मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

भारतीय बजारमा नेपाली उपभोक्ताको सहज पहुँचप्रति व्यवसायीको आपत्ति

सीमा नाकामा कडाइ गर्न माग
मङ्गलबार, ०१ कात्तिक २०७९, १६ : ५९
मङ्गलबार, ०१ कात्तिक २०७९

रुपन्देहीका उद्योगी व्यवसायीले नेपाल–भारत सीमा नाकामा कडाइ गर्न माग गरेका छन् । उद्योग व्यापार संगठनमा आवद्ध व्यवसायीले रुपन्देहीका सीमा नाका बेलहिया लगायत अन्य नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली उपभोक्ताहरु भारतीय बजारमा गएर आवश्यक सामानहरु खरिद गर्दा नेपाली बजार सुनसान हुँदै गएको भन्दै उनीहरुले निश्चित परिमाणभन्दा बढीको सामान खरिद प्रक्रियालाई भन्सार प्रणालीमा सामेल गर्न माग गरेका हुन् ।

संगठनले मंगलबार भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै विभिन्न माग गरेको छ । न्यूनतम एक हजार रुपैयाँभन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क तिर्नुपर्ने, खुला सीमा लगायत भन्सार नाकामा सीसीटीभी क्यामेरा चौबीसै घण्टा चालु अवस्थामा राख्नुपर्ने तथा सीमा नाकामा एकातर्फबाट जाने र अर्कोतर्फबाट आउने व्यवस्था गर्नुपर्ने संगठनले माग गरेको छ ।

त्यसैगरी घरायसी सामानको एकद्वार प्रणालीमार्फत छिटो र सहज तरिकाले भन्सार प्रज्ञापनपत्र भरी ल्याउने व्यवस्था मिलाउनुपर्ने, भारतीय बजारबाट ल्याइएको सामान अनिवार्य रुपमा चेकजाँच गराउनुपर्ने र भारतबाट ल्याइएका सबै सामानको (भन्सार गरेका र नगरेका) अभिलेख राख्नुपर्ने संगठनको माग छ ।

विवाह, व्रतबन्ध, चाडपर्व लगायत अनेक बहानामा सीमा पारी गएर सामान ल्याउनेको लर्को नै लाग्ने गरेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले भने, ‘यहाँका व्यवसायी दिनभरि पसल कुरेरमात्र बस्छन् तर सीमा पारी सुनौली बजारमा सामान किन्नेको चाप बढी छ, सीमामा कडाइ नगरे नेपाली उद्योगी व्यवसायीले कारोबार बन्द गर्ने अवस्था सिर्जना हुन्छ ।’

ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पौडेलले सीमामा हुने तस्करी नियन्त्रणका लागि व्यवसायीको साथ आवश्यक रहेको बताए । तस्करीको सामान व्यवसायीले खरिद गर्न नहुने उनको भनाइ छ ।

ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष ज्ञवाली, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्का, कोषाध्यक्ष राम मिलन यादव, सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारी भैरहवा भन्सार कार्यालय रुपन्देही पुगेका थिए । यसअघि सीमा नाकामा कडाइ गर्न माग गर्दै संगठनले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई पनि ज्ञापनपत्र बुझाइसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप