बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धनमा कांग्रेसले पाएको ८७ सिटमा यी हुन् सम्भावित उम्मेदवार

बिहीबार, १३ असोज २०७९, १९ : १९
बिहीबार, १३ असोज २०७९

सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँट करिब टुङ्गिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये ८७ सिटमा उम्मेदवारी दिने भएको छ ।

बाँकी सिटमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिने गरी गठबन्धनमा सहमति भएको छ । अब कांग्रेसमाथि ८७ सिटमा पार्टीका उम्मेदवार छनोट गर्नुपर्ने चुनौती थपिएको छ ।

गठबन्धनमा कांग्रेसले पाएका ८७ सिटमध्ये पार्टीको तल्लो कमिटीबाट २७ निर्वाचन क्षेत्रमा एकल सिफारिस आएको छ । प्रदेश १ मा कांग्रेसले पाउने १७ सिटमा ८ वटा क्षेत्रमा एकल सिफारिस भएको छ । यस्तै मधेस प्रदेशबाट ६ जनाको नाम एकल सिफारिस भएको छ । मधेस प्रदेशका १५ सिटमा कांग्रेसले उम्मेदवारी दिनेछ ।

बागमती प्रदेशमा कांग्रेसले उम्मेदवारी दिने १९ क्षेत्रमध्ये ४ सिटमा मात्र एकल सिफारिस छ । यता गण्डकी प्रदेशमा कांग्रेसले १२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भए पनि एउटामा मात्र एकल सिफारिस भएको छ । यस्तै, लुम्बिनीमा कांग्रेसले उम्मेदवारी दिने १२ क्षेत्रमध्ये ४ सिटमा मात्र एकल सिफारिस भएको छ । कर्णालीमा कांग्रेसले ४ र सुदूरपश्चिममा ९ क्षेत्रमा उम्मेदवारी दिने भए पनि ती दुई प्रदेशबाट २–२ सिटमा मात्र एकल नाम सिफारिस भएको छ ।

प्रदेश १ मा यी हुन् एकल सिफारिसमा परेका

पाँचथरबाट कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेको नाम एकल सिफारिस भएको छ । त्यहाँ गठबन्धनको साझा उम्मेदवार आङदेम्बे हुने पक्काजस्तै छ । यस्तै, इलाम–२ मा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियार, जिल्ला सभापति डम्बरबहादुर खड्का, नेता भेषराज आचार्य लगायत ७ जना आकांक्षी छन् । उनीहरु मध्येबाट एक जना गठबन्धनको साझा उम्मेदवार बनेर मैदानमा उत्रिने छन् ।

झापा–१ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको नाम एकल सिफारिस भएको छ । ०७४ मा माओवादीले जितेको सो क्षेत्र अहिले कांग्रेसको भागमा परेको हो ।

​यस्तै झापा–३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गठबन्धनको साझा उम्मेदवार बन्ने छन् । त्यहाँबाट सिटौलाको नाम पनि एकल सिफारिस भएको छ ।

झापा–४ मा कांग्रेस जिल्ला सभापति देउकुमार थेबे एक्ला दाबेदार देखिएका छन् । क्षेत्र, जिल्ला र प्रदेशबाट थेबेको नाम एकल सिफारिस भएको छ । पार्टीको केन्द्रले हस्तक्षप गरी अर्को उम्मेदवार नपठाए गठबन्धनबाट थेवे उम्मेदवार बन्ने निश्चित छ ।

मोरङ–१ बाट कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुसहित चार जनाको नाम सिफारिस भएको छ । कांग्रेसले चुनावी मैदानमा भने लिम्बुलाई नै पठाउने सम्भावना बलियो छ ।

यस्तै मोरङ–२ मा नेतृ सुजाता कोइराला र नेता डा. मिनेन्द्र रिजाल मुख्य दाबेदार देखिएका छन् । पार्टीको तल्लो निकायबाट सुजाताको नाम एक नम्बरमा सिफारिस भएर आएको छ । तर ०७४ मा वाम गठबन्धनका बाबजुद आफूले चुनाव जितेको क्षेत्र नछोड्ने रिजालको अडान छ भने सुजातालाई सभापति शेरबहादुर देउवाले बचन दिसकेको बुझिएको छ । यहाँ सुजाताकै सम्भावना बढी देखिएको छ ।

मोरङ–३ मा मेडिकल व्यवसायी सुनील शर्माको नाम एकल सिफारिस भएको छ । अन्य क्षेत्रमा प्रतिनिधिसभाका दाबेदार केन्द्रीय नेता व्यवस्थापनका लागि सकस देखिएकाले शर्माले टिकट पाउने–नपाउने निश्चित छैन । मोरङमा महेश आचार्य, अमृत अर्याल, डिला संग्रौला, भीम पराजुली र गुरुराज घिमिरेको व्यवस्थापनमा चुनौती थपिएको देखिन्छ ।

मोरङ–६ मा कांग्रेसको विपक्षी कित्ताका प्रमुख नेता डा. शेखर कोइराला गठबन्धनको साझा उम्मेदवार हुनेमा द्विविधा छैन । तर कांग्रेसको तल्लो निकायबाट कोइरालाका साथै केन्द्रीय सदस्य डिला संग्रौला, प्रदेश–१ का उपसभापति रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम पनि सिफारिस भएको छ ।

यस्तै सुनसरी–२ मा केन्द्रीय सदस्यद्वय राजीव कोइराला, राजीव ढुंगाना र निवर्तमान सांसद सिताराम महतोको नाम सिफारिस भएको छ । यहाँ तीनै जना मुख्य दाबेदार देखिएका छन् । उनीहरुमध्येकै एक जना गठबन्धनको उम्मेदवार बन्ने देखिन्छ ।

सुनसरी–३ मा पूर्व उपसभापति विजयकुमार गच्छदारको नाम एकल सिफारिस भएको छ । ललिता निवास प्रकरणमा मुछिएका गच्छदारको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । कांग्रेसले उनलाई टिकट दिने/नदिने निश्चित छैन ।

​यस्तै सुनसरी–४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नाम एकल सिफारिस भएको छ । सभापति शेरबहादुर देउवाका विश्वासपात्र कार्कीलाई टिकट पाउन कुनै कठिनाइ छैन । ०७४ मा वाम गठबन्धन हुँदा पनि चुनाव जितेका कार्की सुनसरी–४ बाट गठबन्धनको साझा उम्मेदवार हुने निश्चितजस्तै छ ।

धनकुटामा गठबन्धनबाट कांग्रेसका पूर्वसहमहामन्त्री सुनिल थापा उम्मेदवार बन्ने निश्चित छ । कांग्रेसका तल्लो कमिटीबाट थापाको नाम एकल सिफारिस भएर केन्द्रमा आएको छ । हाल कांग्रेस केन्द्रीय सदस्य रहेका थापाको विकल्प पार्टीभित्र धनकुटामा देखिएको छैन ।

यस्तै गठबन्धनबाट कांग्रेसले उम्मेदवारी दिने भएको तेह्रथुममा केन्द्रीय सदस्य सीता गुरुङसँगै तुलसी सुब्बा, हरी डागीको नाम पनि सिफारिस भएको छ ।

संखुवासभामा कांग्रेसबाट ८ जना उम्मेदवारका आकांक्षी देखिएका छन् । जिल्ला सभापति दीपक खड्काको नाम एक नम्बरमा सिफारिस भएको छ । पूर्व महामन्त्री शशांक कोइराला विश्वासपात्र मानिएका खड्काले नै टिकट पाउने सम्भावना देखिन्छ ।

ओखलढुंगामा गठबन्धनको साझा उम्मेदवार बन्न कांग्रेसका चार जना नेता दौडमा छन् । केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार, रामहरि खतिवडा, खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम सिफारिस भएको छ । यहाँ टिकटका लागि मुख्य रस्साकस्सी सुनुवार र खतिवडाबीच हुने देखिन्छ ।

उदयपुर–१ मा परराष्ट्रमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का कांग्रेसबाट मुख्य दाबेदार देखिन्छन् । तर उम्मेदवारको आकांक्षा राख्नेको संख्या भने ८ छ । खड्कासँगै केन्द्रीय सदस्य लक्ष्मी परियार, पूर्व जिल्लासभापति विदुर बस्नेत लगायतको नाम सिफारिस भएको छ ।

मधेस प्रदेशमा ६ जना निर्विकल्प

सप्तरी–३ मा कांग्रेसबाट केन्द्रीय सदस्य दिनेशकुमार यादवको नाम एकल सिफारिस भएको छ । यहाँ गठबन्धनको साझा उम्मेदवार यादव हुने निश्चितजस्तै छ ।

सप्तरी–४ मा भने कांग्रेसबाट उम्मेदवारीका लागि ११ जनाको नाम सिफारिस भएको छ । जसमा निवर्तमान सांसद चेजुलाल चौधरीको नाम एक नम्बरमा छ । ०७४ मा पनि चुनाव जितेका चौधरीले नै टिकट पाउने सम्भावना बलियो छ ।

​सिरहा–१ मा कांग्रेसबाट ६ जनाको नाम सिफारिस भएको छ । पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, निवर्तमान सांसद पद्मनारायण चौधरी, सुनिल कुमार महतो लगायत सिफारिस भएका छन् ।

सिरहा–२ मा पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, रामचन्द्र यादव र मञ्जु खाणको नाम सिफारिस भएको छ । खाणको नाम समानुपातिक बन्दसूचीमा समावेश भएकाले यहाँ चित्रलेखा र रामचन्द्रको मुख्य दाबी छ ।

धनुषामा–२ मा कांग्रेसबाट दुई जना आकांक्षी देखिएका छन् । पूर्वमन्त्री रामकृष्ण यादव र केन्द्रीय सदस्य मुक्ताकुमारी यादवको नाम सिफारिस भएको छ । उनीहरु मध्येबाट एक जना गठबन्धनको साझा उम्मेदवार हुने देखिएको छ ।

धनुषा–३ मा पनि कांग्रेसको तल्लो निकायबाट २ जनाको सिफारिस भएको छ । कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले समानुपातिक रोजेपछि गणेश तिवारी र प्रमेश्वर महासेठबीच टिकटका लागि रस्साकस्सी छ ।

धनुषा–४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव गठबन्धनको साझा उम्मेदवार हुने निश्चित छ । त्यहाँ आकांक्षा राखेका डा. चन्द्रमोहन यादव समानुपातिकतिर उम्मेदवार बनेका छन् । धनुषा–४ मा महेन्द्र यादव निर्विकल्प जस्तै भएको अवस्था छ ।

महोत्तरी–२ मा केन्द्रीय सदस्य किरण यादव र पूर्व सांसद महेन्द्र यादव मधुकर गरी २ जनाको नाम सिफारिस भएर केन्द्रमा आएको छ । यहाँ गठबन्धनबाट किरण र मधुकर नै टिकटका मुख्य दाबेदार देखिन्छन् ।

महोत्तरी–३ बाट गृहमन्त्री बालकृष्ण खाणको नाम एक नम्बरमा सिफारिस भएको छ । तर कांग्रेसका प्रभावशाली नेता खाण रुपन्देही–३ बाट चुनाव लड्ने तयारीमा छन् । त्यहाँ नेता बजरंग नेपाली, शम्भुनारायण पाठक, बैचनाथ मण्डल र राजतेज मिश्रबीच टिकटका लागि हानथाप छ ।

सर्लाही–४ का लागि महामन्त्री गगन थापाको नाम एकल सिफारिस भएको छ । तर उनी काठमाडौं–४ बाट चुनाव लड्ने भएकाले कांग्रेसले नयाँ उम्मेदवार खडा गर्ने बुझिएको छ ।

उक्त क्षेत्रमा उम्मेदवार बनाउने निश्चित भएपछि बुधबार मात्र जसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश गरेको चर्चा छ । यद्यपि तल्लो तहबाट नाम सिफारिस नभए पनि ०७४ मा चुनाव जितेका अमरेशकुमार सिंह पनि टिकटको लबिङमा छन् ।

रौतहट–२ बाट मोहमद अफताव आलम र अन्जु झाको नाम सिफारिस भएको छ । उनीहरु दुवै जना उम्मेदवार हुने अवस्था छैन । आलम कर्तव्य ज्यान मुद्दामा जेलमा छन् भने झा स्थानीय तहमा चुनावी लडेर पराजित भएकी थिइन् । उनीहरुको विकल्पमा आलमकी श्रीमती वा छोरालाई टिकट पाउने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए ।

रौतहट–४ मा कांग्रेसबाट ६ जनाको नाम सिफारिस भएको छ । रविसचन्द्र कोइराला, देवप्रसाद तिमिलसिना, शेख मिरुल लगायतको नाम सिफारिस भएको छ । तिमिलसिनाले ०७४ मा चुनाव जितेकाले मुख्य दाबेदार उनी नै देखिन्छन् ।

बारा–१ बाट कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीको नाम एकल सिफारिस भएको छ । खानेपानी मन्त्रीसमेत रहेका चौधरी त्यहाँ गठबन्धनको साझा उम्मेदवार बन्ने निश्चित छ ।

पर्सा–३ मा कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरीको नाम एकल सिफारिस भएको छ । त्यहाँ उनी गठबन्धनको साझा उम्मेदवार बन्ने सम्भावना छ ।

यस्तै पर्सा–४ मा कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल उम्मेदवार बन्ने भएका छन् । पार्टीको तल्लो निकायबाट उनको नाम एकल सिफारिस भएको छ ।

बागमती प्रदेशका ४ सिटमा एकल सिफारिस

सिन्धुली–१ मा कांग्रेसबाट केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नाम एक नम्बरमा सिफारिस भएको छ । तर उम्मेदवार हुने दौडमा ६ जना देखिएका छन् । रामेछापमा जिल्ला सभापति कान्छाराम तामाङको दाबेदारी बलियो रहे पनि यहाँ माओवादीले पनि दाबी गरेको छ ।

यस्तै दोलखामा जिपछिरिङ लामा, कुन्दन काफ्ले, अजयबाबु सिवाकोटीसहित ८ जना आकांक्षी देखिएका छन् । यहाँ पनि कांग्रेस र माओवादीको दोहोरो दाबी भएकाले गठबन्धनको साझा उम्मेदवार कांग्रेसबाट हुने नहुने निश्चित भइसकेको छैन ।

​सिन्धुपाल्चोक–२ मा विष्णुविक्रम थापासहित ७ जनाको नाम तल्लो कमिटीबाट सिफारिस भएर केन्द्रमा आएको छ । काभ्रे–१ मा जिल्ला सभापति तीर्थबहादुर लामाको नाम एकल सिफारिस भएको छ । त्यहाँ उनी नै उम्मेदवार बन्ने सम्भावना बलियो छ ।

ललितपुर–१ मा केन्द्रीय सदस्य उदयशमशेर राणा, केवलबहादुर लामा र मथुराप्रसाद घिमिरेको नाम सिफारिस भएको छ ।  लामा र  घिमिरेको नाम सिफारिस भए पनि राणाले टिकट पाउने निश्चित जस्तै छ ।

भक्तपुर–१ मा बाबुराजा जोशी र हरिकृष्ण बल्लको नाम सिफारिस भएको छ । नेपाल मजदुर किसान पार्टीको किल्ला मानिएको यहाँ जोशी र बल्लमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । यस्तै भक्तपुर–२ मा जिल्ला सभापति दुर्लभ थापाको नाम एक नम्बर सिफारिस भएको छ । त्यसपछि क्रमशः मदनकृष्ण श्रेष्ठ, सुनिल ठकुरी, कविर राणा र विनोदप्रकाश कायस्थको नाम सिफारिस भएको छ ।

सभापति देउवाका विश्वासपात्र थापा भक्तपुर–२ मा गठबन्धनबाट साझा उम्मेदवार हुने सम्भावना बलियो छ । काठमाडौं–१ मा नेता प्रकाशमान सिंहको नाम एकल सिफारिस भएको छ । यहाँ गठबन्धनबाट उनी साझा उम्मेदवार हुने निश्चितजस्तै छ ।

काठमाडौं–३ मा कांग्रेसको तल्लो निकायबाट ५ जनाको नाम सिफारिस भएर आएको थियो । जसमा एक नम्बरमा रहेकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले समानुपातिक रोजेकी छन् । सन्तोष चालिसे, जगनाथ धिमाल, पशुराम पोखरेल र हरिबोल भण्डारी उम्मेदवारको दौडमा छन् । तर सिन्धुपाल्चोक–१ माओवादीले पाएपछि केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई काठमाडौं–३ मा ल्याउने तयारी भइरहेको बुझिएको छ ।

काठमाडौं–४ मा महामन्त्री गगन थापाको नाम एकल सिफारिस भएको छ । यहाँ गठबन्धनबाट उनी उम्मेदवार बन्ने पक्काजस्तै छ ।

काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको नाम एक नम्बरमा सिफारिस भएको थियो । तर उनले समानुपातिक रोजेपछि यहाँ सिफारिस भएका बाँकी ७ जना भन्दा बाहिरबाट उम्मेदवार खोज्ने बुझिएको छ ।

यहाँबाट सुरुमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर र अर्थविद स्वर्णिम वाग्लेले उम्मेदवार बन्ने आकांक्षा देखाएका थिए । तर उनीहरु सिफारिस भने क्रमशः कैलाली–४ र चितवन–१ बाट भएका छन् ।

काठमाडौं–६ मा जिल्ला सभापति सबुज बानियाँ र निवर्तमान सांसद भीमसेनदास प्रधान मुख्य दाबेदार देखिएका छन् । पार्टीका मातहत निकायबाट पनि उनीहरु दुई जनाको नाम सिफारिस भएको छ ।

काठमाडौं–१० मा केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको नाम एकल सिफारिस भएको छ । निवर्तमान सांसद केसी यहाँबाट गठबन्धनको उम्मेदवार बन्ने निश्चितजस्तै छ ।

रसुवाबाट एकल सिफारिस भएका केन्द्रीय सदस्य मोहन आचार्य पनि गठबन्धनको साझा उम्मेदवार बन्ने प्रवल सम्भावना छ ।

नुवाकोट–२ मा कांग्रेसको तल्लो समितिबाट ५ जनाको नाम केन्द्रमा सिफारिस भएको छ । कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य बहादुरसिंह लामा, नेता जगदिश्वरनरसिंह केसी लगायतको नाम सिफारिस भएको छ । यहाँ टिकटका लागि  अर्जुननरसिंह र बहादुरसिंह लामाबीच मुख्य रस्साकस्सी छ ।

धादिङ–२ मा कांग्रेसबाट उम्मेदवारका आकांक्षी ९ जना देखिएका छन् । तर केन्द्रीय सदस्य दिलमान पाख्रीन र जिल्ला सभापति रामनाथ अधिकारी मुख्य दाबेदार हुन् ।

मकवानपुर–१ मा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नाम एक नम्बरमा सिफारिस भएको छ । यस्तै बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, रामचन्द्र अर्याल र जयराम लामिछानेको नाम पनि सिफारिस भएको थियो । बानियाँ प्रदेशसभा सदस्य लडेर बागमती प्रदेशको मुख्यमन्त्री बन्ने लाइनमा छन् । बानियाँ प्रदेशमा जाँदा उपाध्याय गठबन्धनबाट उम्मेदवार बन्ने सम्भावना बढी छ ।

चितवन–१ मा राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, नेता राजेन्द्रप्रसाद बुर्लकोटी, तिर्थराज बनियाँ र स्वर्णिम वाग्लेको नाम सिफारिस भएको छ । उनीहरु चारै जनालाई उम्मेदवारका सशक्त दाबेदारका रुपमा हेरिएको छ ।

यस्तै चितवन–२ मा कांग्रेसका १० जना नेताले उम्मेदवारको आकांक्षा राखेका छन् । यहाँ पनि पहिलो नम्बरमा राज्यमन्त्री उमेश श्रेष्ठको नाम सिफारिस भएको छ । यस्तै जिल्ला सभापति राजेश्वर खनाल, पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ लगायको मुख्य दाबी छ ।

गण्डकी प्रदेशको एक सिटमा मात्र एकल दाबेदारी

गोरखा १ मा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, नेताहरु किरणबाबु श्रेष्ठ, राजेन्द्र बजगाईँ, देवेन्द्र वाग्ले लगायत ९ जना उम्मेदवारका आंकाक्षी छन् । तर श्रेष्ठले गण्डकी प्रदेश सदस्यका लागि समानुपातिक रोजेका छन् । अब गोरखा १ मा स्वर्णिम वाग्लेको सम्भावना बलियो देखिएको छ ।

उनी चितवन १ बाट सिफारिस भएपनि गोरखा १ उनको पहिलो रोजाइ​ हो । यस्तै गोरखा २ बाट सिफारिस भएका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे पनि १ मा गएर चुनाव लड्ने सम्भावना पनि देखिन्छ । यहाँ राजेन्द्र बजगाईं पनि  उम्मेदवारका अर्का बलिया दाबेदार मान्छिन् ।

यस्तै तनहुँ–१ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बन्ने निश्चितजस्तै छ । तर उनी निर्विकल्प भने होइनन् । यहाँ केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराईले पनि उम्मेदवार हुने आकांक्षा राखेका छन् ।

तनहुँ–२ मा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल, ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेको नाम सिफारिस भएको छ ।  पौडेलले टिकट पाउने सम्भावना बलियो छ ।  नेता कृष्णप्रसाद सिटौलाका विश्वासपात्र पौडेलले पछिल्लो समय सभापति देउवाको पनि विश्वास जितेको पाइन्छ ।

स्याङ्जा–१ मा कांग्रेसका ८ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । जिल्ला सभापति राजु थापा, केन्द्रीय उपसभापति धनराज गुरुङ, पूर्व उपसभापति गोपालमान श्रेष्ठ लगायत ८ जनाको नाम सिफारिस भएको छ । तर श्रेष्ठले समानुपातिक रोजेपछि यहाँ गुरुङ र थापालाई उम्मेदवारको मुख्य दाबेदारका रुपमा हेरिएको छ ।

यद्यपि उपसभापति गुरुङले स्याङजा–२ बाट पनि उम्मेदवार हुने आकांक्षा राखेको पाइन्छ । त्यहाँबाट १० जनाको नाम सिफारिस भएको थियो जसमा खगेन्द्रराज रेग्मीको नाम एक नम्बरमा छ । साथै वर्तमान सांसद मोहनप्रसाद पाण्डे, भगतप्रकाश मल्ल, भोजराज अर्याल लतायतको नाम सिफारिस भएको छ ।

कास्की–१ मा कांग्रेसका महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियारसहित १६ जनाको नाम उम्मेदवारका रुपमा सिफारिस भएको छ । थापाले काठमाडौं–४ बाटै चुनाव लड्ने छन् भने परियार समानुपातिक बसेका छन् । त्यसैले कास्की–१ मा पूर्व जिल्ला सभापति कृष्णबहादुर केसी, केन्द्रीय सदस्य गुरु बराल, जिल्ला सभापति किशोरदत्त बराललाई मूख्य दाबेदारका रुपमा हेरिएको छ ।

मनाङमा गठबन्धनबाट टेकबहादुर गुरुङ उम्मेदवार हुने निश्चित छ । कांग्रेसमा उनको नाम एकल सिफारिस भएको छ । यस्तै मुस्ताङमा रोमी गौचनले समानुपातिक रोजेपछि कांग्रेसभित्र नयाँ उम्मेदवारको खोजी भइरहेको छ ।

म्याग्दीमा नेताहरु कर्णबहादुर भण्डारी, खमबहादुर गर्बुजा, रेशमबहादुर बानियाँको नाम केन्द्रमा सिफारिस भएको छ । उनीहरुमध्ये एक जना उम्मेदवार बन्ने बुझिएको छ । पर्वतमा कांग्रेसका १६ जनाले उम्मेदवारको आकांक्षा देखाएका छन् । यहाँ एक नम्बरमा ललितकला गुरुङको नाम सिफारिस भएको छ । तर नेता अर्जुन जोशी टिकटका मुख्य दाबेदार मानिन्छन् ।

नवलपुर–१ मा सत्ता गठबन्धनमा नेता शशांक कोइराला उम्मेदवार बन्ने निश्चित छ । तर केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी, गणेश सापकोटा र हेमराज कोइरालाको नाम पनि सिफारिस भएको छ ।

नवलपुर–२ मा विष्णुकुमार कार्कीको नाम एक नम्बरमा सिफारिस भएको छ । तर यहाँ विनोद चौधरी र शंकर तिवारी उम्मेदवारका मुख्य दाबेदार मानिन्छन् ।

लुम्बिनी प्रदेशका ४ सिटमा एकल सिफारिस

गुल्मी–१ मा गठबन्धनबाट कांग्रेस नेता चन्द्र भण्डारी उम्मेदवार बन्ने सम्भावना बलियो छ । पार्टीको तल्लो निकायले ४ जनाको नाम सिफारिस गरे पनि भण्डारी नै उम्मेदवार बन्ने बुझिएको छ । पाल्पा–१ मा कांग्रेसका तीन जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । यहाँ वीरबहादुर राना, हरिप्रसाद नेपाल र डा. चिरञ्जीवी नेपालको नाम सिफारिस भएर आएको छ । उनीहरु मध्येबाट एक जना गठबन्धनको साझा उम्मेदवार हुने छन् ।

नवलपरासी–२ मा केन्द्रीय सदस्य देवेन्द्र कँडेलको नाम एक नम्बरमा सिफारिस भएको छ । उनीबाहेक थप तीन जनाको नाम सिफारिस भएपनि कँडेल नै उम्मेदवार बन्ने निश्चितजस्तै छ ।

रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाणको नाम एकल सिफारिस भएको छ । यहाँबाट उनी निर्विकल्प गठबन्धनको उम्मेदवार हुने देखिन्छ । रुपन्देही–४ मा प्रमोद शाहको नाम एकल सिफारिस भएको छ भने रुपन्देही–५ मा भरतकुमार शाहको नाम पनि एकल सिफारिस भएको छ ।

कपिलवस्तु–२ मा सुरेन्द्र आचार्यको नाम एकल सिफारिस भएको छ भने कपिलवस्तु–३ मा दुई जनाको नाम केन्द्रमा आएको छ । निवर्तमान सांसद अभिषेकप्रताप साह र हरिप्रसाद पोखरेल उम्मेदवारका आकांक्षी छन् ।

अर्घाखाँचीमा कांग्रेसका ५ जनाको नाम सिफारिस भएको छ जसमा उपसभामुख पुष्पा भुसालको नाम एक नम्बरमा छ । यस्तै दाङ–३ मा दिपक गिरिको नाम एक नम्बरमा सिफारिस भएको छ । पार्टीका तल्लो कमिटीले थप ५ जनाको नाम सिफारिस गरे पनि उम्मेदवार गिरि नै बन्ने सम्भावना बलियो छ ।

बाँके–३ मा कांग्रेसका ११ जनाको नाम उम्मेदवारका रुपमा सिफारिस छ । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, आरजु राणा देउवा लगायतको नाम सिफारिस भएको छ । खड्का सुर्खेत– १ बाट उम्मेदवार बन्ने छन् भने देउवाले समानुपातिक रोजेकी छन् । यहाँ राठौर नै उम्मेदवार बन्ने सम्भावना बढेको छ ।

बर्दिया–१ मा १० जनाको नाम सिफारिस हुँदा केन्द्रीय सदस्य सञ्जय गौतमको नाम एक नम्बरमा छ । ८ जना जिल्ला समितिले सिफारिस गरेकोमा लुम्बिनी प्रदेश समितिले सहमहामन्त्री राठौर र जिल्ला सभापति अरुणप्रकाश सिंह राठौरको नाम थपेर पठाएको छ ।

कर्णाली प्रदेशका २ सिटमा एकल सिफारिस

मुगुमा कांग्रेसका ऐन बहादुर शाहीको नाम एकल सिफारिस भएर आएको छ । यस्तै दैलेख–२ बाट पाँच जनाको नाम सिफारिस भएको छ जसमा एकेन्द्रबहादुर पन्तको नाम एक नम्बरमा छ भने दिक्पालकुमार शाही, मधुरविक्रम खनाल, रंगबहादुर शाही र शिवराज जोशी उम्मेदवारका आकांक्षी छन् ।

सुर्खेत– १ मा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नाम एकल सिफारिस भएर आएको छ । सो क्षेत्रमा गठबन्धनबाट खड्का उम्मेदवार बन्ने निश्चितजस्तै छ । यस्तै सुर्खेत–२ मा नेता हृदयराम थानीसहित ५ जनाको नाम सिफारिस भएर आएको छ । उम्मेदवार भने थानी नै हुने सम्भावना बलियो छ ।

सुदूरपश्चिम प्रदेशमा देउवा दम्पतीमात्र एकल सिफारिस

बाजुरामा उम्मेदवार बन्न कांग्रेसका ७ जना सिफारिस भएका छन् जसमा पूर्व जिल्ला सभापति कविराज पण्डित एक नम्बरमा छन् । यहाँ सहमहामन्त्री बद्री पाण्डे पनि दाबेदार छन् । अछाम–२ मा चार जना नेताले उम्मेदवारीका लागि आकांक्षा देखाएका छन् । जिल्ला सभापति पुष्प शाह, नेता बलहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाहीमध्ये बाटै अछाम–२ मा गठबन्धनको साझा उम्मेदवार तय हुने छ ।

दार्चुलामा चार जनाको नाम सिफारिस हुँदा उद्योगमन्त्री दिलेन्द्र बडूको नाम एक नम्बर सिफारिस भएर आएको छ । उनीबाहेक विक्रमसिंह धामी, जगदिसबहादुर पाल र गौरीशंकर गिरिको नाम पनि सिफारिस भएको छ । गठबन्धनको साझा उम्मेदवार भने मन्त्री बडू नै बन्ने बुझिएको छ ।

डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनको उम्मेदवार हुने निश्चित छ । पार्टीका मातहत कमिटीबाट पनि देउवाको नाम एकल सिफारिस भएको छ ।

कञ्चनपुर–२ मा कांग्रेसका प्रभावशाली नेता एनपी साउद उम्मेदवार हुने पक्काजस्तै छ । तर पार्टीको मातहत कमिटीबाट हरिप्रसाद बोहरा र प्रेमबहादुर बलायरको नाम पनि सिफारिस भएको छ ।

यस्तै कञ्चनपुर–३ मा नेता रमेश लेखकको पनि उम्मेदवारी हुनेमा द्विविधा छैन । यद्यपि पार्टी कमिटीबाट प्रेमबहादुर विष्टको नाम पनि सिफारिस भएर आएको छ ।

​कैलाली–१ मा केन्द्रीय सदस्य रामजनम चौधरीको सम्भावना बलियो छ । तर पार्टी कमिटीबाट टेकबहादुर धामीको नाम एक नम्बरमा सिफारिस भएको छ । यहाँ नृपबहादुर खड्का र बुद्धिसागर चौधरी पनि उम्मेदवारका आकांक्षी छन् ।

कैलाली–४ मा केन्द्रीय सदस्य नैनसिंह महरको नाम एक नम्बरमा सिफारिस भएर आएको छ । यहाँबाट प्रकाश बम, सुनिल भण्डारी लगायत ८ जनाको नाम सिफारिस भएको थियो ।

अहिले यहाँ सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरको चर्चा छ । डोटीमा एकीकृत समाजवादीका प्रेम आलेलाई छोडेर उनी कैलाली–४ मा झर्न खोजेको बताइन्छ । यहाँ महर र बलायरबीच उम्मेदवार हुन हानथाप चलिरहेको छ ।

यस्तै कैलाली–५ मा नयाँ उम्मेदवारको खोजी भइरहेको छ । त्यहाँबाट एकल सिफारिस भएकी आरजु राणा देउवाले समानुपातिक रोजेपछि नयाँ उम्मेदवारको खोजी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप