँ लड्नु हुन्न । आवश्यक परेका व्यक्तिलाई जिताउन भने सहयोग गर्न सक्नुहुन्छ ।’ तर, सत्ता गठबन्धनले उहाँ(गौतम)लाई आवश्यक ठानेमा भने चुनाव लड्न सक्ने गौतमको भनाई छ ।

आगामी चुनावमा निर्वाचित भई प्रधानमन्त्री हुने सपना गौतमले देखेका थिए । त्यसकै लागि गौतमले माओवादीको चुनाव चिन्ह प्रयोग गरेर संसद्‍मा पुग्ने योजना बुनेका थिए । तर सत्ता गठबन्धनकै सिट बाँडफाँटमा गौतमले क्षेत्र पाउन सकेनन् । 

तत्कालीन एमाले उपाध्यक्ष गौतम पार्टी छोडेर एकता राष्ट्रिय अभियान सुरु गरेका थिए । गौतमले चलाएको अभियान फलिफाप नभएपछि चुनावी तालमेल गर्न उनीसँग ‘बार्गेनिङ पावर’ कमजोर भएको हो । तत्कालीन एमाले हुँदा गौतमनिकट भई काम गरेका नेकपा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटाले पनि गौतम चुनाव नलड्ने फिक्स जस्तै देखिएको बताए । ‘वामदेव कमरेडको संगठनको अहिले प्रभाव छैन । उहाँले चुनाव लड्ने गरी गृहकार्य पनि गर्नु भएको छैन’ बाँस्कोटाले भने,‘ उहाँसँग चुनाव लड्न प्रभावकारी नेता पनि हुनुहुन्न । त्यसैले यो चुनावमा गौतम नलड्ने निश्चित जस्तै छ ।’ 

सांसद लागि भएका ६ निर्वाचनमध्ये गौतम तीन चुनावमा पराजित भए भने तीन चुनावमा विजयी भएका थिए । वि.सं ०४८ र ०५१ सालको निर्वाचनमा बर्दियाबाट निर्वाचित उनी ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्युठान दुवै ठाउँबाट निर्वाचित भएका थिए तर, ०५६, ०६४ र ०७४ का निर्वाचनमा उनी बर्दियाबाटै पराजित भए । उनी तीन पटक उपप्रधानमन्त्रीसहित गृह मन्त्री भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप